
काठमाडौं । नेकपा एमाले संसदीय दलले उपाध्यक्ष विष्णु पौडेललाई सुनियोजित ढंगले पक्राउ गरेको भन्दै संसद्मा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको छ ।
मंगलबार पार्टी कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीसहित बसेको बैठकले यस्तो निर्णय गरेको सांसद गुरु बरालले जानकारी दिए । ‘उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारी सुनियोजित हो । यसका विरुद्ध संसद्मा एमालेले सशक्त प्रतिवाद गर्छ’, बरालले भने, ‘यो विधिको शासन विपरीत हो ।’
त्यस्तै बैठकले मुलुकमा विधिको शासन बहाल गर्न र सरकारी स्वेच्छाचारी अराजक कदमहरुविरुद्ध आवाज उठाउने निर्णय पनि गरेको छ । ‘त्यसबाहेक मुलुकमा बढेको महँगी, बाढी पहिरो लगायतका विषयमा सरकारको ध्यान नगएको भन्दै पीडितको पक्षमा निर्णय गर्न सरकारलाई दबाब दिने निर्णय गरेको छ’, बरालले भने ।
बैठकमा अध्यक्ष ओलीले संसद्मा खेल्नुपर्ने भूमिकाका बारेमा ब्रिफिङ गरेका थिए । बैठकले सात बुँदे प्रस्ताव पारित गरेको प्रमुख सचेतक ऐन महरले जानकारी दिए । ‘उपाध्यक्ष पौडेलको पक्राउ प्रतिशोधपूर्ण, अपमानपूर्ण र गैरकानुनी छ’, महरले भने ।
पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा प्रहरीले सोमबार सुर्खेतबाट पक्राउ गरी मंगलबार काठमाडौं ल्याएको छ । मंगलबार नै उपाध्यक्ष पौडेललाई प्रहरीले म्याद थपका लागि विशेष अदालतमा पेस गरिसकेको छ ।

प्रतिक्रिया