ब्रिटिस काउन्सिलद्वारा उत्कृष्ट आइइएलटिएस साझेदार संस्थाहरू सम्मानित

काठमाडौं । ब्रिटिस काउन्सिल नेपालले काठमाडौंमा ‘आइइएलटिएस पार्टनर समिट २०२६’ सम्पन्न गरेको छ । उक्त विशेष समारोहमा सन् २०२५ अप्रिलदेखि २०२६ मार्चसम्मको अवधिमा भाषा परीक्षा दर्तामा उत्कृष्ट कार्य गर्ने नेपालका विभिन्न साझेदार संस्थाहरूलाई सम्मान गरिएको छ ।

नेपाली विद्यार्थी र पेशाकर्मीहरूलाई अन्तर्राष्ट्रिय शिक्षा, रोजगारी तथा आप्रवासनका अवसरहरूमा पहुँच पुर्‍याउन योगदान गर्ने संस्थाहरूलाई कदर गर्न यो कार्यक्रम आयोजना गरिएको हो ।

यस अवसरमा ब्रिटिस काउन्सिलले नेपालमा कम्प्युटरमा आधारित परीक्षा सेवा सुरु गर्ने घोषणा गरेको छ । अब परीक्षार्थीहरूका लागि कागजमा आधारित र कम्प्युटरमा आधारित दुवै विकल्प उपलब्ध हुने छन् ।

यो सेवाले तत्काल नतिजा प्रकाशन गर्न र परीक्षार्थीहरूका लागि थप सहजता प्रदान गर्न मद्दत पुर्‍याउने ब्रिटिस काउन्सिल नेपालकी परीक्षासम्बन्धी राष्ट्रिय निर्देशक प्रतिष्ठा थापा रायमाझीले बताइन् ।

यस वर्ष उत्कृष्ट प्रदर्शन गर्दै विभिन्न विधामा उपाधि चुम्न सफल भएका प्रमुख संस्थाहरूमा अर्बिट मेडिकल इन्ट्रान्स प्रालि (प्लेटिनम पार्टनर अवार्ड), एजुकेसनल कन्सल्टेन्सी एसोसिएसन अफ नेपाल – इक्यान (टप एसोसिएसन अवार्ड), केआइइसी लर्निङ सेन्टर प्रालि (गोल्ड अवार्ड) र द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी प्रालि (सिल्भर अवार्ड) रहेका छन् ।

त्यस्तै ब्रन्ज अवार्ड विधामा एक्स्पर्ट एजुकेसन एण्ड भिसा सर्भिसेस्, एइसीसी स्टडी अबोर्ड कन्सल्टेन्ट प्रालि, ए.ओ.पी ग्लोवल कन्सल्टेन्ट, आइइएलटिएस सेन्टर प्रालि र ब्रिज इन्टरनेसनल ग्रुप प्रालि सम्मानित भएका छन् ।

आफ्नो क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याएबापत प्रमाणपत्रसहित सम्मानित भएका क्षेत्रीय साझेदारहरूमा चितवन र हेटौडाका लागि द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी, घोराही र नेपालगञ्जका लागि एक्स्पर्ट एजुकेसन एण्ड भिसा सर्भिसेस् (दाङ), इटहरी र विराटनगरका लागि सुमेधा एजुकेसन नेटवर्क, बिर्तामोडका लागि बिर्तामोड एजुकेसन फाउन्डेसन तथा पोखराका लागि मिराकल इन्स्टिच्युट रहेका छन् ।

ब्रिटिस काउन्सिल नेपालका बिजनेस डेभलपमेन्ट प्रमुख सुदर्शन सुवेदीका अनुसार, आगामी दिनमा रोजगारदाता र अन्य संस्थाहरूका लागि अंग्रेजी भाषाको शिक्षण, सिकाइ र मूल्यांकन सेवा समेत उपलब्ध गराउने तयारी भइरहेको छ, जसले नेपाली जनशक्तिलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा बलियो बनाउन सहयोग गर्ने छ ।

विश्वव्यापी रूपमा १२ हजारभन्दा बढी संस्थाहरूले मान्यता दिएको यो भाषा दक्षता परीक्षा प्रणालीलाई ब्रिटिस काउन्सिल, आइडीपी र क्याम्ब्रिज एसेस्मेन्ट इङलिसले संयुक्त रूपमा सञ्चालन गर्दै आएका छन् ।

प्रतिक्रिया