
काठमाडौँ । होम अप्लायन्स उद्योगको विश्वव्यापी अग्रणी ब्रान्ड बोशले नेपालमा आफ्नो प्रिमियम उत्पादनहरूको उपस्थिति विस्तार गरेको छ । बिएसएच होम अपलाइन्सले नेपालको प्रतिष्ठित व्यावसायिक घराना लक्ष्मी ग्रुपसँगको दीर्घकालीन सहकार्यलाई थप मजबुत बनाउँदै ललितपुरको प्रमुख व्यावसायिक क्षेत्र जावलाखेलमा देशकै पहिलो ‘बोश ब्रान्ड स्टोर’ सञ्चालनमा ल्याएको हो । यो स्टोरको उद्घाटनसँगै नेपाली उपभोक्ताहरूले जर्मन इन्जिनियरिङ र प्राविधिक उत्कृष्टताले भरिपूर्ण प्रिमियम होम अप्लायन्सको प्रत्यक्ष अनुभव लिन पाउने भएका छन् ।
सहरीकरण, बढ्दो आम्दानी र दैनिक जीवनलाई सहज बनाउने प्रविधिमैत्री उपकरणप्रतिको बढ्दो रुचिका कारण नेपालको जीवनशैली तीव्र रूपमा परिवर्तन भइरहेको छ । जावलाखेलमा खोलिएको नयाँ शोरुममा उपभोक्ताहरूका लागि रेफ्रिजेरेसन, लन्ड्री (वासिङ मेसिन), डिशवासर, फुड प्रिपरेसन र अत्याधुनिक बिल्ट–इन किचन समाधानहरू (ओभन, हब र हुड) प्रदर्शनमा राखिएका छन् ।
नयाँ स्टोर सञ्चालनबारे टिप्पणी गर्दै बिएसएच होम अपलाइन्स इन्डियाका प्रबन्ध निर्देशक एवं सिईओ सैफ खानले नेपालमा प्रिमियम होम अप्लायन्स क्षेत्रमा नयाँ अवसरहरू सिर्जना भइरहेको र लक्ष्मी ग्रुपसँगको सहकार्यबाट आफ्नो उपस्थितिलाई अझ सुदृढ बनाउन पाउँदा खुसी लागेको बताए । उनले बोशको ‘इन्भेन्टेड फर लाइफ’ को दर्शन अनुसार नेपाली उपभोक्तालाई विश्वस्तरीय प्रविधि उपलब्ध गराउन ब्रान्ड प्रतिबद्ध रहेको उल्लेख गरे ।

नेपालको लन्ड्री बजारमा फ्रन्ट–लोड वासिङ मेसिनले कुल बिक्रीको ७० देखि ८० प्रतिशत हिस्सा ओगटेकाले बोशले यहाँ ठुलो सम्भावना देखेको छ । यसका साथै, बदलिँदो पारिवारिक संरचना र स्वच्छताप्रतिको सचेतनाले गर्दा नेपालमा डिशवासरको माग पनि तीव्र रूपमा बढिरहेको छ ।
लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठले ५ दशकदेखि लक्ष्मी ग्रुपले विश्वस्तरीय उत्पादन नेपाली उपभोक्तामाझ ल्याइरहेको स्मरण गरे । गुणस्तर र विश्वसनीयताका लागि प्रख्यात बोशसँगको यो साझेदारीले देशको प्रिमियम होम अप्लायन्स बजारको विकासमा अर्थपूर्ण योगदान पु¥याउने उनले विश्वास व्यक्त गरे ।
हाल देशभर रहेका ७० भन्दा बढी डिलर र २० वटा आधुनिक ट्रेड आउटलेटहरूको सञ्जाललाई यस नयाँ ब्रान्ड स्टोरले थप ऊर्जा दिनेछ । सन् २०२५ मा करिब १५ अर्ब युरोको कारोबार गरेको बिएसएच ग्रुपले आगामी दिनमा नेपालभर उत्कृष्ट एफ्टर–सेल्स सर्भिस (मर्मत सम्भार सेवा) र नयाँ उत्पादनहरू भित्र्याउँदै बजार विस्तार गर्ने लक्ष्य राखेको छ ।
प्रतिक्रिया