
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो दिन प्रमुख ध्यान मौसममा थियो । प्रचण्ड गर्मीका कारण सहभागीहरू बिरामी पर्न सक्ने त्रास थियो ।
प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा जिल्लास्थित अस्पतालका सञ्चालक, चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको उपस्थितिमा विशेष तयारी गरिएको थियो । रास्वपाका नेता डा. मनोहर प्रधानको नेतृत्वमा कार्यक्रमस्थलमा तीन ठाउँमा हेल्थ डेस्क राखिएको थियो ।
कार्यक्रमको उद्घाटन सत्रपछि वर्षा हुँदा सहभागीहरूलाई केही कठिनाइ भए पनि गर्मीका कारण हुन सक्ने स्वास्थ्य समस्या देखिएन । डा. प्रधानका अनुसार दुई जना सहभागी गर्मीका कारण बेहोस भएका थिए । उनले भने, ‘पानी नपरेको भए धेरै बेहोस हुने सम्भावना थियो ।’
हिमाल र पहाडबाट आएका सहभागीहरूलाई चितवनको चर्को गर्मी थेग्न कठिन हुने अवस्था रहे पनि वर्षाले राहत भएको उनले बताए । रास्वपाका जिल्ला नेता प्रकाश आचार्यका अनुसार महाधिवेशनको अघिल्लो दिनदेखि दैनिक वर्षा हुँदा बाहिरबाट आएका सहभागीलाई असहज भएको छैन । उनले भने, ‘दैनिक पानी परेको छ, तापक्रम बढेको छैन ।’
आज दिउँसो १ बजे यहाँको तापक्रम ३४ डिग्री सेल्सियस मापन गरिएको छ । नागरिक उड्डयन प्राधिकरणका प्रमुख दीपक विकेका अनुसार विगतका असारमा यहाँको तापक्रम ३९ डिग्रीसम्म पुग्ने गरेको थियो । उनले भने, ‘रास्वपाको महाधिवेशन सहज भयो ।’ दैलेखका दिनेश राईले चितवनमा अत्यधिक गर्मी हुने अपेक्षा भए पनि त्यस्तो अनुभव नभएको बताए । स्याङ्जाका मेघबहादुर आलेले नियमित वर्षाका कारण मौसम अनुकूल बनेको बताए ।
रास्वपा चितवनका सचिव तेजेन्द्र पौडेलले महाधिवेशनलाई मौसमले साथ दिएको बताए । बाहिरबाट आएका प्रतिनिधिहरूले चितवनको गर्मीलाई लिएर चिन्ता लिए पनि यहाँ आएपछि त्यस्तो समस्या नभएको सहभागीहरूको भनाइ छ ।
रास्वपाका जिल्ला नेता नेत्र लामिछानेका अनुसार हिमाली र पहाडी जिल्लाबाट आएका प्रतिनिधिले अघिल्लो दिनसम्म पनि तापक्रमबारे जिज्ञासा राखेका थिए । मौसम अनुकूल भएकाले सहभागीहरूलाई राहत भएको उनले बताए ।
मौसम अनुकूल भएकाले फुर्सदको समयमा सहभागी पर्यापर्यटनमा सहभागी भएका गतिविधिमा सहभागी भएका छन् । देवघाटको धार्मिक यात्रा होस् वा सौराहाको हात्ती सफारी उनीहरूको पर्यटकीय क्षेत्रमा बाक्लो उपस्थिति छ । महाधिवेशनमा १० हजारभन्दा रास्वपाका कार्यकर्ता, शुभेच्छुकलागयत उपस्थित भएको अनुमान छ ।
प्रतिक्रिया