रास्वपा महाधिवेशन र गगन अभिव्यक्ति

एउटा संशय थियो – गगन थापा चितवन जान्छन् कि जाँदैनन् । त्यही संशय चिर्दै अतिथि भएर कांग्रेस सभापति थापा चितवन गए । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा आफ्नो र पार्टीको धारण राखेर काठमाडौँ फर्किए । उनी काठमाडौँबाट चितवन गएनन् मात्रै उनले रास्वपा महाधिवेशन जुन मत राखे त्यसले नेपाली राजनीतिमा एउटा ऐतिहासिक घटनाको आकार ग्रहण गर्ने छ । चितवनको सहिद भूमिमा उभिएर गगनले गगनभेदी स्वरमा भने ‘कृपया ३५ वर्षमा केही भएन नभन्दिनु होला !’ औसत बुझाइमा यो सामान्य तर्क हो, जुन हामीले धेरै गरेका छौँ । हामीले बुझ्ने औसत बुझाइ पनि यही हो । उनले ३५ वर्षमा यो भयो, त्यो भयो भनेनन्, एक वाक्यांशमा सके, ‘गर्नुपर्ने जति सकेनौँ तर धेरै भएको छ ।’

गगनको यो भनाइमा तथ्य छ, ३५ वर्षमा धेरै गर्न सकिन्थ्यो तर गर्न सकिएन । खुल्ला मञ्च र सार्वजनिक ठाउँमा उभिएर आफ्नाहरूले र आफूले गरेको गल्ती स्वीकार्न सक्ने सामथ्र्य औसत मानिसमा हुँदैन । गगन औसत मानिसभन्दा भिन्न छन् । जो उनले रास्वपा महाधिवेशनमा राखेको अभिव्यक्तिले पुनः एकपटक प्रमाणित गरिदिएको छ । गगनले कर्म गरे तर कर्मको फल प्राप्त गर्न सकेनन् , सकेका छैनन् । यो मानेमा उनी अभागी हुन । तर सम्भावनाका ढोका कहिल्यै बन्द हुँदैन भन्ने संकेत उनको अभिव्यक्तिले गरेको छ । गगनको गर्बिलो आग्रहले भन्छ, ‘पर्खिनु पर्छ, समय आउँछ, छोटै समयमा तपाईंहरूले प्राप्त गर्नुभयो, हामीले बाँकी छ ।’

गगनले जति बोले प्रत्येक घटना अन्तर्यका शब्द बोले । उनले रास्वपा नेतृत्वलाई ऐतिहासिक जिम्मेवारी त्यसरी बोध गराए कोही कसैले इतिहासलाई किमार्थ कमजोर आँक्न मिल्दैन । ‘तपाईंहरूले चितवनलाई नै निलो बनाउनुभयो, त्यो रास्वपाको अधिकार हो’ अघिकार कसरी प्राप्त भयो त्यो पनि गगनले बुझाए, जहाँबाट रास्वपा पछि फर्कन सक्दैन । व्यवस्था परिवर्तनको पक्षमा लामबद्ध मानिसलाई छपछप काटेर चितवनको भूमिमा पञ्चायतले गाडेको रास्वपाका केही कसैले नसुनेको भए सुन्ने मात्रै होइन, बुझ्ने अवसर पनि पाए । त्यो बुझाइले रास्वपाको आन्तरिक जीवनमा नयाँपन भिœयाउने छ । विगतमा यसो भयो, उसो भयो भन्नुले केही अर्थ राख्दैन भन्ने ठुलो पंक्ति रास्वपामा छ । त्यो पंक्तिलाई स्पोर्टमा बुझाउने तागत आफू र कांग्रेससँग भएको गगनले सिद्ध गरिदिए । उनले निलो प्रशंसामा रातो रगतको सम्मान गरे । र, बुझाए देशका लागि बगेको रगतको सम्मान गर्न सकिएन भने आवरणमा गरिएका रंगरोगन चर्मचक्षु आँखाको प्यास मेटाउने सजावटमा सीमित हुन्छ ।

