बालविवाह अन्त्यका लागि साझा प्रतिबद्धता र सहकार्यमा जोड

कालिकोट । बालविवाह अन्त्यका लागि साझा प्रतिबद्धता सहित समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ । बालविवाह विरुद्ध साझा अभियान सञ्जाल, कालिकोटले आयोजना गरेको बालविवाह सम्बन्धी साझा बुझाइ विषयक समन्वयात्मक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले यस्तो जोड दिएका हुन् ।

सञ्जालका अध्यक्ष कालीबहादुर मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति कालिकोटका उपप्रमुख मीना रावत प्रमुख अतिथि तथा खाँडाचक्र नगरपालिका उपप्रमुख गणेश बहादुर शाहीको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मीना रावतले बालविवाह सामाजिक विकासको प्रमुख चुनौतीका रूपमा रहेको उल्लेख गर्दै यसलाई न्यूनीकरण गर्न परिवार, समुदाय, विद्यालय तथा स्थानीय सरकारबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताइन् । बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा र उज्ज्वल भविष्य सुनिश्चित गर्न बालविवाह अन्त्य अपरिहार्य रहेको धारणा समेत राखिन् ।

विशेष अतिथि गणेशबहादुर शाहीले बालविवाहले बालबालिकाको शारीरिक, मानसिक तथा सामाजिक विकासमा नकारात्मक प्रभाव पार्ने भएकाले यसको रोकथामका लागि स्थानीय तहले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए । कानुनी व्यवस्था कार्यान्वयनसँगै जनचेतना अभिवृद्धि गर्नुपर्नेमा शाहीले जोड दिएका छन् ।

अन्तरक्रियामा बालविवाह विरुद्ध साझा बुझाइ निर्माण, बालबालिकाको सर्वोत्तम हित, बालअधिकार संरक्षण, कानुनी प्रावधान, समुदायस्तरमा देखिएका चुनौती तथा समाधानका उपायका विषयमा विस्तृत छलफल गरिएको थियो । सहभागीहरूले बालविवाह अन्त्यका लागि सबै सरोकारवालाबीच साझा प्रतिबद्धता र समन्वय आवश्यक रहेको धारणा व्यक्त गरेका थिए ।

कार्यक्रमका अध्यक्ष कालीबहादुर मल्लले बालविवाह अन्त्यका लागि सञ्जालले विभिन्न सचेतनामूलक अभियान सञ्चालन गर्दै आएको बताउँदै आगामी दिनमा पनि समुदायस्तरमा अझ प्रभावकारी कार्यक्रमहरू सञ्चालन गरिने जानकारी बताए । उनले बालबालिकाको अधिकार संरक्षण तथा सुरक्षित भविष्य निर्माणका लागि सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गरे ।

कार्यक्रमको सहजीकरण रणबहादुर कार्कीले गरेका थिए । अन्तरक्रियाले बालविवाह नियन्त्रण तथा न्यूनीकरणका लागि साझा धारणा निर्माण गर्दै सरोकारवाला निकायबीच सहकार्य र समन्वयलाई थप मजबुत बनाउने सहभागीको भनाई छ ।

मानव अधिकार तथा वातावरण बिकास केन्द्र हुरेन्डेक नेपाल कालिकोटका उपाध्यक्ष खडानन्द अधिकारीले बालविवाह केवल कानुनी अपराध मात्र नभई बालबालिकाको भविष्य माथिको गम्भीर अन्याय भएको जिकिर गरे । उनले भने, ‘बालबालिकाको शिक्षा, स्वास्थ्य, आत्मविश्वास र समग्र विकासमा नकारात्मक असर पुर्‍याउँछ ।’ बालविवाह अन्त्यका लागि कानुनको प्रभावकारी कार्यान्वयनसँगै अभिभावक, समुदाय, विद्यालय र सरोकारवाला निकायहरूको साझा प्रयास आवश्यक रहेको बताए ।

बालबालिकाको सर्वोत्तम हितलाई केन्द्रमा राख्दै सुरक्षित, शिक्षित र सक्षम पुस्ता निर्माण गर्न सबैले आफ्नो ठाउँबाट जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा अधिबक्ता खडानन्द चौलागाँईले बताए ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया