वार्षिक ४ अर्बको छुर्पी निर्यात गर्ने कोसी प्रदेशले सुरु गरेको पशु पोषण अडिट कार्यक्रम अन्तर्राष्ट्रिय बजारमा नेपाली दुग्धजन्य उत्पादनको गुणस्तर र खाद्य सुरक्षा सुनिश्चित गर्दै ‘एक स्वास्थ्य’ अवधारणा र मुलुकको पोषण सुरक्षा सुदृढ बनाउने एक कोशेढुंगा हो

नेपालको छुर्पी उद्योग अहिले विश्व बजारमा तीव्र गतिमा विस्तार भइरहेको छ । विशेष गरी विकसित मुलुकहरूमा कुकुरको ‘च्युइङ फुड’ का रूपमा नेपाली छुर्पीको माग उल्लेखनीय रूपमा बढ्दो छ । तर, अन्तर्राष्ट्रिय बजारको प्रतिस्पर्धामा टिकिरहन केवल उत्पादनको परिमाण बढाएर मात्र पुग्दैन, यसको गुणस्तर र खाद्य सुरक्षासमेत सुनिश्चित गर्नु अपरिहार्य हुन्छ । छुर्पीको गुणस्तर प्रत्यक्ष रूपमा दूधको शुद्धता र गुणस्तरमा निर्भर हुन्छ भने दूधको गुणस्तर पशुको स्वास्थ्य र सन्तुलित आहारमा आधारित हुन्छ । त्यसैले, उच्च गुणस्तरीय छुर्पी उत्पादनको मुख्य आधार नै पशु पोषण अडिट हो । यदि किसानले वैज्ञानिक पोषण व्यवस्थापन प्रणाली अपनाउने हो भने दूधमा प्रोटिन तथा ठोस पदार्थको मात्रा बढ्छ । यसले अन्ततः छुर्पी उत्पादनको उत्पादकत्व बढाउनुका साथै यसको अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल गुणस्तर सुधारमा समेत प्रत्यक्ष मद्दत पु¥याउँछ ।
हाल कोसी प्रदेशबाट मात्रै वार्षिक करिब ४ अर्ब रुपैयाँ बराबरको छुर्पी निर्यात हुने गरेको तथ्यांक छ । यस क्षेत्रमा ‘खोरेत रोग नियन्त्रण आयोजना’ प्रभावकारी रूपमा कार्यान्वयनमा रहेकाले अन्तर्राष्ट्रिय बजारमा नेपाली दुग्धजन्य उत्पादनको पहुँच र विश्वसनीयता अझ सुदृढ हुने प्रवल सम्भावना सिर्जना भएको छ । पशु पोषणको चर्चा गर्दा केवल उत्पादन वृद्धि र आर्थिक लाभलाई मात्र केन्द्रमा राखेर पुग्दैन । आज विश्वभर ‘एक स्वास्थ्य’ अवधारणाले विशेष महत्व पाइरहेको छ । यस अवधारणाले पशु स्वास्थ्य, मानव स्वास्थ्य र वातावरणीय स्वास्थ्यलाई परिपूरकका रूपमा एकै दृष्टिकोणबाट हेर्ने गर्छ ।
मानिसले दैनिक उपभोग गर्ने दूध, मासु, अन्डा तथा माछाको पोषणयुक्त गुणस्तर पशुको आहार र पोषण अवस्थासँग प्रत्यक्ष रूपमा जोडिएको हुन्छ । यदि पशुले पर्याप्त मात्रामा प्रोटिन, खनिज पदार्थ तथा आवश्यक भिटामिन प्राप्त गरेको छ भने त्यसबाट उत्पादित खाद्य पदार्थको गुणस्तर स्वतः उच्च हुन्छ । यसको प्रत्यक्ष सकारात्मक लाभ मानव स्वास्थ्य, विशेष गरी बालबालिकाको शारीरिक एवं मानसिक वृद्धि विकास, महिलाको स्वास्थ्य तथा समग्र राष्ट्रको पोषण सुरक्षामा पुग्छ । नेपालमा पशुपालन व्यवसायमा कुल उत्पादन लागतको करिब ७० प्रतिशत हिस्सा आहारामा खर्च हुन्छ । यति ठुलो लगानी हुने क्षेत्रको गुणस्तर वैज्ञानिक रूपमा परीक्षण नहुनु ठुलो कमजोरी हो । अधिकांश किसानले अझै पनि परम्परागत अनुभवका आधारमा पशुलाई दाना तथा घाँस खुवाउने गरेका छन् । पशुले पेट भरेको देखिए पनि आवश्यक प्रोटिन, ऊर्जा, खनिज तथा भिटामिन प्राप्त गरेको छ वा छैन भन्ने प्रश्नको उत्तर प्रायः उपलब्ध हुँदैन ।
गाईभैँसी, बाख्रा, भेडा, सुँगुर, कुखुरा तथा माछाको पोषण आवश्यकता उमेर, तौल, उत्पादन अवस्था तथा वातावरणअनुसार फरक हुन्छ । दुधालु गाईलाई आवश्यक पर्ने पोषण र थारो पशुलाई आवश्यक पर्ने पोषण एउटै हुन सक्दैन । त्यस्तै उच्च उत्पादन दिने पशुलाई कम गुणस्तरको आहारा खुवाउँदा अपेक्षित उत्पादन प्राप्त हुँदैन । यसको प्रत्यक्ष असर दूध उत्पादन, प्रजनन क्षमता, वृद्धि दर, रोग प्रतिरोधात्मक क्षमता तथा आर्थिक नाफामा पर्दछ । नेपालमा अझै पनि कुपोषण, रक्तअल्पता तथा सूक्ष्म पोषक तत्वको कमी प्रमुख जनस्वास्थ्य चुनौतीका रूपमा छन् । यस्तो अवस्थामा पशुजन्य खाद्य पदार्थको गुणस्तर र उत्पादनमा सुधार ल्याउनु नै मुलुकको पोषण सुरक्षाको एउटा दूरगामी र महत्वपूर्ण रणनीति बन्न सक्छ ।
नेपालका हिमाली तथा उच्च पहाडी क्षेत्रमा रहेका खर्कहरू पशु पोषणका प्राकृतिक र मुख्य आधार हुन् । याक, चौँरी, भेडा तथा च्यांग्रापालनजस्ता रैथाने पशु उत्पादन प्रणाली यिनै प्राकृतिक चरन क्षेत्रहरूमा आधारित छन् । तर, पछिल्लो समय जलवायु परिवर्तनको असर, अव्यवस्थित चरिचरन, डढेलो तथा मिचाहा वनस्पतिहरूको तीव्र विस्तारका कारण यी खर्कहरूको उत्पादकत्व र घाँसको गुणस्तर दिनानुदिन घट्दै गएको छ । यस समस्याको समाधानका लागि पशु पोषण अडिटलाई खर्क व्यवस्थापनसँग प्रत्यक्ष रूपमा जोड्न आवश्यक छ । खर्कमा उपलब्ध रैथाने घाँस तथा वनस्पतिहरूको नियमित पोषण विश्लेषण गरेर कुन क्षेत्रमा, कुन मौसममा कस्तो पोषक तत्व उपलब्ध छ भन्ने तथ्यगत र वैज्ञानिक आधार तयार पार्न सकिन्छ । यस्तो वैज्ञानिक आँकडाले व्यवस्थित चरन प्रणाली लागू गर्न, हिउँदका लागि ‘फोडर बैंक’ (घाँस बैंक) स्थापना गर्न, मिनरल सप्लिमेन्टको सही प्रयोग गर्न तथा पूरक आहार कार्यक्रमहरूलाई प्रभावकारी बनाउन मार्गप्रशस्त गर्छ ।
नीतिगत आवश्यकता र प्रादेशिक प्रयास
नेपालमा हाल ११८ भन्दा बढी पशुखाद्य (दाना) उद्योगहरू सञ्चालनमा छन् । तर, दाना उत्पादनका लागि आवश्यक पर्ने मकै, भटमासको पिनाजस्ता मुख्य कच्चा पदार्थको ठुलो हिस्सा अझै पनि विदेशबाट आयात गर्नुपर्ने बाध्यता छ । यस्तो परनिर्भरता कम गर्न स्थानीय स्रोत र प्रविधिमा आधारित पशु पोषण व्यवस्थापनलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्छ । पशु पोषण अडिटलाई स्थानीय तहसम्म विस्तार गरी प्रत्येक व्यावसायिक फार्ममा ‘पशु पोषण प्रोफाइल’ तयार गर्ने कानुनी तथा नीतिगत व्यवस्था गर्नुपर्छ । यसका लागि राष्ट्रिय पशु आहारा तथा लाइभस्टक गुण व्यवस्थापन प्रयोगशालासँग समन्वय गरी स्थानीय स्तरमै नियमित आहारा परीक्षण सेवा उपलब्ध गराउनुपर्छ । साथै, डिजिटल प्रविधिको विकास गरी किसानले मोबाइल एपमार्फत् आफ्ना पशुको पोषण र सन्तुलित आहारसम्बन्धी परामर्श तत्कालै पाउन सक्ने प्रणाली स्थापना गर्न आवश्यक देखिन्छ ।
यसै सन्दर्भमा उद्योग, कृषि तथा सहकारी मन्त्रालय, कोसी प्रदेशले आर्थिक वर्ष २०८२÷८३ देखि पशु आहारा, साइलेज, दाना तथा फिड सप्लिमेन्टहरूको गुणस्तर परीक्षण कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । यस कार्यक्रमअन्तर्गत प्रदेशका विभिन्न जिल्लाहरू (जस्तै– धनकुटा, इलाम, ताप्लेजुङ, सुनसरी र मोरङ) बाट नमुना संकलन गरी प्रयोगशालामा परीक्षण गर्ने कार्य भइरहेको छ । पशु आहाराको पोषण मूल्य, स्वच्छता र गुणस्तर सुनिश्चित गर्ने उद्देश्यले सुरु गरिएको यो पहल सुरक्षित दूध, मासु तथा निर्यातयोग्य दुग्धजन्य पदार्थ प्रवद्र्धनतर्फ एउटा कोशेढुंगा सावित हुनेछ ।
यसै योजनालाई थप मूर्त रूप दिन आगामी आर्थिक वर्ष २०८३–८४ का लागि ‘पशु पोषण अडिट’ कार्यक्रम सञ्चालन गर्न विशेष बजेट विनियोजन गरिएको छ । यस अडिटले हाल उपलब्ध आहाराको स्रोत र पशुलाई आवश्यक पर्ने वास्तविक पोषणबीचको खाडल पहिचान गरी वैज्ञानिक सन्तुलित आहारा व्यवस्थापनमा प्रत्यक्ष सहयोग पु¥याउनेछ । पशु पोषण अडिटलाई देशव्यापी र प्रभावकारी कार्यान्वयन गर्न नेपाल कृषि अनुसन्धान परिषद्ले पनि पशु आहारा, चरन स्रोत, साइलेज, फिड एडिटिभ्स र स्थानीय स्रोतमा आधारित वैकल्पिक आहारासम्बन्धी व्यावहारिक अनुसन्धानलाई प्राथमिकता दिनुपर्छ । अनुसन्धानबाट प्राप्त नतिजाहरूलाई सरकारी नीति, प्रादेशिक कार्यक्रम र किसानको गोठसम्म पु¥याउन सकेमा पशुपालनको उत्पादन लागत घट्ने, उत्पादकत्व बढ्ने र अन्तर्राष्ट्रिय बजारले खोजेको गुणस्तरीय छुर्पी तथा दुग्धजन्य उत्पादन बढाउन ठुलो योगदान पुग्नेछ ।
निष्कर्ष
पशुपालनको दिगो भविष्य केवल पशुको संख्या बढाउनुभन्दा उपलब्ध स्रोतहरूको वैज्ञानिक र प्रभावकारी उपयोगमार्फत गुणस्तरीय उत्पादन वृद्धि गर्नुमा निर्भर छ । सुरक्षित, सन्तुलित र गुणस्तरीय आहाराबिना दूध, मासु, अन्डा तथा छुर्पीजस्ता पशुजन्य उत्पादनको गुणस्तर सुनिश्चित गर्न सकिँदैन । पशु आहारा परीक्षणले आहारको पोषण मूल्य र सुरक्षा सुनिश्चित गर्छ भने पशु पोषण अडिटले उपलब्ध पोषण र पशुको आवश्यकताबीचको अन्तर पहिचान गरी उत्पादन, स्वास्थ्य र व्यावसायिक लाभप्रदता सुधार गर्न मद्दत गर्छ । नेपालजस्तो पशुपालनमा आधारित अर्थतन्त्रका लागि यी दुवै अभ्यास अब विकल्प होइनन्, अपरिहार्य आवश्यकता हुन् । वैज्ञानिक पशु पोषण व्यवस्थापन, नियमित आहारा परीक्षण र प्रभावकारी पोषण अडिटलाई संस्थागत गर्न सके सुरक्षित खाद्य उत्पादन, मानव पोषण सुरक्षा, दिगो पशुपालन र प्रतिस्पर्धी कृषि अर्थतन्त्र निर्माणमा महत्वपूर्ण योगदान पुग्नेछ ।
(बस्नेत कोसी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयका पशु पोषण विज्ञ तथा पशु विकास अधिकृत हुन् ।)
प्रतिक्रिया