आखिर किन खिइन्छ मानिसको हड्डी ?

पछिल्ला दिनमा मान्छेले झेल्ने स्वास्थ्य समस्या मध्ये एक हो, हड्डी खिइने । शरीरका विभिन्न भागको हड्डी खिइएको समस्या धेरैले भोगेको पाइन्छ । पाको उमेर भएकाले मात्रै होइन, युवापुस्ताकै मानिसहरू पनि यो समस्यामा परेको पाइन्छ । हड्डी खिएर अस्पताल जाने बिरामीको संख्या दिनप्रतिदिन बढ्दै गएको चिकित्सक बताउँछन् । पछिल्लो समय आहार विहार कारण मानिसहरूमो हड्डी खिइने समस्या बढी हुने गरेको विज्ञहरूको राय छ । महिलामा भने, महिनावारी रोकिएपछि हड्डी खिइँदै जाने समस्या सुरु हुने बताइन्छ । पछिल्ला दिनमा घुँडा, कट्टी, ढाड र घाँटीको हड्डी खिइने समस्या निकै बढेको छ । जसरी ढाडको हड्डी खिइन्छ त्यसरी नै घाँटीको हड्डी पनि खिइने विज्ञ बताउँछन् ।

हड्डी खिइने कारण

प्याकेटमा पाइने खानाहरू चाउचाउ, बिस्कुट, चिप्स, केक, कुकिज, डोनटलगायत जंकफुड यसका मुख्य कारण हुन् । स्वास्थ्यका दृष्टिले महत्वहीन यी खानाहरू पनि हड्डी खिइने समस्या निम्तिनुको एउटा कारण भएको विज्ञ बताउँछन् । पछिल्लो पुस्तामा जंकफुड खाने बानी बढेर गएको छ । त्यस्तो खानपिनले मोटोपन बढ्छ । मोटोपन बढेपछि हाम्रो हड्डी खिइने समस्या देखिने बताइन्छ । विज्ञका अनुसार तौल बढेपछि जोर्नीलाई तौल धान्न सकस पर्छ । मोटोपनाले हाम्रो जोर्नीलाई भार पर्ने भएकाले त्यसको असर हड्डीमा पर्छ ।

हड्डी खिइने समस्याबाट बच्नका जंकफुड नखाने, शौचालयमा थचक्क बस्ने कम्बोड प्रयोग गर्ने, कुर्सीमा बस्दा खुट्टा सिधा पारेर बस्ने, टिभी र कम्प्युटर चलाउँदा आँखाको ‘लेबल’ मिलाएर बस्न विज्ञहरूको सल्लाह छ । सम्भव भए ढाडसँगै टाउकोलाई सपोर्ट हुने कुर्सीमा बस्नु उत्तम मानिन्छ । त्यसैगरी, ढाडलाई निहु¥याएर भुईंबाट तौल बढी भएको सामान नउठाउन र लामो समय नहिँड्न पनि विज्ञहरू सुझाउँछन् । यदि घुँडाको जोर्नी खिइन थाल्यो भने फेर्न नसकिने होइन तर फेर्न भने आर्थिक हिसाबले जोकोहीका लागि सम्भव छैन । घुँडाको हड्डी फेर्न सरकारी अस्पतालमै कम्तीमा २ लाखभन्दा बढी पर्ने बताइन्छ ।

विज्ञका अनुसार सबै मान्छेमा एकै कारणले हड्डी खिइँदैन । कसैको दुर्घटनामा लागेको चोट बल्झिंदै गएर पछि त्यही हड्डी खिइन सक्छ । यसका अन्य सयौँ कारणहरू छन् । जसमा ढाडलाई निहु¥याएर भुइँबाट तौल बढी भएको सामान उठाउँदा, कुर्सीमा घुँडा खुम्च्याएर काम गर्दा, खानपान र मोटोपना, कुप्रिएर बस्दा, मोबाइल चलाउँदा, कम्युटरमा काम गर्ने क्रममा टाउको झुकाएर बस्दा वा टेलिभिजन आँखाको माथि भए ठाडो परेर हेर्दा पर्ने दबाबले पनि हड्डी खिइन्छ । सुरुमा कुरकुरे हड्डी खिइने विज्ञ बताउँछन् । हाड जोर्नी बिशेषज्ञ डा.सुधांशु झा मान्छेको काम गर्ने शैली, बस्ने तरिका, रहनसहन नमिले चोट लागेर अनि बाथको कारणले पनि हड्डी खिइने बताउँछन् । हड्डी खिइने कारण उस्तै भए पनि उपचार केही फरक हुनसक्छ । त्यसको दुःखाइ सुरु भएपछि मात्र बिरामीहरू अस्पताल पुग्छन् । हड्डी खिइन सुरु भए कुरकुरे हड्डी खिइन थाल्छ । पलेटी मारेर बस्दा, जुत्ता राम्रो भएन भने र निहुरेर काम गर्ने गर्दा हड्डी खिइँदै जान्छ । हड्डी खिइने समस्या देखिनासाथ अस्पतालमा गएर जाँच गराउन डा.झाको सुझाव छ ।

आजकल कृत्रिम जोर्नीको पनि प्रयोग गरिने गरेको पाइन्छ । त्यसले मान्छेको जीवन सहज बनाउँछ । यसले पहिलाको जसरी नै काम गर्दछ तर अलिकति होसियार भने हुनुपर्दछ, किनकि त्यसमा खिया लाग्न सक्छ । त्यो राख्ने पनि सधैँका लागि होइन, केही समयपछि फेर्नुपर्ने हुन्छ । जब हड्डी खिइएर धेरै दुख्छ त्यसबेला औषधि खानुपर्ने विज्ञको सुझाव छ । व्यायाम गर्दै जाँदा दुःखाइ कम हुँदै जान्छ ।

उमेर अनुसार मान्छेको हड्डी खिइँदै जान्छ । यसको लागि क्याल्सियम खानुपर्ने र वर्षमा एकपटक जाँच गर्नुपर्ने विज्ञ बताउँछन् । यसका साथै हड्डीको समस्या भएकाले दैनिक रूपमा व्यायाम गर्नुपर्छ । आफूलाई जसरी सजिलो हुन्छ त्यसरी व्यायाम गर्न सकिन्छ तर हड्डीलाई दुख्न नदिने गरी व्यायाम गर्नुपर्ने विज्ञहरूको सुझाव छ । यसका लागि योग पनि उपयोगी मानिन्छ । दैनिक रूपमा ५ देखि १५ मिनेट व्यायाम, योग गर्दा धेरै दुख्ने समस्या कम हुँदै जान्छ । योग १२ वर्षदेखि ९० वर्षसम्मकाले गर्ने सकिने बताइन्छ । डाक्टरको सल्लाहअनुसार औषधि खाने, व्यायाम गर्ने, योग गर्ने, सन्तुलित खानपानले यो हड्डी खिइने समस्याको हल हुन्छ ।

००००

उमेर बढ्दै गएपछि अधिकांश मानिसमा देखिने समस्या हो यो । कतिपयको त लड्नेबित्तिकै हड्डी ठनक्कै भाँचिने पनि हुन्छ । यस्ता समस्याबाट युवापुस्ताकै मानिसहरू पनि पीडित हुन थालेका छन् । विज्ञका अनुसार जिउमा हड्डी कमजोर हुँदै जाँदा हड्डी खिइने र भाँचिने समस्या हुनेगर्छ । यस्तो समस्यालाई ‘ओस्टोयोपोरोसिस’ भनिन्छ । ‘ओस्टोयोपोरोसिस’ सामान्यतः उमेरसँगै देखा पर्ने समस्या हो । तर, अहिले बढी देखिन थालेको समस्या भने ‘ओस्टियोआर्थाइटिज’ हो, जसलाई चलनचल्तीको भाषामा हड्डी खिइने समस्या भनिन्छ ।

हड्डीको अन्तिमको जोर्नी, जसलाई कुरकुरे हड्डी भनिन्छ । यही हड्डीले जोर्नीहरू चल्न मद्दत गर्छ । हाम्रा जोर्नीहरू खुम्च्याउँदा एउटाको माथि अर्को सर्न वा खप्टिन सक्ने हुनुको पछाडि कुरकुरे हड्डीकै भूमिका रहन्छ । त्यही कुरकुरे हड्डी खिइनुलाई नै हड्डी खिइनु भनिन्छ । हड्डी सामान्य खिइँदा वा सुरुआती समयमा दुःखाइ नहुन सक्छ । तर, खिइँदै गएर नसामा पुगेपछि भने दुःखाइ महसुस हुन थाल्ने विज्ञ बताउँछन् । जब दुई हड्डीबीच घर्षण हुन थाल्छ, तत्पश्चात् दुःखाइ एकदमै बढी हुँदा मान्छे अस्पताल पुग्छ । हड्डी खिइँदै जाँदा देखिने अर्को समस्या भनेको नसा च्यापिने हो । हड्डी खिइने र नसा च्यापिने समस्या पहिलेभन्दा बढेको पाइन्छ । युवा अवस्थाका मान्छेमा पनि हड्डी खिइएको पाइन्छ ।

