सुकुम्बासी पीडितहरू आक्रोशित : उचित विकल्प नदेखाए पुरानै ठाउँमा छाप्रो हाल्ने चेतावनी

काठमाडाैं । कीर्तिपरस्थित राधास्वामी सत्सङ होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीहरुलाई भोलि असार १२ गतेसम्म उक्त ठाउँ खाली गर्न सूचना जारी गरिएको छ । उक्त सेन्टरमा बागमती सभ्यता एकीकृत विकास समितिले त्यहाँ रहेका मानिसहरुलाई आफ्नो बैंक खाताकाे विवरण माग गरेको पनि छ ।

सरकारले दिने भनेको २५००० रकम भुक्तानीको लागि बैंक विवरण मागियको छ । सरकारले व्यवस्थित बसोबासमा राख्न न सक्ने भएर हटाउनको लागी बैंक विवरण मागेको सुकुम्बासीहरूको बुझाइ छ ।

हाल यो होल्डिङ सेन्टरभित्र फोटो र भिडियो खिच्न रोक लगाएको छ । सरकारले पाँच दिनभित्र २५ हजार रुपैयाँ लिएर आफैँ व्यवस्थापन गर्न र होल्डिङ सेन्टर छोड्न बाध्यकारी दबाब दिएपछि पीडितहरू आक्रोशित बनेका छन् ।

सुकुम्बासीहरुले सरकारको यो शैलीमा असन्तुष्टि जनाउँदै किर्तिपुरस्थित होल्डिङ सेन्टरबाहिर ‘पीडितहरूको सरोकार पत्र’ टाँस गरेका छन् । उनीहरूले स्थायी विकल्प र बस्ने ठाउँ नदेखाइ जबरजस्ती निकालिएमा आफूहरू पुरानै बस्तीमा फर्केर छाप्रो हाल्न बाध्य हुने चेतावनी दिएका छन् ।

सुकुम्बासीका यस्ता छन् मुख्य मागहरू

१. भूमि समस्या समाधान समिति गठन भइसकेकाले स्थानीय सरकारमार्फत उठिबास गराइएका परिवारको तत्काल लगत संकलन, प्रमाणीकरण र पहिचान गरियोस् ।

२. जबरजस्ती उठिबास गराइएका परिवारलाई पहिलो प्राथमिकतामा राखी समस्या समाधान गरियोस् ।

३. स्थायी व्यवस्थापन नहुञ्जेलसम्म होल्डिङ सेन्टरमा पर्याप्त सेवा सुविधा दिइयोस् वा जाने सुरक्षित ठाउँ देखाइयोस् ।

४. सरकारी नीति र कार्यक्रममा उल्लेख भएबमोजिम सुकुम्बासी तथा अव्यवस्थित बसोबासी केन्द्रित उपयुक्त र उचित स्थायी व्यवस्थापन गरियोस् ।

५. अन्यथा, स्थायी विकल्पबिना निकाल्न खोजिएमा पहिलेकै बसोबास स्थलमा फर्केर बस्न बाध्य हुने चेतावनी सुकुम्बासीकाे छ ।

– तस्बिर सुर्याम्स उप्रेती, नेपाल फोटो लाइब्रेरी

प्रतिक्रिया