राजधानी काठमाडौँ यतिबेला बर्ड फ्लु को उच्च जोखिम मानिए पनि विज्ञहरू डराइ हाल्नु नपर्ने तर सावधानी भने अनिवार्य रहेको बताउँछन् । यतिबेला काठमाडौँमा देखिएको त्रासलाई सचेत भएको र त्यसबारे धेरै सन्देश प्रवाह हुन सकारात्मक भएको विज्ञ बताउँछन् । अहिलेको अवस्थामा डराउनु भन्दा पनि सचेत हुनुपर्ने विज्ञको सुझाव छ ।

समय समयमा देखिने विभिन्न सरुवा रोगले आममान्छेमा त्रास सिर्जना गर्ने गरेको छ । अहिले काठमाडौँ उपत्यका बर्ड फ्लु को हटस्पट बनेको भन्दै आउने गरेको समाचारले त्रास फैलाएको हो । पशु सेवा विभागका अनुसार काठमाडौँ, ललितपुर र भक्तपुरमा बर्ड फ्लु संक्रमणको हटस्पस्ट बनेको छ । केही दिनदेखि काठमाडौँमा चन्द्रागिरी, तारकेश्वर तथा कीर्तिपुर र ललितपुरमा गोदावरी, महालक्ष्मी तथा ललितपुर महानगरपालिकामा देखिएको विभागले जनाएको छ । भक्तपुरमा चाँगुनारायण, सूर्यविनायक र भक्तपुरमा अन्य क्षेत्रको तुलनामा बढी देखिएको रिपोर्ट छ ।
काठमाडौँमा देखिएपछि अझ बढी त्रासको वातावरण बनेको भए पनि उपत्यका बाहिर यसअघि नै बर्ड फ्लु देखापरेको थियो । केही साताअघि झापा, मोरङ, सुनसरी जिल्लामा देखिएको बर्ड फ्लु पछि महोत्तरी, बारा, चितवनमा समेत देखिएको थियो । पछि उपत्यकाका ३ जिल्ला काठमाडौँ, भक्तपुर, ललितपुर हुँदै पछिल्लो समय नवलपरासी जिल्लामा बर्ड फ्लु फैलिएको छ । पक्षीबाट सर्ने रोग बढीजसो कुखुरामा देखिने गरेको पाइन्छ ।
बर्ड फ्लु सँग धेरै डराउनु पर्ने कारण भनेको मानिसमा संक्रमण भइहाल्यो भने प्रभावकारी उपचार अहिलेसम्म पत्ता लागेको छैन । यसको खोपसमेत अहिलेसम्म छैन । त्यसैले रोग फैलिन नदिन रोग देखिएकै स्थानका पक्षीको नष्ट गर्नु नै एकमात्र विकल्पको रूपमा लिने गरिएको छ । अहिलेसम्म विभागले रोग पुष्टि भएका १० जिल्लामा ७२ फार्मका करिब ५ लाख १५ हजार पक्षी नष्ट गरेको छ । लेयर्स कुखुरा र स्थानीय जातका कुखुरामा बढी मात्रामा बर्ड फ्लु देखिएको छ । ७ लाख अन्डा र १८३ टन दाना नष्ट गरिएको विभागले जनाएको छ । केही दिनअगाडि ललितपुरको चिडियाखानामा समेत संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएपछि अहिले २ साताका लागि चिडायाखाना प्रवेशमा रोक लगाइएको छ ।
राजधानी काठमाडौँ यतिबेला बर्ड फ्लु को उच्च जोखिम मानिए पनि विज्ञहरू डराइ हाल्नु नपर्ने बताउँछन् तर सावधानी भने अनिवार्य छ । यतिबेला काठमाडौँमा देखिएको त्रासलाई सचेत भएको र त्यसबारे धेरै सन्देश प्रवाह हुन सकारात्मक भएको विज्ञ बताउँछन् । अहिलेको अवस्थामा डराउनु भन्दा पनि सचेत हुनुपर्ने विज्ञको सुझाव छ ।
अहिलेसम्मका अवस्थामा संक्रमण विशेषगरी पोल्ट्री फार्महरूमा देखिएको छ । अव्यवस्थित फार्म, जंगली चराको आवतजावत र जैविक सुरक्षा मापदण्डको पालना नहुनु संक्रमण फैलनुको मुख्य कारण मानिएको छ । केही दिनअगाडि जावलाखेलस्थित चिडियाखानामा मरेका केही चराचुरुंगीमा पनि बर्ड फ्लु पुष्टि भएको थियो । त्यसपछि निगरानी र सतर्कता थप बढाइएको छ । बर्ड फ्लु मुख्यतः पक्षीमा फैलिने रोग हो । मानिसमा संक्रमणको जोखिम कम भए पनि संक्रमित पक्षीसँग प्रत्यक्ष सम्पर्कमा रहने व्यक्तिहरू बढी जोखिममा रहने गर्छन् ।
