बक्स अफिसमा ‘लालीबजार’ को दबदबा

काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली चलचित्रले गरेको कमाइको विवरण सार्वजनिक गरेको छ । बोर्डले एक सूचना जारी गर्दै यही असार ७ गतेसम्म ‘सिनेपा २ बक्सअफिस’ मा उल्लेख भए अनुसारको विवरण सार्वजनिक गरेको हो । उक्त विवरणअनुसार यसवर्ष हालसम्म प्रदर्शित चलचित्रमध्ये सबैभन्दा बढी कमाइ चलचित्र ‘लालीबजार’ ले गरेको गरेको छ । बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार चलचित्र ‘लालीबजार’ ले नेपालमा ९ करोड २८ लाख १४ हजार ५०५ रुपैयाँ कमाइ गरेको छ । अभिनेत्री स्वस्तिमा खड्काको केन्द्रीय भूमिका रहेको चलचित्र ‘लालीबजार’ को सोही अवधिमा ३ लाख १५ हजार ७१४ टिकट बिक्री भएका छन् ।

गत २५ वैशाखदेखि नेपालभरका चलचित्र भवनमा प्रदर्शनमा आएको उक्त चलचित्रले घरेलु बजारमा २०८३ सालमा प्रदर्शन भएका सबै चलचित्रको तुलनामा आफूलाई निकै अगाडि उभ्याउन सफल भएको छ । उक्त चलचित्रमा अभिनेता रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, विशाल देवकोटा, प्रसंशा सुवेदीलगायतका कलाकारको अभिनय रहेको छ । गत १५ जेठबाट प्रदर्शनमा आएको चलचित्र ‘रोल नम्बर १’ ले १ करोड ५५ लाख ४६ हजार ६६८ रुपैयाँ कमाइ गरेको छ । जोन योञ्जनको निर्देशनमा तयार भएको उक्त चलचित्रका लागि कुल ५७ हजार १३२ टिकट बिक्री भएका छन् । उक्त चलचित्रमा मुकुन भुसाल, शुशांक मैनाली, रेणु योगी, एवनराज उप्रेती, सिर्जना अधिकारी, निर्भिक रेग्मी, रिञ्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठलगायतका कलाकारले अभिनय गरेका छन् ।

यस्तै, गत १५ जेठबाटै प्रदर्शनमा आएको चलचित्र ‘कुम्भ’ यसवर्ष अहिलेसम्म प्रदर्शित चलचित्रमध्ये सबैभन्दा कम व्यापार गर्नेमा परेको छ । उक्त चलचित्रले आइतबार बेलुकीसम्म ४ लाख २५ हजार ८८५ रुपैयाँ कमाइ गरेको छ । रणधीर श्रेष्ठले निर्देशन गरेको उक्त चलचित्रका लागि कुल १ हजार ८१५ टिकट बिक्री भएका छन् । चलचित्र ‘कुम्भ’ मा अशोक आर्यन, सुनिल थापा, सुशील पोखरेल, रोहित रुम्बा, सृष्टि खड्का, अफ्सना थापालगायत कलाकारहरूको अभिनय रहेको छ । बोर्डअन्तर्गतको ‘सिनेपा २ बक्सअफिस’ मा रहेको सार्वजनिक तथ्यांकअनुसार यसवर्ष प्रदर्शन भएका चलचित्रमध्ये सबैभन्दा बढी कमाइ गर्ने चलचित्र ‘लालीबजार’ देखिएको छ । चलचित्र विकास बोर्डले प्रत्येक सोमबार नेपाली चलचित्रले गरेको कमाइको विवरण सूचनामार्फत आधिकारिक रूपमा सार्वजनिक गर्ने गरेको छ ।

प्रतिक्रिया