
काठमाडौँ । जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका सन्दर्भमा राष्ट्रिय जनसाहित्यिक संघको ‘अविरल जनसाहित्य यात्रा–११०’ मा कवि होमशंकर बास्तोलाका १ दर्जन कविता प्रस्तुत भएका छन् । कवि बास्तोलाले ‘त्रिशूलीमा गिटी कुट्नेहरू’, ‘घाम’, ‘सालिक’ ‘नदेख अपूरा सपना’, ‘ओडारे माइलाका भोका सपनाहरू’ शीर्षकका गद्यकविता र एउटा गजल गरी ६ ओटा अत्यन्त सुन्दर, सशक्त र रूपान्तरणका पक्षका कविता वाचन गरे ।
उनका अन्य कविताहरू सहयोगी कविहरूले वाचन गरे । कवि डा.नवराज रिजालले ‘विश्वास भत्केको बेलामा’ शीर्षकको, कवि गणेशकुमार मिश्रले ‘कैशाङ र तीनपाने’ शीर्षकको, कवि त्रिलोचन आचार्यले ‘के दोष थियो सिंहदरबारको !’ शीर्षकको, कवि विकल त्यागीले ‘गजल’, कवि बोधराज पौडेलले ‘तमसुक’ शीर्षकको र रोजु गौतमले ‘गजल’ त्यत्तिकै सुन्दर, सशक्त कविताहरू र गजल वाचन गरेका थिए । वाचित कवितामाथि टिप्पणी गर्दै समालोचक आरएम डंगोलले बास्तोला कवितामा गाउँ र सहरको तुलना गरिएको छ । हार्दिकतामा गाउँ अगाडि रहेको निष्कर्ष निकालिएको बताए ।
बास्तोलाका ‘आँसुका झरनाहरू’ कथासंग्रह २०५८, ‘घाम हराएको दिन’ गजलसंग्रह २०६१, ‘बन्दुकको छाया’ कथासंग्रह २०६७, ‘हिमाल–पहाडका कथा’ संकलित कथासंग्रह २०७१, ‘भोका सपनाहरू’ कवितासंग्रह २०७८ र ‘रगतको मूल्य’ कथासंग्रह २०८२ जस्ता कृति प्रकाशित छन् । कार्यक्रममा कवि खेमराज निरौलाले मदन भण्डारीप्रति समर्पित कविता वाचन गरेका थिए भने नमुना शर्माले मदन भण्डारीद्वारा लिखित गीत गाएकी थिइन् । यसैगरी, प्राडा हेमनाथ पौडेलले मदन भण्डारीप्रति समर्पित कविता वाचन गरेका थिए भने प्राडा बद्रीविशाल पोखरेलले मदन भण्डारीको व्यक्तित्व र योगदानको चर्चा गरेका थिए ।
प्रतिक्रिया