गगन चितवन नगएको भए नेपाली राजनीतिमा थुप्रै सुप्त प्रश्न सलबलाइ रहन्थे । सबैभन्दा बढी त गगनले संसद्मा बोलेको प्रमाणको प्रसंग गगन–रविको जीवन पर्यन्त रहन्थ्यो । त्यो प्रमाणको प्रसंग धुजाधुजा भएर च्यातियो । यो च्यात्न तागत चाहिथ्यो । गगनले हिम्मत गरे । रवि र गगनले ऐतिहासिक साइत जुराएर च्याते । रास्वपा महाधिवेशन स्थलमा गगन प्रवेश गर्दा सबैलाई लागेको थियोे उनी कमजोर बनेर फर्कने छन् । तर, त्यो केही मिनेट पनि टिकेन । गगन शक्तिशाली बनेर मञ्चबाट उत्रिए । गगनले नेपाली राजनीतिका धेरै पाटा क्षणभरमा खोलिदिए । गगनको चितवन अभिव्यक्तिबाट कांग्रेस भित्रको हिजोको आन्तरिक संघर्षको जालो मात्रै उदांगो भएन वर्तमानको वास्तविकता पनि खुल्यो । कांग्रेसको भावी योजना र लक्ष्य पनि स्पष्ट पारिदियो ।

आलोचना र समर्थनका आआफ्नै नियम, परिधि र सीमा हुन्छन् । त्यो सर्वज्ञका लागि हुन् । यति भन्न कुनै साइत पर्खन पर्दैन – गगनको चितवन अभिव्यक्ति नेपाली राजनीतिमा निकै अर्थपूर्ण र परिपक्व कदम हो । विशेष गरी नयाँ र पुराना दलहरूबीच तीव्र ध्रुवीकरण र तिक्तता बढिरहेका बेला प्रमुख प्रतिपक्षी दलका सभापतिले नयाँ दलको महाधिवेशनको मञ्चमा उभिएर गरेको आत्मसमीक्षा र सुझावलाई अर्थपूर्ण रूपमा हेरिनु सान्दर्भिक हुन्छ । गगन अभिव्यक्तिको ‘बा’ र ‘भगवान्’ संस्कृतिको आलोचना र आत्मसमीक्षा शक्तिशाली पाटो हो । स्थापित दलहरू भित्रको व्यक्तिपूजा र ‘बा’ संस्कृतिको आलोचनाको प्रसंगले गगनलाई छुट्टै कित्तामा उभ्याइदिएको छ । गगन अभिव्यक्तिको यो वाक्यांश ‘हामीले आफ्ना पार्टीका नेताहरूलाई भगवान् बनायौँ, उहाँहरूलाई ‘बा’ बनाएर गल्ती ग¥यौँ, तपाईंहरू त्यो गल्ती नदोहो¥याउनुहोस् ।’ यो त्यस्तो आत्मसमीक्षा हो, जो स्पष्ट लक्ष्यमा अघि बढेका मानिसले मात्रै गर्न सक्छ । अक्सर मानिसको दिमागले यो सोच्दैन र बोल्न आँट नै गर्दैन ।

गगनको चितवन अभिव्यक्ति नेपाली राजनीतिको एउटा साहसिक आत्मस्वीकारोक्ति पनि हो । कांग्रेसभित्रै पनि नेतृत्वलाई अन्धभक्तिका साथ स्वीकार्ने प्रवृत्तिको निरन्तर विरोध गरेका गगनले रास्वपाका कार्यकर्तालाई आफ्नै नेतृत्वमाथि निरन्तर प्रश्न उठाउन प्रेरित गर्नु अनुभवको उपलब्धि पनि हो । गगनको यो तर्कले राजनीतिमा अन्धभक्त होइन, सचेत नागरिक र कार्यकर्ता आवश्यक पर्छ भन्ने सन्देश दिएको छ ।

गगनको चितवन अभिव्यक्तिले यसबाहेक थुप्रै सन्देश दिएको छ । त्यो मनन गर्ने, नगर्ने, बुझ्ने, नबुझ्ने आआफ्नो दृष्टिले तय गर्ने विषय हो । तर सत्यचाहिँ जनमतको सदुपयोग र शक्ति सन्तुलनको चेत नै हो । पुराना दलहरूले विगतमा बहुमत पाएर पनि आन्तरिक कलह, अहंकार र शक्तिको दुरुपयोगका कारण जनताको विश्वास गुमाएको कुरा कहीँकतै छुपेको छैन । जो गगनले सतहमा ढोलिदिए, यो साहस हो । जसले उनको आगामी मार्ग स्पष्ट रहेको संकेत गरेको छ । गगनको अभिव्यक्ति जनमतको सीमितताको बोधको नमुना पनि हो । जनमतले शक्ति त दिन्छ, तर शक्तिको पनि आफ्नै सीमा हुन्छ भन्ने कुरा नयाँ दलले बुझ्नुपर्ने सुझाव मात्रै गगनको अभिव्यक्तिको सार होइन, विगत र भविष्यको स्पष्ट राजनीति खाका पनि हो ।

