पाल्पाबाट ६८ लाख केजी दालचिनी निर्यात

पाल्पा । जिल्लाबाट ६ वर्षको अवधिमा ६८ लाख किलोग्राम तेजपात र दालचिनीका बोक्रा निकासी भएको छ । डिभिजन वन कार्यालय पाल्पाका सूचना अधिकारी खिलबहादुर तामाङका अनुसार सो अवधिमा ६८ लाख ९ हजार ३७ किलोग्राम तेजपात र दालचिनीका बोक्रा निकासी भएको हो ।

उनका अनुसार चालु आर्थिक वर्षमा १२ लाख ८४ हजार ४८२ किलोग्राम तेजपात र ३ लाख ४७ हजार ९६९ किलोग्राम दालचिनीका बोक्रा भारत निकासी भएको छ । यस्तै आव २०८१÷०८२ मा ८ लाख ८१ हजार ७३१ किलोग्राम तेजपात र १ लाख २१ हजार १० किलोग्राम दालचिनीका बोक्रा निकासी भएको छ ।
पाल्पामा उत्पादित तेजपात र दालचिनीको प्रमुख बजार भनेको भारत हो । यसलाई भारतमा औद्योगिक कच्चा पदार्थ र मसलाजन्य बस्तुको रूपमा प्रयोग हुने गर्दछ । यहाँका कृषकले सामान्यतः तेजपात प्रतिकेजी ५० देखि ६० रुपैयाँ र बोक्रा दालचिनी प्रतिकेजी १०० रुपैयाँमा बिक्री गर्ने गर्दछन् ।

तेजपात र दालचिनी यहाँका नागरिकहरूको प्रमुख आम्दानीको माध्यम बनेको डिभिजन वन कार्यालयका प्रमुख मोहन श्रेष्ठले बताए । उनले भने ‘विपन्न वर्गका नागरिकहरूका लागि यो सहारा नै बनेको छ । यसको प्रभाव सकारात्मक परेका कारण प्रत्येक वर्ष बिरुवाको माग बढदो छ ।’ समुदायमा पुगेर आर्थिक क्षेत्रमा यसको महŒव, नर्सरी स्थापनादेखि भण्डारण, बजारीकरण, कृषकलाई तालिम दिँदै आएको डिभिजन प्रमुख श्रेष्ठको भनाइ छ । वैदेशिक रोजगारमा जान चाहने युवाहरूसमेत अहिले दालचिनी व्यवसायिक खेतीतर्फ लागेका छन् ।

घरमै पुग्छन् स्थानीय व्यापारी

स्थानीय व्यापारी बोक्रा र पात खरिद गर्न घर–घरसम्म आइपुग्छन् । पछिल्लो समयमा दालचिनीको पातबाट किसानले ६० रुपैयाँ र बोक्राबाट ११५ रुपैयाँसम्म गाउँमै पाउने गरेका छन् । गोदाम रहेको स्थानसम्म लग्ने हो भने १०–१५ रुपैयाँ बढी मूल्य पाउँछन् । त्यहाँ तोकिएको मूल्यअनुसार तौलेर ल्याएको दालचिनी ठुला व्यापारीहरूले गोदाममार्फत भारत निकासी गर्दै आएका छन् ।

तेजपात दालचिनी व्यापारी लेखनाथ घिमिरेका अनुसार हाल कृषकको घरमै पुगेर दालचिनीको बोक्रा खरिद गर्ने गरिएको छ । परम्परादेखि नै हुने यहाँका ख¥यान, पाखोबारीका डिल तथा कान्लामा दालचिनीका बोट प्रशस्त छन् । सुरुमा आफैँ उम्रिएका केही दालचिनीका बिरुवालाई संरक्षण गर्दै किसानले बाँकी खाली जग्गामा पनि बिरुवा लगाएका हुन् । दालचिनी बोटका पात र बोक्रा प्रत्येक वर्ष असोजदेखि फागुनसम्म आफू अनुकूल काट्ने गरिन्छ ।

पाल्पाका धेरै किसानले दालचिनीको पात र बोक्रा बिक्री गरेर राम्रो आम्दानी गर्न सफल भएका छन् । भारत तथा अन्य मुलुकमा मसला, सुगान्धित तेल लगायतका विभिन्न किसिमका औषधि निर्माणको लागि कच्चा पदार्थको रूपमा प्रयोग हँुदै आएको दालचिनीखेती अहिले पाल्पामा व्यावसायिक रूपमा विस्तार हुँदै गएको छ । दालचिनी उत्पादनको क्षेत्रमा यातायातको सहज पहुँच पुगेपछि जिल्ला वन कार्यालय पाल्पाले बजार व्यवस्थापन, विरुवा वितरण, खेती विस्तार तथा प्रवद्र्धनका लागि क्षमता अभिवृद्धिका तालिमले कृषकलाई हौसल्ला बढाएपछि अहिले व्यावसायिक रूपमा दालचिनी खेती हुन थालेको हो ।

भान्साको ओखती दालचिनी

दालचिनीलाई दालचिनीबाहेक कतिपयले सुनकाउली, तेजपात भन्छन् । सामान्यतः दालचिनी हाम्रो भान्सामा सहजै उपलब्ध हुने मसला हो । मासु वा तरकारीको स्वाद बढाउन होस् वा चियाको, दालचिनी सबैमा उपयोगी हुन्छ । यसको स्वाद मिठो हुनुको साथै बास्नादार पनि हुन्छ । दालचिनीको उपयोगिता स्वाद बढाउनमा मात्र छैन, विभिन्न औषधीय गुणले भरिपूर्ण समेत छ । दालचिनी खासमा रुखको बोक्रा हो । तेजपत्ता भनेर चिनिने यसको पात पनि स्वादिलो र औषधीय गुणले भरिपूर्ण हुन्छ । दालचिनीमा भिटामिन ‘ए’, भिटामिन ‘बी’, क्याल्सियम, आइरन, म्याग्नेसियम र फाइबर हुन्छ । साथै, दालचिनीमा एन्टिफंगल, एन्टिब्याक्टेरियल, एन्टिअक्सिडेन्ट तŒवसमेत पाइन्छ । आयुर्वेद तथा वैकल्पिक चिकित्साका विभिन्न विधाहरूमा बढी प्रयोग हुने दालचिनी र तेजपत्ता मस्तिष्कको क्षमता बढाउन वा स्मरण शक्ति बलियो बनाउन उपयोगी मानिन्छ ।
१ हेक्टर क्षेत्रफलमा १ हजार ६०० बिरुवा लगाउन सकिने दालचिनीको स्थानीय तहमा प्रशोधन केन्द्र स्थापना गर्नतर्फ प्रदेश र संघीय सरकारले पहल गरेको खण्डमा वैदेशिक मुद्रा आर्जन गर्ने बलियो आधार बन्नुको साथै रोजगारीको अवसर सिर्जना हुने र स्वदेशी कच्चा पदार्थको प्रयोगको कारण उद्योग कलकारखाना फस्टाउने थियो ।

प्रतिक्रिया