कृत्रिम वुद्धिमत्ता (एआई) भौतिक जगत् र उन्नत चेतनाको ठुलो उपलब्धि भए पनि यसले मानव विस्थापनको जोखिम निम्त्याउन सक्छ । बाहिरी प्रविधिको विकास गर्ने विज्ञानभन्दा भित्री जगत् र विवेक जगाउने अध्यात्म बढी बृहत्, वर्तमान र हर क्षण अद्यावधिक रहने हुँदा एआईभन्दा बढी आधुनिक छ ।

कम्प्युटर प्रोग्रामलाई ठुलो डेटा र त्यसको प्रयोगसम्बन्धी निर्देशन उपलब्ध गराएर मानिसले गर्ने काम गराउनु नै कृत्रिम बुद्धिमत्ता हो, जसलाई अंग्रेजीमा आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् छोटकरीमा एआई भनिन्छ । विज्ञान प्रविधिको विकासको चरमोत्कर्ष हो कृत्रिम बौद्धिकता अर्थात् एआई । यो भौतिक जगत्को ठुलो उपलब्धि हो ।
क्याम्ब्रिज विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले एआई प्रयोग गरेर मौलिक रूपमा नयाँ प्रकारको खोप तयार गरेका छन् । खोपको मुख्य तŒव वा घटक पूर्णरूपमा एआईद्वारा डिजाइन गरी मानिसमा परीक्षणसमेत गरिएको छ । यो एकल खोपले मानव कोरोना भाइरस भेरियन्ट र चमेरोसँग सम्बन्धित भाइरसविरुद्ध प्रभावकारी ढंगले काम गरेर जनावरबाट मानिसमा भाइरस सरेर निम्तिने महामारी नियन्त्रणमा लिने महŒवाकांक्षा राखिएको छ । एआई प्रयोग गरेर गरिएको पछिल्लो उपलब्धि हो यो । यसअघि नै कृत्रिम मानव रोबोटद्वारा व्यापारदेखि गाडी र युद्धक विमान चलाएर युद्ध लड्ने काममा एआई प्रयोग गर्ने गरिएको थियो ।
व्यक्ति, समाज र राष्ट्रहरूमा निष्ठा हराउँदै गएको छ, जसले गर्दा मानवोपयोगी कामकुरामा कमी आएको छ । अर्कोतर्फ सृष्टिको आरम्भदेखि नै मनुष्यमा रहेको राक्षसी प्रवृत्तिले मानवतामा क्षति पु¥याउने गतिविधि गरिरहेको छ । यी कुराले समाज मानवताप्रतिकूल हुने क्रम बढाउँदै लगेको छ । यो कुरालाई गहिरोसँग बुझेका वैज्ञानिकहरूले मानव अनुकूल समाज निर्माणको कल्पना गर्दै एआई प्रविधि विकसित गरेका हुन् । वैज्ञानिकहरूको चेतना विस्तार हुँदै जाँदाको परिणाम हो एआई प्रविधि । अध्यात्मको केन्द्र नै चेतना हो ।
ओपनएआई र गुगल डिपमाइन्डका प्रमुखहरूसहित केही विज्ञहरूले एआईका कारण मानवजाति लोप हुन सक्ने चेतावनी दिएका छन् । उपकरणहरूबाट मानिस विस्थापित हुने अवस्था आउन नदिन जागरूक बनाउने काम अध्यात्मले गर्छ । महामारी र पारमाणविक युद्धको जोखिम न्यूनीकरणमा विश्वले प्राथमिकता दिएजस्तै नै एआईबाट हुन सक्ने मानिस विस्थापनको जोखिम न्यूनीकरणलाई विश्वव्यापी प्राथमिकतामा राख्नुपर्ने आवाजहरू चासोपूर्वक उठेका छन् । आध्यात्मिकता हरेक मानिसमा हुने भएकाले अहिलेदेखि नै चासो दिन सकिएको हो ।