कांग्रेस पटकपटक दुर्घटना बेहोरेको पार्टी हो । गगनले त्यो दुर्घटनाबाट जोगिने सुझाव पनि रास्वपालाई दिएका छन् । परम्परागत दलहरू जस्तै गल्ती दोहो¥याए रास्वपा पनि त्यस्तै राजनीतिक दुर्घटनामा पर्न सक्छ भनेर समयमा नै सचेत गराउनुलाई राजनीतिक वृत्तमा सकारात्मक र रचनात्मक राजनीतिक अभिभावकत्वको रूपमा लिइनु उपयुक्त हुन्छ । नेपाली राजनीतिमा लास र दासको प्रसंग जोडर गगनले पार्टीभित्र प्रश्न सोध्ने संस्कृतिको अभाव हुनु नै लोकतन्त्र कमजोर हुनु हो भन्ने मत राखेका छन्, जुन सन्देशका लागि होइन, सुधारका हो । त्यो सबैका लागि ग्रहण योग्य छ । कांग्रेस लास र दासहरूको पार्टी होइन भनेर आफूहरूले समयमै भन्न नसक्दा आज सजाय भोग्नुपरेको गगनले उप्काएको प्रसंगले तथ्यको बोध मात्रै होइन आत्मसमीक्षाको पटाक्षेप पनि गरेको छ । गगनको यस तर्कले रास्वपालाई मात्र होइन, कांग्रेस, एमाले, नेकपा जस्ता स्थापित दलहरू भित्रको आन्तरिक लोकतन्त्रको खस्कँदो अवस्थाप्रति खुलेर प्रहार पनि गरेको छ ।

यतिबेला नेपाली राजनीतिमा यसको बहुआयामिक प्रभाव छ । केही समययता पुराना दल र नयाँ शक्ति बीच कित्ताकाट गर्ने प्रयास पनि भइरहेका छन् । अहिले रास्वपा र बालेन शाहबीच पनि कहीँ न कहीँ बेमेलको स्थिति छ भनेर सुप्त प्रचार पनि गरिँदै थियोे । तँ–तँ र म–म को स्थितिमा पु¥याउन सकिन्छ कि भनेर त्यसो गरिएको हो भनेर अड्कल लगाउँदा उति साह्रो फरक पर्दैन । तर, त्यही बेला प्रमुख विपक्षी कांग्रेस सभापति गगनले रास्वपा महाधिवेशनकै मञ्चबाट सौहार्दपूर्ण रूपमा शुभकामना र सुझाव दिनुले नेपाली राजनीतिमा प्रतिस्पर्धाका बीच पनि लोकतान्त्रिक सहकार्य र विमर्शको वातावरण कायमै छ भन्ने बलियो सन्देश दिएको छ । गगनको अभिव्यक्ति बदलिँदो राजनीतिक भाष्यलाई चिर्न सफल भएको छ । गगनको यो अभिव्यक्तिले आगामी दिनमा कार्यकर्ता र जनतालाई आफ्ना नेताहरूसँग प्रश्न सोध्ने र जबाफदेही बनाउने एउटा नयाँ वैचारिक बहसको सुरुआत गरिदिएको छ ।

समग्रमा गगनको चितवन अभिव्यक्ति आफ्नो गल्ती स्वीकार्दै नयाँ पुस्तालाई सच्चिएर अघि बढ्न प्रेरित गर्ने एउटा परिपक्व, सन्तुलित र रूपान्तरणकारी राजनीतिक सम्बोधनका रूपमा हेरिनु उपयुक्त हुन्छ । यसले राजनीतिक विकासक्रम र नेपाली कांग्रेसलाई थप बुझ्न सहयोग गरेको छ । नेपाली राजनीतिमा गगन र कांग्रेस उपसभापति विश्वप्रकाश शर्मालगायत युवा नेतृत्वको भूमिका र समकालीन राजनीतिक सन्दर्भलाई स्पष्ट पार्न दह्रो मद्दत पनि गरेको छ ।