संक्रमित पक्षी वा तिनका अवशेषसँग सम्पर्क भएमा ज्वरो, खोकी, घाँटी दुख्ने तथा श्वासप्रश्वासमा समस्या देखिन सक्छ । त्यसैले बिरामी वा मरेका पक्षीलाई नछुन, मासु र अन्डा राम्ररी पकाएर मात्र खान तथा व्यक्तिगत सरसफाइमा ध्यान दिन चिकित्सकले सुझाव दिएका छन् ।
सरकारी निकायले प्रभावित क्षेत्रमा निगरानी बढाउनुका साथै आवश्यक नियन्त्रणका उपायहरू लागू गरिरहेको जनाएको छ । काठमाडौँ उपत्यकामा बर्ड फ्लु संक्रमण बढ्दै गएपछि पशु तथा जनस्वास्थ्य दुवै क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ । संक्रमित पक्षीसँग प्रत्यक्ष सम्पर्कबाट बच्न र स्वास्थ्य सुरक्षाका उपाय अपनाउन विज्ञहरूले सुझाव दिएका छन् ।
ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा रहेका पक्षीलाई बर्ड फ्लुको जस्तो लक्षण देखिएपछि असार २ गते परीक्षणका लागि पशु सेवा विभागमा नमुना पठाइएको थियो । परीक्षण गर्दा असार ३ गते रिपोर्टमा बर्ड फ्लु देखियो । विभागले त्यसको जानकारी दिँदै आवश्यक समन्वयका लागि टोली चिडियाखाना पठायो । तर, बर्ड फ्लु पुष्टि भएको ३ दिनपछि मात्र असार ५ गते (शुक्रबार) देखि २ साताका लागि चिडियाखाना बन्द भएको सूचना जारी भयो ।
तीन दिनसम्म बर्ड फ्लु देखिएको सूचना लुकाएको आरोपमा चिडियाखाना प्रमुख सत्यनारायण साह छानबिनमा तानिएका छन् । बर्ड फ्लु संक्रमणबारे राष्ट्रिय प्रकृति संरक्षण कोषलाई समयमै जानकारी नगराई गुपचुप राखेको आरोपमा प्रमुख साह छानबिनमा परेका हुन् ।
००००
यतिबेला संघीय राजधानीमा बर्ड फ्लु देखिएका कारण बढी चर्चा भए पनि गत चैत ६ गते कोसी प्रदेशको मोरङ सुन्दरहरैँचा–४ र उर्लाबारी–८ मा यसको पुष्टि भएको थियो । त्यहाँ ३ महिनादेखि बर्ड फ्लु नियन्त्रणमा आउन सकेको छैन । कोसी प्रदेशका सुनसरी, मोरङ र झापा, बागमती प्रदेशका काठमाडौँ, भक्तपुर र ललितपुरसहित चितवन र काभ्रेमा, मधेसका बारा र महोत्तरीमा तथा लुम्बिनीको नवलपरासी पश्चिममा बर्ड फ्लु फैलिइसकेको छ । ३ महिनादेखि फैलिएको बर्ड फ्लु नियन्त्रणमा आउन नसकेका कारण अवस्था सामान्य भन्न नमिल्ने विज्ञ बताउँछन् ।
यति लामो समयदेखि बर्ड फ्लु फैलिरहेको र काठमाडौँ उपत्यका ‘हट स्पट’ बनेका अवस्थामा ढुक्क हुने अवस्था नरहेको विभागको बुझाइ छ । बर्ड फ्लु पुष्टि भएका जिल्लामा नियन्त्रणका लागि अहिलेसम्म प्रभावकारी कार्यक्रम केही गरिएको पनि छैन । बर्ड फ्लु देखिएका र शंका लागेको स्थानमा नियन्त्रणका लागि ५ लाखभन्दा बढी कुखुरा, १० लाख ५० हजार अन्डा र २ लाख ५० हजार किलो कुखुराको दाना नष्ट गरिएको तथ्यांक छ ।
बर्ड फ्लु संक्रमण हुन र संक्रमण गराउन सक्ने भनेको पक्षीले हो । त्यसमा पनि कुखुरा नष्ट गर्न सजिलो भए पनि अन्य पक्षीमा नष्ट गरेर नियन्त्रण गर्नु चुनौतीपूर्ण हुन्छ । उल्लिखित ठाउँमा देखिएको लामो समयसम्म नियन्त्रणमा आउन नसक्नु भने चिन्ताजनक विषय हो । देशका विभिन्न स्थानमा बर्ड फ्लु देखियो भनेकै ३ महिना बढी हुँदासम्म नियन्त्रण हुनुको सट्टा फैलँदो छ । यसले आममान्छेमा त्रास उत्पन्न गराएको छ । अझ काठमाडौँ र वरपरका जिल्लाका विभिन्न स्थानमा समेत देखा परेपछि भने यो विषय गम्भीर बनेको छ ।
००००
बर्ड फ्लु के हो ? कसरी फैलिन्छ ?