मानिसको सामान्य चेतनालाई चेतनाको अनन्त उचाइमा अन्तरिक्ष यात्रा गराउने रकेट हो अध्यात्म । चेतनाको अनन्ततामा पुग्ने यात्राका क्रममा धेरै नै सिर्जनात्मक काम गर्ने चेतना प्रस्फुटित हुँदै जान्छ । सिर्जनात्मक कामले नयाँ विचार र माहौललाई व्यवस्थित गर्ने कानुनी प्रबन्ध गर्न अध्यात्मले सक्षम बनाउँछ । मानव र समुदायबीच सुसम्बन्ध कायम राख्न तथा प्रविधिको प्रयोग पर्यावरणीय सन्तुलन मिलाउँदै मानव समुदायको हित सुरक्षित गर्ने गरी गराउनमा अध्यात्मको भूमिका रहन्छ ।
एआईले मानव चेतना कुन स्तरको छ भन्ने जानकारी दिन सक्छ । यस मानेमा एआई प्रविधिले अध्यात्ममा सहयोग पु¥याउन सक्छ, गरेको पनि छ । तर चेतना बढाउने क्षमता एआईले दिन सक्दैन । बाहिरी संसारको अनुसन्धान हो विज्ञान। विज्ञानको सहउत्पादन हो एआई । विज्ञानले अहिलेसम्म चेतनातिर हेरेको पनि छैन । अध्यात्म विज्ञानभन्दा बृहत् छ । अध्यात्मले भित्री र बाहिरी दुवै जगत्लाई समेट्छ ।
भगवद्गीता आठौँ अध्यायको पहिलो श्लोकमा अध्यात्म के हो भनेर अर्जुनले कृष्णसँग सोधेका छन् । त्यही अध्यायको तेस्रो श्लोकमा अध्यात्म भनेको स्वभाव अर्थात् आफ्नो मूल स्वरूप हो भनेर कृष्णले जबाफ दिएका छन् । स्वभाव अर्थात् मूल स्वरूप भनेको कुनै पनि वस्तुको वस्तुत्व सिद्ध हुने कुरा हो । तातो अग्निको स्वभाव हो । तातो छैन भने अग्नि हुँदैन । यही स्वभावलाई आत्मा भनिन्छ । आत्मा अनन्त र सर्वत्र छ ।
आत्मा भनेको चेतनाको अनन्तता हो । चेतनाको विस्तार गर्ने सुरुआतले अनन्त चेतनाको यात्रा गराउँछ । त्यही यात्रा नै सार्थक जीवन हो । यात्रा नै मुक्ति हो । मुक्ति कुनै गन्तव्यको नाम होइन । यात्री हामी जीव हौँ भने यात्रा हाम्रो जीवन हो । आफू स्वयंलाई जान्नु र आफ्नो जीवनलाई जान्नु नै अध्यात्म हो । अध्यात्मको सरोकार मनसँग छ, किनकि अध्यात्म दुःख निवारणको लागि हो र दुःख मनलाई हुन्छ । मन बाहिरी र भित्री दुवै जगत्सँग जोडिएको छ ।
एआई बाहिरी जगत् हो । मनलाई सुख दिनका लागि एआई प्रविधि बनाइएको हो । अध्यात्मको अन्तिम लक्ष्य मुक्ति हो । मुक्ति जीवनका लागि हो । मुक्तिको आनन्द भोग्न जीवन चाहिन्छ । यदि एआईको प्रयोगले मानिसको जीवन समाप्त गर्ने सम्भावना देखियो भने अध्यात्मले त्यसको समाधान निकाल्छ, किनकि अध्यात्मले मानिस मरेपछिको मुक्तिको कुरा गर्दैन । मृत्युपछिको मुक्तिको कुरा अन्धविश्वासी मान्यता हो । त्यस्ता अन्धविश्वासले मानिसलाई अनन्त दुःखमा पारेको हुँदा अध्यात्मले अन्धविश्वासी मान्यता सिधै खारेज गर्छ ।
