
काठमाडौं । जेन-जी आन्दोलनपछि पहिलो पटक ४ वामपन्थी पूर्वप्रधानमन्त्रीहरु एउटै मञ्चमा देखा परेका छन् । मदन भण्डारी फाउण्डेशनद्वारा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनाल सँगै देखिएका हुन् । मदन भण्डारीको ७५ औं जन्मोत्सवका अवसरमा फाउण्डेशनले आज राजधानीको राष्ट्रिय सभागृहमा ‘नेपालको कम्युनिष्ट आन्दोलन र मदन भण्डारी विषयक विचार गोष्ठी तथा पुरस्कार वितरण समारोह’ आयोजना गरेको हो ।
वामपन्थी आन्दोलन सिध्याउन षडयन्त्र भयो : ओली
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २३ र २४ गते लोकतन्त्र र वामपन्थी आन्दोलनलाई नै सिध्याउने गरी प्रतिगामी षडयन्त्र भएको दाबी गरेका छन् । आइतबार राजधानीको राष्ट्रिय सभागृहमा मदन भण्डारी फाउन्डेसनद्वारा जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
अध्यक्ष ओलीले आफ्नो नेतृत्वको वैधानिक सरकारलाई अनेकौँ झुटा लाञ्छना लगाई, सामाजिक सञ्जाल र ‘मोबाइल फार्मङ’ मार्फत जनतामा चरम आक्रोश पैदा गरेर अवैध ढङ्गले विस्थापित गरिएको जिकिर गरे । सरकार बनाउने र फेर्ने काम संसद्को भए पनि बलजफ्ती संसद् भङ्ग गरेर प्रतिगमनलाई संस्थागत गर्ने कार्य भएको उनको तर्क थियो ।
देशविरुद्ध दक्षिणपन्थी र प्रतिक्रियावादी शक्तिहरू सल्बलाइरहेको उल्लेख गर्दै अध्यक्ष ओलीले एमालेलाई कमजोर नठान्न चेतावनी दिए । आफूहरू मरेको नभई धुलो टक्टक्याउँदै फेरि उठ्ने र प्रतिक्रियावादीहरूलाई परास्त गर्दै अग्रगामी परिवर्तनतर्फ अघि बढ्ने दृढता उनले व्यक्त गरे । विकास र पूर्वाधारका क्षेत्रमा आफ्नो सरकारले गरेका कामको समीक्षा ‘प्यारामिटर’ हेरेर गर्न चुनौती दिँदै उनले निर्वाचनअघि नै लोकतान्त्रिक शक्तिहरूलाई प्रतिकूल अवस्था सिर्जना भइरहेकोबारे सचेत गराए पनि कसैले विश्वास नगरेको विगत स्मरण गरे ।
त्यतिबेला एमालेका लागि भिरको बाटो र आफ्नो लागि ‘हाइवे’ ठानेका दलहरू आज अन्ततः एउटै ठाउँमा आउनुपर्ने परिस्थिति बनेको उहाँले उल्लेख गरे । नेकपा एमालेको राजनीतिक, सामाजिक र आर्थिक नीतिहरू पूर्ण रूपमा सही रहेको स्पष्ट पार्दै अध्यक्ष ओलीले पार्टी एकताका नाममा नीतिगत सम्झौता वा छलफल गर्ने पक्षमा आफूहरू नरहेको प्रस्ट पारे ।
जनताको बहुदलीय जनवाद (जबज) लाई समयानुकूल परिमार्जन गर्दै लैजाने प्रतिबद्धता जनाउँदै उनले एमालेको उद्देश्य केवल चुनाव जित्नु मात्र नभई ‘समृद्ध नेपाल, सुखी नेपाली’ को गन्तव्य हासिल गर्नु रहेको बताए । वर्तमान सरकारका गतिविधिप्रति आपत्ति जनाउँदै उहाँले जारी प्रतिगमनलाई पराजित गर्न र मुलुकलाई सही दिशा दिनका लागि भने लोकतान्त्रिक र वामपन्थी शक्तिहरू मिल्नुपर्ने आवश्यकता औँल्याए ।
वामपन्थी एकताका लागि सहकार्य गर्न ढिला गर्नु ठूलो गल्ती हुने : प्रचण्ड
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिस्टहरूबीच सकेसम्म चाँडो एकता र सहकार्य हुनुपर्नेमा जोड दिएका छन् । ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले वामपन्थी एकताका लागि सहकार्य गर्न ढिला गर्नु ठूलो गल्ती हुने र मिलेर मात्रै सफलता प्राप्त गर्न सकिने जिकिर गरे ।
उनले आफूले आजको भोलि नै पार्टी एकता गरिहाल्ने विचार नराखेको प्रष्ट पार्दै कार्यगत सहकार्यका लागि भने आजै र अहिलैदेखि लाग्नुपर्ने बताए । केही साथीहरूले पार्टी एकताको कुरालाई बुझ्न नसकेको भन्दै उनले सहकार्य आजै सकिन्छ भने आजै, भरे सकिन्छ भने भरे र भोलि सकिन्छ भने भोलि नै गर्न तयार हुनुपर्ने धारणा राखे ।
संयोजक प्रचण्डले वर्तमान सरकार संविधानका आधारभूत विषय र उत्पीडित समुदायमाथि प्रहार गर्न उद्यत रहेको गम्भीर आरोप लगाए। संविधानका मूलभूत मान्यतामाथि आक्रमण सुरु भइसकेको उल्लेख गर्दै उनले त्यसको प्रतिरोधका लागि कम्युनिस्ट शक्तिको बलियो उपस्थिति आवश्यक रहेको औँल्याए ।
संसारभरबाट कम्युनिस्टहरूलाई सिध्याउन खोजिएको भन्दै उनले छिमेकी देश भारतको उदाहरण दिए र नेपालमा पनि कम्युनिस्ट शक्ति सिध्याउने प्रतिक्रियावादी खेल भइरहेको दाबी गरे । गत २३ र २४ भदौको आन्दोलन तथा २१ फागुनको चुनाव पनि कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्ने र सिध्याउने योजनाकै हिस्सा भएको उनको भनाइ थियो ।
जननेता मदन भण्डारीप्रति सच्चा सम्मान व्यक्त गर्न र हालसम्म प्राप्त भएका राजनीतिक उपलब्धिको रक्षा गर्नका लागि पनि सबै कम्युनिस्ट घटकहरू एकजुट भएर अगाडि बढ्नुपर्नेमा उनले विशेष जोड दिए ।
विगतमाे आत्मसमीक्षाबिना कम्युनिस्ट एकता असम्भव : माधव नेपाल
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भावनाको कुरा गरेर मात्रै कम्युनिस्ट एकता सम्भव नहुने बताएका छन् । जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीको अवसरमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले कम्युनिस्ट आन्दोलनभित्र देखिएका समस्याबारे गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको उल्लेख गरे ।
एकताका लागि सबैभन्दा पहिला मन मिल्नुपर्नेमा जोड दिँदै उनले आजभोलि नै कम्युनिस्ट पार्टीहरू मिल्ने सम्भावना भने नदेखेको धारणा राखे । ‘कुराले चिउरा भिज्दैन’ भन्ने मदन भण्डारीको उक्ति स्मरण गर्दै उनले कुरा मात्रै गरेर केही नहुने जिकिर गरे । उनले यथार्थको धरातलमा टेकेर, व्यापक छलफल र बहस चलाउँदै अहिले मिल्न सकिने कुराहरूमा मिलेर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए ।
वामपन्थी एकता अत्यन्तै आवश्यक : झलनाथ खनाल
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशको वर्तमान परिस्थितिमा वामपन्थी एकता अत्यन्तै आवश्यक भइसकेको बताएका छन् । आज राजधानीमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले वाम एकताका लागि बाध्यात्मक परिस्थिति निर्माण भएको उल्लेख गरे ।
नेता खनालले वामपन्थी एकता आजको आवश्यकता मात्र नभएर इतिहासका अनेकौँ कालखण्डदेखि नै अपरिहार्य रहेको जिकिर गरे । विगतमा भएका गल्तीहरू तर्फ संकेत गर्दै उनले बीचको समयमा आफूहरूमा कहिले सिङ त कहिले जुरो पलाएका कारण एक हुन नसकेको टिप्पणी गरे ।
नेता खनालले आजकै दिनलाई प्रस्थानविन्दु मानेर वामपन्थी एकतालाई दीर्घकालीन रूपमा अगाडि बढाउन सबैलाई आग्रह समेत गरे । देशमाथि वैदेशिक साम्राज्यवादी शक्तिहरूले बबन्डर मच्चाइरहेको दाबी गर्दै उनले त्यस्ता प्रवृत्तिविरुद्धको लडाइँलाई गतिशील रूपमा अघि बढाउन पनि कम्युनिस्टहरू एक हुनुको विकल्प नभएको धारणा राखे ।
प्रतिक्रिया