क्याल्सियम तथा भिटामिन ‘डी’ जस्ता पोषण तत्व स्वस्थ हड्डीका लागि अनिवार्य मानिन्छ । भिटामिन ‘डी’ ले क्याल्सियम सोस्ने क्षमतामा वृद्धि गर्नुका साथै हड्डीको वृद्धिमा मद्दत पु¥याउने विज्ञ बताउँछन् । हड्डीको रोग ओस्टियोपोरोसिसको मुख्य कारण भिटामिन ‘डी’ को कमी भएकाले हड्डीलाई स्वस्थ र मजबुत बनाउने खानामा भिटामीन ‘डी’ र क्याल्सियम प्रशस्त पाइने खानाहरू अनिवार्य रूपमा समावेश गरिनुपर्छ ।

हड्डी बलियो बनाउने खानेकुराहरू

दुधः दुधमा प्रसस्त मात्रामा क्याल्सियम पाइनुका साथै भिटामिन ‘डी’ पनि पाइन्छ । दिनको एक गिलास दुध पिउनु हड्डीको मजबुतिका लागि महत्वपूर्ण हुने विज्ञहरू बताउँछन् । दुधका साथै दही, तथा चिजको सेवन पनि नियमित गर्नु राम्रो मानिन्छ ।

केराः हड्डीको स्वास्थ्यका लागि केरा निकै लाभदायी फल हो । केरामा प्रसस्त मात्रामा क्याल्सियमका साथै पोटासियम लवण पाइन्छ । यसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै शरीरबाट क्याल्सियम क्षय हुने दर घटाउँछ ।

हरियो सागपातः हरियो सागपात तथा कोसे तरकारीहरूमा पर्याप्त क्याल्सियमका साथै भिटामिनसमेत पाइन्छ । यस्ता सागपात र तरकारीले हड्डीमा लवणहरूको घनत्व बढाउँछ ।

बदामः बदाम, ओखर जस्ता खानेकुराहरूमा प्रसस्त मात्रामा क्याल्सियम र पोटासियम पाइन्छ । साथै यस्ता खानेकुरामा उपयोगी फ्याट्टी एसिड पनि पाइन्छ जसले हड्डीको क्षयीकरण रोक्न मद्दत गर्छन् र हड्डीको निर्माणमा सघाउ पु¥याउँछ ।

माछा, मासु र अन्डाः माछा, मासु र अन्डा पनि हड्डी स्वस्थ राख्न खानुपर्ने महत्वपूर्ण खानेकुराहरू हुन् । यसले हड्डीलाई मजबुत बनाउनुका साथै विकासमा समेत सहयोग पु¥याउँछ ।

०००

हड्डी बचाउन जीवनशैली महत्वपूर्ण हुन्छ : डा.सुधांशु झा, हाडजोर्नी विशेषज्ञ

डा.सुधांशु झा, हाडजोर्नी विशेषज्ञ

चलन चल्तीको भाषामा हड्डी खिइने भनिन्छ तर, हड्डी एकैपटक खिइँदैन । दुई वटा हड्डीको बीचमा जोर्नी हुन्छ । जसलाई कुरकुरे हड्डी भन्छ । त्यही खिइँदै गएपछि बिस्तारै हड्डी खिइने गर्छ । पहिला हाम्रो शरीरको कुरकुरे हड्डी खिइन्छ । अहिले नसर्ने रोगमा यो निकै समस्या बनेको छ । अहिले त युवा अवस्थाका मान्छेमा पनि हड्डी खिइने समस्या देखा पर्न थालेको छ । पहिला अलि पाको मान्छेमा बढी देखिने गथ्र्यो ।

हड्डी खिइनका कारण भनेको पहिलो कुरा मोटोपन हो । मान्छेको शारीरिक वनावट हुनुपर्ने भन्दा बढी भएमा त्यो मोटोपन हो । यसैगरी पटकपटक चोटपटक लागि रहेको छ भने पनि हड्डी खिइन सक्छ । अर्को भनेको कुनै पनि जुनेटिक रोग छ भने पनि हड्डी खिइने समस्या हुनसक्छ । अधिकांशको उपचार सम्भव छ तर हामीले गर्न नसकने भनेको हर्मोन सुक्ने अवस्था पनि हुन्छ । जुन समाधान गर्न सकिन्न ।