अध्यात्म पुरानो परम्परा होइन । व्यक्तिले स्वयंलाई जान्ने सतत जागरूकता हो अध्यात्म । चिकित्सा विज्ञान र एआई प्रविधिजस्ता विषय बाहिरी ज्ञानसँग जोडिएका हुन्छन् । यी विषय उपयोग गर्ने व्यक्तिलाई बुझ्ने प्रक्रिया अध्यात्मको हो । मानिसले आफैँलाई चिनेन भने उसको ज्ञान दिशाविहीन हुन्छ । अनि आधुनिक प्रविधि र शक्तिलाई मानव कल्याणको दिशामा केन्द्रित गर्न असमर्थ हुन्छ । व्यक्ति क्षणप्रतिक्षण जागरूक बन्न सक्ने ज्ञान अध्यात्मले दिन सक्ने भएको हुँदा अध्यात्म एआईभन्दा बढी आधुनिक छ ।
अध्यात्म कुनै काम, क्षेत्र, विषय र विषयता होइन, मानव जीवनको आधार हो, किनकि अध्यात्मले मानिसलाई आत्मज्ञानी अर्थात् मानिसभित्र हुने विवेकसँग जोडिदिन्छ । झट्ट सुन्दा अध्यात्म एउटा क्षेत्रको र एआई प्रविधि अर्को क्षेत्रको जस्तो बुझिन्छ । यो दृष्टिकोणबाट क्षेत्र विभाजन गर्ने हो भने अध्यात्मले राजनीतिक मुद्दामा कस्तो पहुँच हुनुपर्छ लगायतका उपक्षेत्रमा सरोकार राख्ने देखिन्छ र एआई प्रविधिको पनि उपक्षेत्र अरू भेटिन्छन् । तर यी सबै क्षेत्रको केन्द्रमा छ मानिस । त्यही मानिसलाई जान्नेलाई अध्यात्म भनिन्छ । बाहिरी क्षेत्र जान्नेलाई अविद्या भनिन्छ भने ती बाहिरी क्षेत्रको बीचमा उभिने मानिस जान्नेलाई विद्या भनिन्छ ।
अध्यात्म किताबी कुरा होइन, व्यक्तिले वर्तमानमा जान्नुपर्ने कुरा हो । जीवनले पल–पल निर्णय लिनुपर्ने हुन्छ । तृष्णा वा वितृष्णा जाग्यो भने किन जाग्यो भन्ने तत्काल जानेर उचित निर्णय लिनुपर्ने हुन्छ । एआई बाहिरको जिपिएस हो भने अध्यात्म भित्री जिपिएस हो । भित्री कुराले बाहिरी कुरा डो¥याएको हुन्छ । मुख्य कुरा भित्री हो, त्यसपछि बाहिरी । आत्मज्ञान कम हुनेले आत्मविश्वासको भरमा प्रविधि प्रयोग गर्ने निर्णय गर्छ । आत्मविश्वास घातक हुन्छ । मानिस आज जिउँदो छ भने अहिले नै निर्णय गर्न अध्यात्म चाहिन्छ, दिनभर जे कर्म गरिन्छ त्यही अध्यात्म हो भन्दछन् आचार्य प्रशान्त ।
प्रविधि एक–दुई दिन वा महिना वा वर्षअघिको हुन सक्छ तर अध्यात्म त अहिले वर्तमान क्षणमा हुन्छ भन्ने तर्क छ उनको । गहिरिएर विश्लेषण गर्ने हो भने एआई प्रविधि अध्यात्मकै उपज हो भन्ने देखिन्छ, किनकि अध्यात्मले काम गर्ने विषय चेतना हो । उन्नत चेतनाले नै एआई प्रविधि निर्माण गरेको हो । सांसारिक व्यक्तिले मात्र उपयोग गर्ने हो एआई प्रविधि, अध्यात्म वैरागी र सन्न्यासीको लागि मात्र हो भन्ने भ्रम छ समाजमा । अध्यात्म भनेको एक विशेष पृथक गतिविधि हो भन्ने बनाइँदा अध्यात्म एकातर्फ, जीवन अर्कोतर्फ हो कि भन्ने भ्रम सिर्जना भयो ।
अध्यात्मलाई गणित र समाजशास्त्रजस्तो बनाइयो । यसले गर्दा जीवन जस्तो चलेको छ चलोस्, अध्यात्म एउटा नयाँ विषय हो, त्यसमा पारंगत हुन आध्यात्मिक ग्रन्थ पढ्ने, केही प्रक्रिया पूरा गर्न अभ्यास गर्ने भन्नेमा सीमित गरियो । दिनभर जे कर्म गरिन्छ त्यही अध्यात्म हो भनिएन । दैनिक जीवनको कुरा गर्न वर्जित गरियो र अध्यात्ममा भ्रम सिर्जना भयो । एक घण्टा घरमा ध्यान गर्ने, कार्यस्थलमा अक्षमता प्रदर्शित गर्ने पनि आध्यात्मिक कहलिने स्थिति बन्यो । उसको घरमा के भइरहेको छ, परिवार तथा बालबच्चादेखि छिमेकी समेतसँग कस्तो सम्बन्ध छ, पेसा व्यवसाय के–कसरी कुन हालतमा गरेको छ भन्नेतर्फ ध्यान नदिने, फलानो क्रिया यति पटक गरिस कि गरिनस् भन्नेतिर सरोकार राख्ने बनाइयो अध्यात्म ।
यो अध्यात्मप्रतिको बेइमानी हो भन्ने दाबी गर्छन् प्रशान्त । पदार्थको हिसाबले आत्मा स्वयं केही होइन । अध्यात्मको लक्ष्य हो अहंकारको कब्जाबाट मुक्ति । अहंकारले हामीलाई बाहिर र भित्र दुवैतिरबाट पक्रेको छ । आँखा, नाक, हृदय सबैतिर जकडिएको अहंकारबाट मुक्त हुनु आत्मस्थ हुनु हो । एकपटक मुक्त भएपछि सधैँलाई भइन्छ भन्ने हुँदैन, किनकि अहंकार शरीरको उत्पादन हो । एकपटक मेटाए पनि शरीर रहेसम्म दोहोरिएर आउँछ । त्यसकारण अध्यात्मलाई एक जीवन्त प्रक्रियाको रूपमा अपनाएर पूरै जीवन दिनुपर्छ ।
मानिसको मन शान्त बनाउन धर्मको उत्पत्ति भएको हो । अध्यात्म र विज्ञान धर्मका दुई शाखा हुन् । अध्यात्म भित्री जगत्को विज्ञान हो । भौतिक विज्ञान बाहिरी ब्रह्माण्डका पदार्थहरूको खोजबिन र अनुसन्धान गर्छ । भित्री जगत्को कुरामा विज्ञान मौन बस्छ, स्वीकार वा अस्वीकार गर्दैन । धर्मले विज्ञानका सबै कुरा स्वीकार्छ । अध्यात्म भित्री जगत्मा बढी केन्द्रित रहेर बाहिरी जगत्को पनि सुपरिवेक्षण गर्दछ । मानिसलाई आध्यात्मिक र भौतिक दुवै ज्ञान चाहिन्छ । आध्यात्मिक ज्ञानले विवेक दिन्छ, विज्ञानले सूचना र सुविधा । सूचना र सुविधा नयाँ–पुराना हुन सक्छन् । विवेक हर क्षण अद्यावधिक रहने हुनाले तात्कालिक र सदा आधुनिक हुन्छ । तसर्थ, एआई प्रविधिभन्दा बढी आधुनिक हुन्छ अध्यात्म ।
प्रतिक्रिया