मेडिकल क्षेत्रमा चरम निराशा : बर्सेनि उत्पादनकै हाराहारी डाक्टर विदेश पलायन !

काठमाडौँ । नेपाली चिकित्सकको विदेश पलायन डरलाग्दो रूपमा बढिरहेको तथ्यांक सार्वजनिक भएको छ । नेपालमा वार्षिक उत्पादन हुनेकै हाराहारी संख्यामा चिकित्सकहरू बिदेसिने गरेका छन् । नेपालको मेडिकल क्षेत्रमा चरम निराशा र विदेशमा उच्च आम्दानी र सुविधासम्पन्न जीवनशैलीको लोभमा डाक्टरहरू बिदेसिने क्रम बढेको हो । कतिपय डाक्टर भने उच्च शिक्षाका लागिसमेत विदेश जाने गरेका छन् । विशेष गरी रोजगारी र उच्च शिक्षाका लागि चिकित्सकहरूको पहिलो रोजाइ अमेरिका र त्यसपछि बेलायत रहेको नेपाल मेडिकल काउन्सिलको तथ्यांकले देखाउँछ ।

काउन्सिलले प्रत्येक वर्ष झन्डै २ हजार चिकित्सकलाई लाइसेन्स प्रदान गर्दै आएको छ । तर, बर्सेनि त्यतिकै संख्यामा चिकित्सकले विदेश जान ‘असल चारित्रिक प्रमाणपत्र’ लिने गरेका छन् । सन् २०२५ मा काउन्सिलबाट २ हजार १२२ जनाले लाइसेन्स लिएका थिए भने सोही वर्ष २ हजार ३९० जना चिकित्सकले विदेश जान असल चारित्रिक प्रमाणपत्र लिएका छन् । अर्थात्, लाइसेन्स लिनेभन्दा २६८ जना बढी चिकित्सक विदेश जाने तयारीमा रहेको तथ्यांकले देखाउँछ ।

काउन्सिलको चारित्रिक प्रमाण प्रमाणीकरण शाखाका प्रमुख प्रदीप रिजालका अनुसार सन् २०२० यता १३ हजार १४० चिकित्सकले लाइसेन्स लिएका छन् भने ११ हजार ६८ जना चिकित्सकले विदेश जानका लागि असल चारित्रिक प्रमाणपत्र लिएका छन् ।
काउन्सिलका निमित्त रजिस्ट्रार डा. दीपेन्द्र पाण्डेले विगत १ दशकदेखि राम्रो सेवासुविधा र आकर्षक तलबका कारण चिकित्सक बिदेसिने क्रम बढेको बताए । उनका अनुसार अमेरिका, बेलायत, माल्दिभ्स, संयुक्त अरब इमिरेट्स, अस्ट्रेलिया, भारत, क्यानडा र जर्मनी नेपाली चिकित्सकका प्रमुख आकर्षक गन्तव्य हुन् । नेपालमा मेडिकल अधिकृत तहमा सीमित अवसर भएकाले धेरै चिकित्सक स्नातकोत्तर अध्ययन र अस्पतालमा काम गर्न विदेश जाने उद्देश्यले असल चारित्रिक प्रमाणपत्र लिने गरेको उनको भनाइ छ ।

काउन्सिलको तथ्यांकअनुसार सन् २०२० यता २ हजार ९९५ जना चिकित्सक अमेरिका गएका छन् । त्यसपछि बेलायत जानेको संख्या २ हजार ६३७, माल्दिभ्स २ हजार २४१, अस्ट्रेलिया ८४८, संयुक्त अरब इमिरेट्स ७२०, भारत ९१८, क्यानडा १४८ र जर्मनी जाने ९२ चिकित्सक छन् । काउन्सिलका अनुसार नेपाली चिकित्सक हाल विभिन्न २३ मुलुकमा पुगेका छन् । वार्षिक रूपमा विदेश जान असल चारित्रिक प्रमाणपत्र लिने चिकित्सकको संख्या पनि निरन्तर बढ्दो छ । सन् २०२० मा ८६९ जना, २०२१ मा १ हजार ३२७ जना, २०२२ मा १ हजार ९५४ जना, २०२३ मा २ हजार ३१८ जना र २०२४ मा २ हजार २१० जनाले यस्तो प्रमाणपत्र लिएका छन् ।

‘चिकित्सकले विदेशमा जागिर र अध्ययनका लागि असल चारित्रिक प्रमाणपत्र लिन्छन्,’ निमित्त रजिस्ट्रार डा. पाण्डेले भने, ‘तर अधिकांश चिकित्सक अध्ययनभन्दा पनि रोजगारीका लागि विदेश जाने गरेका छन् ।’ यता, सन् २०२० मा २ हजार १३१ जना, २०२१ मा १ हजार ७१६ जना, २०२२ मा २ हजार ८५ जना, २०२३ मा २ हजार ६९२ जना र २०२४ मा २ हजार ३९४ जना चिकित्सकले काउन्सिलबाट लाइसेन्स लिएका छन् । नेपालमा पर्याप्त सेवा–सुविधा र अवसरको अभावका कारण चिकित्सक बिदेसिने क्रम बढिरहेको छ । काउन्सिलका अनुसार हालसम्म ३९ हजार ४८६ जना चिकित्सकले लाइसेन्स प्राप्त गरिसकेका छन् ।

विदेशी विद्यार्थीको कोटा बढाउने तयारी

यसैबीच, सरकारले मेडिकल शिक्षामा अध्ययन गर्न आउने विदेशी विद्यार्थीको कोटा बढाउने तयारी गरेको छ । राष्ट्रियसभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा शिक्षा मन्त्रालयका सचिव चूडामणि पौडेलले नेपालमा मेडिकल शिक्षाप्रति विदेशी विद्यार्थीको आकर्षण बढेकाले कोटा विस्तारका लागि नीतिगत निर्णयको तयारी भइरहेको जानकारी दिए । उनले नेपालका विश्वविद्यालयमा अध्ययन गर्न आउने विदेशी विद्यार्थीका लागि विद्यार्थी भिसा प्रक्रियालाई सहज बनाउन गृह मन्त्रालयसँग छलफल भइरहेको पनि बताए । सचिव पौडेलका अनुसार हाल विभिन्न देशका करिब १ हजार ४०० विद्यार्थी नेपालका विश्वविद्यालयमा अध्ययनरत छन्, जसमध्ये सबैभन्दा धेरै विद्यार्थी मेडिकल शिक्षामा केन्द्रित छन् ।

प्रतिक्रिया