गगनको चितवन सम्बोधनलाई लिएर तत्काल सकारात्मक प्रतिक्रिया आएका छन् । सँगै नेपाली राजनीतिक वृत्त, सञ्चारमाध्यम र विश्लेषकहरूले यसका थप आयाम, अन्तर्य र सम्भावित असरहरूमाथि गहन टिप्पणी गर्ने वातावरण निर्माण गरिदिएको छ । यो सम्बोधनले सतहभन्दा कांग्रेसभित्रको आन्तरिक तरंग र असन्तुष्टिलाई पनि उजागर गरिदिएको छ । आफ्नो पार्टीको कमजोरीलाई यसरी खुला रूपमा स्वीकार गर्नुले सबैखाले बहसलाई एकसाथ सतहमा पनि ल्याइदिएको छ । कांग्रेस सभापति गगनले रास्वपाको मञ्चमा उभिएर आफ्नै पार्टीको विगतलाई संकेत गर्दै गरेको आत्मसमीक्षालाई कांग्रेसभित्रकै संस्थापन इतर पक्षले सहज रूपमा स्वीकार्ने देखिँदैन । यसले गगन थप आन्तरिक जोखिम मल्न तयार रहेको स्पष्ट पारिदिएको छ ।

प्रतिस्पर्धी पार्टीको महाधिवेशनमा गएर आफ्नै पार्टीको विगतको यसरी आलोचना गर्दा कार्यकर्ताको मनोबल गिर्ने तर्क पनि सुरु भएकै छ । तर, त्यो झिनो हुने देखिन्छ । गगनको अभिव्यक्तिले यो भावी राजनीतिक समीकरणको रणनीतिक चाल हो कि भन्ने अनुमान र अड्कल गर्न प्रशस्त ठाउँ छोडिदिएको छ । यो चाहिँ गगन अभिव्यक्तिको खास अन्तर्य हो । यो अभिव्यक्तिलाई केवल नैतिक उपदेशमा मात्र लिइनु हुँदैन । यसको पछाडि दूरगामी राजनीतिक रणनीति छ कि छैन भनेर खोज्न सक्नुपर्छ । रूपान्तरित कांग्रेस र रास्वपा दुवैको मुख्य भोट बैंक युवा, शिक्षित र सहरी क्षेत्रकै मतदाता हुन् । गगनको अभिव्यक्ति रास्वपासँग शत्रुतापूर्ण सम्बन्ध राख्नुभन्दा सौहार्दपूर्ण सम्बन्ध बनाएर भविष्यमा सहकार्यको ढोका खोल्ने एउटा रणनीतिक प्रयास हुन सक्छ ।

आमनागरिक र सामाजिक सञ्जालमा गगनको सम्बोधनलाई लिएर रुखा टिप्पणीहरू नआएका पनि होइनन् । कतिपयले भाषण र व्यवहार बीचको विरोधाभासको रूपमा नअथ्र्याउलान् पनि भन्न सकिन्न । गगनको अभिव्यक्तिलाई कांग्रेसभित्रको आन्तरिक शक्ति टकरावको प्रकटीकरणका कोणबाट पनि हेर्न सकिन्छ । यो अभिव्यक्ति कतिपय विषयलाई लिएर गगनको सदाबहार लोकरिझ्याइँ र उत्कृष्ट भाषण कलाको अर्को एउटा नमुना रूपमा टिप्पणी पनि गर्न सुरु भएको छ । नीति र सिद्धान्तमा गगनले उठाएका विषय सही हुँदाहुँदै पनि काग्रेस भित्रको बेथिति र भागबन्डाको राजनीतिलाई पनि टेवा पुग्ने दह्रो संकेत गरेको छ । गगनको अभिव्यक्ति कांग्रेससँगै रास्वपाका लागि ऐना र चुनौती दुबै बनेको छ ।

गगनको यो अभिव्यक्तिले रास्वपाका नेता, कार्यकर्तालाई एउटा ठुलो ऐना देखाइदिएको छ । रास्वपा भित्रको व्यक्ति पूजा र अन्धभक्तिलाई दह्रो झापड हानेको छ । गगनको अभिव्यक्ति आफ्नालाई प्रश्न नसोध्ने रास्वपाका नेता, कार्यकर्ताका लागि आत्मसमीक्षा गर्ने बलियो अवसर र चुनौती दुवै बनेको छ । निष्कर्षमा भन्नुपर्दा गगनको अभिव्यक्तिले नेपाली राजनीतिमा प्रतिस्पर्धी दलहरूबीच हुनुपर्ने स्वस्थ वैचारिक संवादको सुरुआत छ ।

प्रतिक्रिया