
कास्की । चोरी तथा डाँका सम्बन्धी कसुरमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–९ शिवनगर टोल बस्ने सर्लाही लालबन्दी नगरपालिका–१७ घर भएका ३५ वर्षीय भुवन बहादुर साह शंकर र कागेश्वरी मनोहरा नगरपालिका–७ मुलपानी बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ घर भएका ३५ वर्षीय बिराज सुनार रहेका छन् ।
पोखरा महानगरपालिका–१५ मेरिगोल्ड बस्ने मनिसा थापाको घरबाट गत २४ गते सुनका विभिन्न गरगहना र नगद चोरी भएको घटनाको अनुसन्धानको क्रममा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी उक्त कार्यमा संलग्न भुवनलाई प्रहरी प्रभाग काँडाघारी काठमाडौंको सहयोगमा पक्राउ गरेको हो ।
थप अनुसन्धानको क्रममा चोरी गरिएका सुनका गरगहना बिराजलाई बिक्री गरेको भन्ने खुल्न आएपश्चात प्रहरीले उनलाई समेत पक्राउ गरेको प्रहरीले जनाएको छ । साथै, प्रहरीले उनीहरूको साथबाट सुन तथा चाँदीका विभिन्न गरगहना र नगद ८१ हजार ५ सय रूपैयाँ समेत बरामद गरेको छ ।
उनी उपर चोरी तथा डाँका सम्बन्धी कसूरमा जिल्ला अदालत कास्कीबाट ६ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया