
काठमाडौं । पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद सात दिन प्रहरीको हिरासतमा थुनामा बस्ने भएका छन् । मंगलबार विशेष अदालतले पौडेललाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुमति दिएको हो ।
आज मंगलबार विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले पौडेललाई सोमबारदेखि लागू हुने गरी सात दिन थुनामा राख्न अनुमति दिएको हो ।
विभागले भने २० दिन हिरासतमा राख्न अनुमति मागेको थियो । तर, अदालतले सात दिनको मात्रै अनुमति दिएको हो । उनलाई अब विभागले सात दिन म्याद थप गर्न विशेष अदालतमा उपस्थित गराउनुपर्ने छ ।
पूर्वउपप्रधान एवं अर्थमन्त्री समेत रहेका उपाध्यक्ष पौडेललाई हिजो सोमबार सुर्खेतबाट पक्राउ गरिएको थियो । उनलाई राति नै स्थलमार्गबाट काठमाडौं ल्याएर अदालत उपस्थित गराइएको थियो ।
यता नेकपा एमालेले भने उनी पक्राउ परेकोविरुद्ध सरकारको आलोचना गरेको छ । आजै बसेको एमाले संसदीय दलको बैठकले उपाध्यक्ष पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको छ । उक्त बैठकमा अध्यक्ष केपी शर्मा ओली पनि सहभागी थिए ।
प्रतिक्रिया