विश्व पशु स्वास्थ्य संगठन (ओआइई) का अनुसार ‘नोटिफायबल एभियन इन्फ्लुएन्जा’ भाइरसको ‘सब–टाइप’ बाट हुने रोग वा संक्रमणलाई बर्ड फ्लु भनिन्छ । बर्ड फ्लु चराचुरुंगीमा लाग्ने संक्रामक श्वासप्रश्वाससम्बन्धी रोग हो ।
विज्ञका अनुसार इन्फ्लुएन्जा भाइरसका ३ समूहहरूमध्ये समूह ‘ए’ मा पर्ने भाइरसको संक्रमणबाट चराचुरुंगीहरूमा फैलिने महामारी रोगलाई बर्ड फ्लु भन्ने गरिन्छ । इन्फ्लुएन्जा ‘एचफाइभ एनवान’ भाइरस चराहरूमा फैलिने गरेको छ । सन् १८७६ मा पहिलोपटक पहिचान भएको बर्ड फ्लु सन् १९९७ मा मानिसमा समेत संक्रमण भएको भेटिएको थियो ।
अनुसन्धानका अनुसार बर्ड फ्लु फैलाउने इन्फ्लुएन्जा भाइरसले सुँगुरलाई पनि संक्रमण गर्ने गर्छ । तर यसले विशेष गरेर चराहरूलाई नै बढी प्रभावित गर्ने गरेको छ । खासगरी जंगली चराहरू, अझ त्यसमा पनि सीमसारतिर बस्ने चराहरू यस भाइरसका सबै समूहका मुख्य स्रोत मानिन्छन् । यो भाइरस सबै प्रजातिका चराहरूमा सर्ने गरेको चिकित्सकहरू बताउँछन् ।
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुन ‘एचफाइभ एनवान’ भाइरसले श्वासप्रश्वासमा बढी असर गर्ने बताउँछन् । उनले जनावर र मानिसमा समेत देखिनु चिन्ताको विषय भएको बताए । उनका अनुसार श्वासप्रश्वासमा असर गर्ने यो भाइरस चराहरूमा देखिन्छ । जंगली पक्षीहरूमा देखिएका बर्ड फ्लु जनावर र मानिसमा समेत सर्नु चिन्ताको विषय बनेको छ । अहिलेसम्म खोप र विशेष उपचारसमेत नभएकाले बर्ड फ्लुले संसारभरि चुनौती बढाएको उनको बुझाइ छ ।
डा.पुनका अनुसार चराको बिस्टा र ¥याल, मासु, प्वाँख, सिँगान, दाना, अन्डा, अन्डा राख्ने क्रेट, दाना राखेको बोरा आदिको सम्पर्कबाट सर्न सक्छ ।
०००
अहिलेसम्म छैन उपचार र खोप
सन् १८७६ मा पहिलोपटक पहिचान भएको बर्ड फ्लुको अहिलेसम्म कुनै प्रभावकारी खोप र उपचार नभएको विज्ञ बताउँछन् । यसका लागि संक्रमण देखिएका पक्षी नष्ट गर्नु नै एक मात्र उपाय रहेको छ । यसको उपचार र प्रभावकारी खोप छैन त्यसैले संक्रमण देखिनासाथ नष्ट गरेर भाइरस फैलन नदिनु नै प्रमुख उपाय भएको विज्ञ बताउछन् । संक्रमण हुन नदिएर नियन्त्रण गर्नु नै रोकथामको उपाय भएकाले बर्ड फ्लु देखिएको पुष्टि भएपछि तत्काल सम्बन्धित निकायमा खबर गर्नुपर्ने डाक्टर बताउँछन् ।
यतिबेला जंगली चराहरूबाट कुखुरामा सर्ने कारण बर्ड फ्लु देखिएका जिल्लामा कुखुरा नष्ट गर्ने कार्य जारी छ । यसका साथै विशेषगरी अन्डाका क्रेटहरूको पुनः प्रयोग र फार्ममा सरसफाइको कमीले पनि संक्रमण फैलिएको पाइएकाले किसानलाई जैविक सुरक्षाका मापदण्ड पूर्ण रूपमा पालना गर्न सचेत गराइएको छ । सरुवा रोग विशेषज्ञ डा.पुन यसका लागि सचेत हुनु बाहेक अरू उपाय नभएको बताउाछन् ।
००००
डराउने होइन, सचेत हुने हो : डा.शेरबहादुर पुन, सरुवा रोग विशेषज्ञ

अहिले बर्ड फ्लुले मान्छेमा त्रास देखिएको छ । यसको कारण भनेको नेपालमा सन् २०१९ मा १ युवकको बर्ड फ्लुका कारण मृत्यु भएको पुष्टि भएको थियो । तर, त्यसयता मानिसमा देखिएको पुष्टि भएको छैन । अहिलेसम्म यसको खोप र उपचारको विधि छैन । त्यसैले पनि मान्छेमा डर देखिएको छ । अझ यसलाई डरभन्दा पनि मान्छेले चासो लिनु सचेत हुनु राम्रो हो । विश्वका विभिन्न देशमा पनि मान्छेमा पनि बर्डफ्लु देखिएको भन्ने सुन्ने गरेका छौँ । नेपालमा देखिए पनि त्यसले ठुलो मानवीय क्षति भएको छैन ।
यद्यपि अहिलेसम्म मान्छेबाट मान्छेमा सरेको सुनिएको छैन । तर, यसको समस्या भनेको एकपटक लागिसकेपछि संक्रमित मध्ये कम्तिमा ५० प्रतिशतको मृत्यु हुनसक्ने अहिलेसम्मको अनुसन्धानले देखाएको छ । त्यस कारण पनि मान्छेमा चिन्ता बढाएको हो । तैपनि मान्छेबाट मान्छेको व्यापक रूपमा सर्ने गरेको छैन । त्यसैले आत्तिहाल्नु पर्ने त देखिन्न ।
अहिले जसरी काठमाडौँमा नै नियन्त्रण बाहिर बर्डफ्लु भनेर समाचार आएको छ, त्यस्तो होला भन्ने लाग्दैन । तर, जहाँ धेरै कुखुरा पाल्ने फार्म छन्, त्यहाँ काम गर्ने मान्छेमा भने जोखिम हुन सक्छ । अहिले नै आत्तिइ हाल्नुपर्ने अवस्था त छैन तर, जोखिम भने छ । त्यसैले सचेत हुनुपर्छ । त्रास बढनुको कारण भनेको लागेपछि उपचार नहुन र अहिलेसम्म खोप वा उपचारको व्यवस्था नहुनु पनि होला । खास गरी मासु र अन्डा खानेमा यसले बढी डर उत्पन्न गराएको पाइन्छ । मासु र अन्डा खाँदा राम्रोसँग पकाएर खानुपर्छ । फर्महरूमा काम गर्नेले अझ बढी सचेत हुनपर्ने अवस्था छ ।
बर्ड फ्लुलाई अहिले नै आतंकको रूपमा लिएर डराउनुपर्ने अवस्था छैन । अहिलेको अवस्थासम्म हेर्दा आत्तिनु पर्ने छैन । सकेसम्म सर्ने नदिने, त्यसका लागि प्रयास गर्ने हो, डराएर बस्नु हुँदैन । अहिले डराउनका कारण भनेको कुखुरा फार्महरूमा धेरै कुखुरा मरेका कारण अलि त्रास देखिएको हो । यो मान्छेमा सर्न सक्ने जोखिम भने छ । त्यसैले लापरवाही गर्नु भने हुँदैन । अर्को कुरा भनेको मान्छेबाट मान्छेमा सजिलै सरेको भन्ने अहिलेसम्म छैन । मान्छेबाट मान्छेमा सर्ने भए त कोही सुरक्षित रहने अवस्था हुँदैन थियो । तर, भइहाल्यो भनेचाहिँ अवस्था जटिल हुन सक्छ । त्यसैले सबैभन्दा महŒवपूर्ण कुरा भनेको सचेत हुनु हो । डराएर आत्तिएर हुँदैन, सचेत हुनुपर्छ ।
प्रतिक्रिया