
ताप्लेजुङ । गएराति वर्षासँगै आएको बाढी र पहिरोले जिल्लाको फक्ताङलुङ गाउँपालिकामा दुई घर र अलैँची बगानमा क्षति पुर्याएको छ । फक्ताङलुङ गाउँपालिका–१ का दुर्गा कटुवाल र गणेश कटुवालको घरमा पहिरोले क्षति पुर्याएको हो ।
फक्ताङलुङ–१ का वडाध्यक्ष यज्ञप्रसाद लिम्बूका अनुसार दुर्गा कटुवालको घरमा नरेन्द्र लिम्बू बसोबास गर्दै आएका थिए । पहिरोका कारण उनले निर्माण गरेको गोठमा समेत क्षति पुगेको छ भने बाख्रासहित पशुचौपाया बगाएको छ । दुवै घर बसोबासका लागि असुरक्षित बनेको वडाध्यक्ष लिम्बूले बताए । दुवै घरका परिवार छिमेकीको घरमा गएर बस्ने तयारीमा छन् ।
त्यस्तै, सावाँ खोलामा आएको बाढीले धेरै किसानका अलैँची बगानमा क्षति पुर्याएको छ । गएराति परेको अविरल वर्षापछि खोलामा बाढी आएको थियो । यता, मेरिङ्देन र मिक्वाखोला गाउँपालिकामा सञ्चालित जलविद्युत् आयोजनाहरूमा पनि क्षति पुगेको जनाइएको छ ।
प्रतिक्रिया