
काठमाडौं । यस वर्षको असार १५ गते काठमाडौंको गोकर्णेश्वरस्थित शिवचोक फाँट सांगीतिक हिलोमय बन्ने भएको छ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा हुन लागेको २३औँ धान रोपाइँ महोत्सव तथा दही–चिउरा कार्यक्रममा नेपालका स्थापित लोक कलाकारहरूको अभूतपूर्व जमघट हुने भएको हो ।
राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल उपत्यका समितिको सहआयोजना, सांस्कृतिक संस्थानको सहकार्य तथा गोकर्णेश्वर नगरपालिकाको समन्वयमा हुन लागेको यो महोत्सवले नेपाली कृषि संस्कृति, लोकपरम्परा र सामाजिक सद्भावलाई सांगीतिक माहोलमार्फत प्रवर्द्धन गर्ने लक्ष्य लिएको संस्थाका केन्द्रिय अध्यक्ष चन्द्रमणि गौतमले बताए ।
सेलिब्रेटी र सांगीतिक रौनक
महोत्सवलाई थप आकर्षण र ऊर्जावान् बनाउन लोकदोहोरी क्षेत्रका सारथि कृष्ण कँडेल र उनको चर्चित इन्द्रेणी टिमसहित लोक सम्राट राजु परियार, बद्री पंगेनी, रीता थापा मगर, किरणबाबु पुन र टीका सानु जस्ता आधा दर्जनभन्दा बढी चर्चित कलाकारहरू मैदानमै ओर्लिने छन् ।
कलाकारहरूले परम्परागत असारे भाका र आफ्ना चर्चित लोकदोहोरी प्रस्तुतिमार्फत रोपेर, बाउसे र दर्शकहरूलाई हिलोमै झुमाउने अध्यक्ष गौतमको भनाई छ । कार्यक्रममा धान रोपाइँसँगै दही–चिउरा खाने रैथाने संस्कृतिलाई उत्सवका रूपमा मनाइने छ ।
वरिष्ठ सञ्चारकर्मी राम थापा अविरललाई पुरस्कार
कृषि र संगीतको यो महापर्वका बीच सोही विशेष मञ्चमा ‘गोविन्द शर्मा स्मृति पत्रकारिता पुरस्कार’ पनि प्रदान गरिने भएको छ। यस वर्ष उक्त पुरस्कारबाट रेडियो नेपालका वरिष्ठ सञ्चारकर्मी तथा स्थापित गीतकार राम थापा अविरललाई नगद रु ५,५५५ सहित सम्मान पत्रद्वारा सम्मानित गरिने कार्यक्रम तय भएको छ ।
संस्थाहरूको बलियो साथ
कृषि, कला र संस्कृतिलाई जोड्ने यो बृहत् अभियानमा विभिन्न व्यावसायिक तथा सामाजिक संस्थाहरूले पनि दरिलो साथ दिएका छन् । कार्यक्रमलाई सफल बनाउन एक्ट्रीम इनर्जी ड्रिंक, इशा फाउण्डेशन, दरबार रोधी क्लब, सोफा हबका साथै गायक प्रकाश कटवाल, समाजसेवीहरू रामकृष्ण बराल, रमेश विश्वकर्मा तथा अनिल सेडाई लगायतले आर्थिक एवं व्यवस्थापकीय सहयोग गरेका छन् ।
प्रतिक्रिया