
महोत्तरी । महोत्तरीमा घरेलु हिंसासम्बन्धी एक घटनामा महिलाको मृत्यु भएको १५ दिन नबित्दै भंगाहा नगरपालिका–३ मा अर्की एक महिलाको शंकास्पद मृत्युको घटना सार्वजनिक भएको छ । मृतकका माइती पक्षले दाइजोको निहुँमा हत्या गरिएको आरोप लगाएका छन् ।
भंगाहा नगरपालिका–३ स्थित महुवा टोलकी चाँदनी कुमारी सिंहको विवाह भएको एक वर्ष पनि नपुग्दै असार ३ गते मृत्यु भएको थियो । मृतकका परिवारका अनुसार चाँदनीलाई दाइजोको विषयमा पटक–पटक मानसिक तथा शारीरिक यातना दिइँदै आएको थियो ।
मृतकका बुबा रामपुजन सिंहले छोरीलाई सासु र ससुरा मिलेर हत्या गरेको आरोप लगाएका छन्। उनका अनुसार चाँदनीले पटक–पटक फोन गरेर दाइजोको विषयमा घरमा झगडा हुने गरेको जानकारी दिँदै आएकी थिइन् ।
‘छोरीले सासुसँग दाइजोको निहुँमा झगडा भइरहन्छ भनेर हामीलाई फोन गरिरहन्थीन्, पछि छोरीलाई मारेर लाससमेत लुकाएपछि मात्रै वास्तविकता थाहा पायौँ,’ रामपुजन सिंहले भने । घटना भएको भोलिपल्ट अर्थात् असार ४ गते माइती पक्षले प्रहरीलाई मौखिक रूपमा जानकारी गराएको थियो ।
प्रहरी घटनास्थल पुगे पनि परिवारका सदस्यहरूले चाँदनीको बिरामीका कारण मृत्यु भएको बताएका थिए। त्यसबेला माइती पक्षबाट औपचारिक जाहेरी पनि नपरेको प्रहरीले जनाएको छ । तर, घटना भएको करिब एक सातापछि घरबाट करिब एक किलोमिटर टाढा स्याल र कुकुरले शवका केही भाग बाहिर निकालेपछि गाउँमा घटना सार्वजनिक भएको थियो ।
त्यसपछि परम्परागत दाहसंस्कार नगरी घर नजिकै शव गाडिएको तथ्य खुलेपछि हत्या भएको आशंका थप बलियो बनेको स्थानीयको भनाइ छ । घटनापछि जिल्ला प्रहरी कार्यालय महोत्तरीले अनुसन्धान तीव्र बनाउँदै शुक्रबार मृतकका ससुरा सुशील सिंह र सासुलाई भंगाहा–३ को महुवा टोलबाट नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख श्याम सारु मगरका अनुसार प्रहरी टोली घटनास्थल पुगेर थप प्रमाण संकलन तथा घटनाको सत्यतथ्य अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रहरीले अनुसन्धान जारी रहेकाले घटनाबारे निष्कर्ष आउन बाँकी रहेको जनाएको छ । मृतक चादनीको करिव एक वर्षअघि तेलिम सिंहसँग प्रेम विवाह भएको थियो । उनको ६ महिनाकी छोरी छन् भने तेलिम सिंह वैदेशिक रोजगारको क्रममा बाहिर छन् ।
प्रतिक्रिया