नेपाली आमाहरूमा महिनावारी बन्द हुने अवस्था भनेको ४८ देखि ५२ वर्ष हो । यो अवस्थामा पनि हड्डीहरू कमजोर हुने, मक्किने, कुरकुरे हड्डीहरू खिइने समस्या हुन्छ । महिलाहरूमा सामान्यतः ५० वर्षपछि यो समस्या देखा पर्न सक्छ । पुरुषहरूमा पनि ५० वर्षपछि समस्या देखा पर्न सक्छ । समग्रमा हेर्दा विभिन्न अवस्थामा हड्डी खिइन सक्छ । हामीले गर्ने दैनिक कामले पनि यसमा प्रभाव पार्न सक्छ । निहुरिएर काम गर्नेलाई यो समस्या बढी हुन्छ । महिलामा टुक्रुक्क बसेर, पलेटी कसेर काम गर्दा पनि समस्या हुन्छ । त्यसैले कसरी काम गर्दा सही हुन्छ भन्ने कुरामा ख्याल गर्नुपर्छ ।

सुगर, थाइराइटलगायत अरू जुनेटिक रोग लागेको छ भने पनि हड्डी खिइने रोग लाग्न सक्छ । हाम्रो खानपान र जीवनशैलीले पनि हाम्रो हड्डी कमजोर बनेको छ । कमजोर भएपछि खिइन थाल्नु सामान्य जस्तै हो । अहिले बढ्दो जंकफुडको प्रयोगले पनि हड्डी कमजोर बनेको छ । जंकफुडमा क्याल्सियम तथा भिटामिन ‘डी’ जस्ता पोषण तत्व पाइन्न, जुन स्वस्थ्य हड्डीका लागि अनिवार्य मानिन्छ । भिटामिन ‘डी’ ले क्याल्सियम सोस्ने क्षमतामा वृद्धि गर्नुका साथै हड्डीको वृद्धिमा मद्दत पु¥याउँछ । अहिले त २५–३० वर्षका युवामा पनि कुरकुरे हड्डी खिइने समस्या देखिन थालेको छ । यो भनेको खानपान र जीवनशैलीकै कारण हो ।

हड्डीको समस्या भएको शंका लागेमा वा त्यस्तो दुःखाइ पीडा भएमा उपचार गराउनु पर्छ । सबैभन्दा पहिला त समस्या कस्तो हो ? त्यसको परीक्षण गरी पत्ता लगाउनु पर्छ । त्यसपछि औषधि खाएर वा फिजियोथेरापी गरेर त्यसको उपचार के हुन सक्छ त्यो गर्नुपर्छ । उपचारका साथै हामीले आफैँ पनि गर्न सकिने थेरै कुरा छन् जसले हामीलाई सहज बनाउन सक्छ ।

एक्ससाइजमा पनि हामीले घरमा नै गर्न सकिने धेरै कुरा छन् । पौडी खेल्ने, दैनिक हिँडने, साइकल चलाउने वा सम्भव भए घरमा नै ‘एरवाइक’ राखेर चलाउन सकिन्छ । घरमा नै योग पनि गर्न सकिन्छ । यी यस्ता कार्यले हाम्रो माशंपेशी लचिलो बनाउँदै लैजान्छ । त्यसका लागि योग राम्रो हुन्छ । सबैभन्दा महत्वपूर्ण भनेको जीवनशैली हो । खाने बेला राजा महाराजा जस्तो खाने काम नगर्ने भयो भने मोटोपन बढ्छ र समस्या आउँछ ।

हाम्रो जीवन शैलीका कारण पनि हड्डी बचाउन सकिन्छ । हामी बेलुकाको खाना भिखारीले जस्तो खानुपर्छ । बिहान दिउँसो धेरै खाए पनि बेलुका खानु हुँदैन, हल्का सुपहरू खानुपर्छ । त्यसो गर्दा आफ्नो तौलले जोर्नीहरूलाई भार पार्दैन । टेम्पुलाई टाटा मोटरको जस्तो भार दिनु हुँदैन, थेग्न सक्दैन । हामीले आफैँले गर्ने भनेको यात्राका बेला धेरै दुःखेमा चिसोले सेक्ने, हल्का दुःखी रहेमा तातोले सेक्ने । हिँड्दा गाह्रो भएमा लठ्ठीको प्रयोग गर्ने । सुत्दा दुःखेको खुट्टा तकियामाथि राख्नु धेरै राम्रो हुन्छ । यसका लागि डाक्टर पनि चाहिन्न, खर्च पनि हुँदैन । त्यति गर्दा पनि नभएमा तुरुन्त उपचार गर्नुपर्छ ।

प्रतिक्रिया