
काठमाडाैं । प्रहरीले धनुषाको जनकपुर उपमहानगरपालिकामा पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । जनकपुर उपमहानगरपालिका– ९ थापा चोकस्थित एक होटलमा शंकास्पद रूपमा बसिरहेका दुई युवकलाई चेकजाँच गर्ने क्रममा स्वचालित पेस्तोल र पाँच राउन्ड गोलीसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएकाे छ ।
पक्राउ पर्नेहरूमा धनुषाकै मुखियापट्टी मुसहरनिया गाउँपालिका– ४ बस्ने २० वर्षीय अमन यादव र हंसपुर नगरपालिका– ६ सोनीगामा बस्ने १८ वर्षीय सुधिर मुखिया रहेका छन् ।
विशेष सूचनाकाे आधारमा खटिएको प्रहरी टोलीले उनीहरूको खानतलासी गर्दा साथबाट काठको बिँड जडान गरिएको ‘Eagle Raptor’ लेखिएको एक थान पेस्तोल र त्यसको म्यागजिन बरामद गरेको छ । यसका साथै प्रहरीले उनीहरूको खल्तीबाट ९ एमएमको एक राउन्ड र ७.६५ एमएमकेएफको चार राउन्ड गरी कुल पाँच राउन्ड गोली समेत बरामद गरेको छ ।
हतियारसहित समातिएका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय धनुषाको नियन्त्रणमा राखी हातहतियार तथा खरखजाना मुद्दा अन्तर्गत थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया