
काठमाडौं । बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका–९ बस्ने ५६ वर्षीय माधव श्रेष्ठ र काठमाडौं महानगरपालिका–४ बसुन्धारा बस्ने तनहुँ भानु नगरपालिका–८ घर भएका ४३ वर्षीय रामचन्द्र अधिकारी रहेका छन् ।
उच्च अदालत पाटनको २०७९ माघ २९ गतेको फैसलाले उक्त मुद्दामा विगो वापत २ वर्ष कैद सजाय ठहर भई फरार रहेका माधवलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले टोखा नगरपालिका–९ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यसैगरी जिल्ला अदालत काठमाडौंको २०८२ साउन ११ गतेको फैसलाले उक्त मुद्दामा विगो वापत १ महिना १५ दिन कैद सजाय र २ लाख २५ हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका रामचन्द्रलाई काठमाडौं महानगरपालिका–१६ बालाजुबाट प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया