मोरङ कारागारका कैदीबन्दीकाे रकम असुलेको आरोपमा अभिषेक गिरी पक्राउ

विराटनगर । मोरङ कारागार विराटनगरमा रहेका कैदीबन्दीहरूलाई अनुचित प्रभावमा पारी अवैध रकम असुली गरेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगर महानगरपालिका–८ बस्ने ४८ वर्षीय अभिषेक गिरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले आज शनिबार बिहान १०ः५० बजे गिरीको घरमा रीतपूर्वक खानतलासी गरेको थियो । खानतलासी पश्चात् उनलाई आफ्नै घरबाट नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याएर आवश्यक अनुसन्धान कार्य भइरहेको सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।

कारागार प्रशासनले बुधबार, बिहीबार र शुक्रबार कैदीबन्दीलाई गर्मी भत्ताबापत २ हजार ५०० का दरले वितरण गरेको थियो । शुक्रबार ब्लक बीमा वितरण गरेको रकम भने कारागार भित्रैबाट गायब भएको पाइएको प्रहरीले जनाएको छ । कैदीबन्दीलाई वितरण गरेको केही घण्टापछि अनुगमन गर्दा उनीहरूको साथमा रकम नभेटिएपछि सोधीखोजी गर्दा विवादास्पद छविका गिरीको नाम जोडिएको बताइएको छ ।

विराटनगरमा गुण्डानाइकेको रुपमा परिचित गिरी पछिल्लो समय भने नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेको बुझिएको छ । शरीर बन्धक तथा अपहरण मुद्दामा ९ वर्ष कारागारमा हुँदा गिरी लामो समय मोरङ कारागारको चौकीदार रहेको बताइएको छ ।

कारागारभित्र रहँदा कैदीबन्दीमाथि दमन गरेको र आर्थिक शोषण गरेको आरोप उनीमाथि लाग्दै आएको थियो । कैद भुक्तान गरी निस्किएपछि पनि उनले कारागारको आन्तरिक व्यवस्थापनमा बाहिरैबाट हस्तक्षेप गर्ने गरेको आरोप थियो । तर, प्रमाण भेटिएपछि शनिबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया