
काठमाडौँ । नेपालीका लागि धान एक अनाज मात्रै होइन, यो त एउटा इतिहास, संस्कृति र सभ्यता पनि हो । नेपालको इतिहास, सभ्यता र संस्कृतिसँग जोडिएको छ देशको मुख्य खाद्य बाली धान । नेपाली समाजमा जीवनयापनको मुख्य अन्नबालीको रूपमा रहेको धानको उपभोग धेरै हुने भएकाले यसको चर्चा धेरै नै हुन्छ । बर्खा लागेसँगै रोपाइँको चिन्ता र चिन्तन सुरु हुन्छ । असार १५ त्यस्तो चिन्तनको उत्कर्षको दिन हो । तर आधुनिकतासँगै फेरिएको परम्परागत रोपाइँ संस्कृतिले आफ्नो पहिचान गुमाउँदै गएको छ ।
गोरु, हलो, हली, बाउसे, खेताला, अर्म पर्म जस्ता शब्द अब नौला लाग्न थालेका छन् । गोरुलाई साना ठुला ट्रयाक्टरले विस्थापित गर्दै छन् सँगसँगै खेतिपातीमा सामूहिकता पनि हराउँदै गएको छ । सहर त सहर भइहाल्यो, अनियन्त्रित र असन्तुलित बसाइँसराइ र श्रमप्रतिको विकर्षणले गाउँबाट पनि क्रमशः कृषि बिरानो हुँदै गएको छ ।
तै पनि धान उत्पादनका लागि बर्खा सुरु भएसँगै नेपाली किसानलाई रोपाइँको चटारो हुने गर्दछ । ‘मानो रोपेर मुरी फलाउने’ नेपाली समाजमा असार महिना र रोपाइँसँग जोडिएको सबैभन्दा लोकप्रिय र अर्थपूर्ण उखान हो । यही भनाइअनुसार नै बर्खा सुरु भए पनि धान रोपाइँको चटारो हुने गर्दछ । धान केवल मानिसहरूको दैनिक उपभोग्य बस्तुको रूपमा मात्र नभएर जनताको जीवन एवं जीविकोपार्जनको आधार र राष्ट्रको समग्र अर्थतन्त्रसँग जोडिएको बस्तु हो ।
नेपाली संस्कृतिमा जन्मदेखि मृत्युसम्मका हरेक चाडबाड, रीतिरिवाज र संस्कारहरू धान (भात) बिना अपूर्ण हुन्छन् । परम्परागत रूपमा कसको घरमा कति भात पाक्छ भन्ने कुराले सामाजिक हैसियत र वर्ग निर्धारण गथ्र्यो । यो खाद्यान्न मात्र नभई सामाजिक प्रतिष्ठाको विषय पनि थियो । धार्मिक कार्यक्रम, चाडपर्व, विवाह जस्ता संस्कारमा धान र चामलको अत्यधिक प्रयोग हुने गर्दछ । यति मात्रै होइन कतिपय चाडपर्व, धार्मिक कार्यमा पनि धान अत्यावश्यक रहन्छ ।
खाद्य तथा पोषण सुरक्षाका दृष्टिबाट मानिसलाई आवश्यक पर्ने क्यालोरीको २० प्रतिशत हिस्सा चामलमै पाइन्छ । धान मरुभूमिदेखि समुन्द्र सतहदेखि ३ हजार मिटर उचाइको हिमालयको काखसम्म यसको खेती हुने गर्दछ ।
कृषि अभियान्ता प्रमेश पोखरेलका अनुसार धानको उत्पति र खेतीको पहिलो अभ्यासको वास्तविक समयबारे एकिन नभए पनि एसियामै मानव सभ्यता र खेतिपातीको विकासक्रम धान खेतीसँग जोडिएको छ ।
०००
नेपालको कुल जमिन मध्ये ३५ प्रतिशतमा धान खेती गरिन्छ । देशको कुल ग्राहस्थ उत्पादनमा धानकोे योगदान सवैभन्दा बढी छ । नेपालको धान खेतीलाई हामी चैते धान, वर्षे धान (असार साउनमा रोपिने), भदैया धान, पछिल्लो धान वा खरुहान, बोरो धान र हिमाली धान गरी विभिन्न प्रकारले चिनिन्छ । नेपालमा लगभग २ हजार जातका धान पाइने गरेको तथ्यांक छ । नेपालमा प्रसिद्ध धानहरूमा पोखरेली जेठो बुढो, सुनौलो सुगन्ध, लल्का बास्मती, काला नमग, जुम्ली मार्सी, जरायल बास्मति, घैया, अनदी आदि रहेका छन् ।
नेपालको कुल खाद्यान्नमा ८० प्रतिशतभन्दा धानको हिस्सा रहेको छ । नेपालको कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान करिब २५ रहेको छ । यसमध्ये कृषि ग्रार्हस्थ उत्पादनमा धानको मात्रै करिब १५ प्रतिशतसम्मको हिस्सा रहेको छ ।
हाल नेपालमा करिब १३ लाख हेक्टरमा धान खेती भइरहेको छ । खेती गरिने जमिन बर्सेनि घट्दो क्रममा छ । उत्पादन भने बढेको देखिन्छ ।
नेपालमा वार्षिक करिब ६५ लाख मेट्रिक टन धानको माग रहेको छ । आव २०८१÷०८२ मा धान बाली भित्याइएको कुल क्षेत्रफल १४ लाख २० हजार ६३६ हेक्टर क्षेत्रफल रहेकोमा आव २०८२÷०८३ मा ३.८ प्रतिशतले घटेर १३ लाख ७६ हजार हेक्टर क्षेत्रफल कायम भएको थियो । यसैगरि आव २०८१÷०८२ मा ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन उत्पादन भएको थियो ।
कृषि अभियान्ता उद्धव अधिकारीकाअनुसार राज्यले धानलाई कुल गार्हस्थ्य उत्पादनमा हिसाब गर्ने अभ्यासमा राखेको भए पनि देशलाई कृषि प्रधान मान्दैन । किसानमैत्री बजेट र व्यवहार पनि गर्दैन । धान उत्पादन कम हुँदा तथा उत्पादन उपभोगको तालमेल नमिल्दा बर्सेनि अर्बौं रकमको धान चामल आयात गर्नु परिरहेको अवस्था छ । ‘मौसमले साथ दियो भने उत्पादन हुने ५५ लाखभन्दा मेट्रिक टन धानले ठुलो खाद्य रिक्तता परिपूर्ति त गरेको छ, तर अझै ५–७ लाख मेट्रिक टन चामल पुग्दैन,’ अधिकारीले भने, ‘त्यो अपुगलाई चैते धानले विस्थापित गर्ने भनेर सरकारले बडो सुन्दर अक्षरमा लेखे पनि व्यावहारिक रूपमा चैते धानका किसानहरूले सरकारले तोकेको प्रतिक्विन्टल २ हजार ८०० हाराहारीको मूल्य पाउन सकेका छैनन् ।’
त्यस्तै, कृषि अभियान्ता पोखरेल पनि धान व्यावसायिक विधा (क्यास क्रप) नभई खाद्यान्न (सिरियल क्रप) मात्र भएकाले यसले उचित प्राथमिकता पाउन नसकेको बताए । उनले भने, ‘सरकारी वा सहकारी स्तरबाट चक्लाबन्दी खेती नगरिँदा साना किसानहरूले लगानी अनुसारको प्रतिफल पाउन सकेका छैनन् । नेपालमा पर्याप्त मिल र वैज्ञानिक भण्डारणको अभाव छ । खेतमै धान हुँदा भारतीय ठेकेदारहरूले सस्तोमा लैजाने र त्यही धानको चामल महँगोमा पुनः नेपालमै आयात हुने अवस्था छ ।’
पोखरेलका अनुसार नेपालीमा मोटो धान बढी उत्पादन हुन्छ, तर उपभोक्ताहरू (मध्यम वर्ग) मसिना र बास्नादार चामल बढी मन पराउँछन् । यही कारणले गर्दा मोटो धान बाहिरिने र महँगो मसिनो चामल ठुलो परिमाणमा आयात हुने गर्दछ ।
धान र चामलमै ठुलो धनराशि बाहिरिन थालेको छ । परम्परागत कृषिमा आधारिक खाद्यान्न उत्पादन कम हुने, नयाँ पुस्तामा वैदेशिक रोजगारीको मोह र बढ्दो सहरीकरणको कारण नेपालले बर्सेनि अर्बौंको धान चामल र अन्य खाद्यान्न आयात गर्नुपरेको अवस्था छ । आयात कम गर्न कृषि अभियन्ता पोखरेलले नेपालीले खान रुचाउने खालको धान खेती गर्नुपर्ने, योजनाबद्ध खेती गर्नुपर्ने र मानिसहरूलाई भातको विकल्पमा कोदो, मकै, ढिँडो वा रोटी खाने बानी पार्नुपर्नेमा जोड दिए । ‘कर्णलीमा चामल नै बाँड्नुपर्ने बाध्यता हटाएर स्थानीय जनचेतना जगाउनु पर्छ । मानिसहरूलाई भातको विकल्पमा कोदो, मकै, ढिँडो वा रोटी खाने बानी बसाल्नु आवश्यक छ ।’ उनले भने, चामल आयातलाई विस्थापन गर्न सरकारले तोकेका धान जोनहरूलाई थप व्यवस्थित बनाउनुपर्छ । बजारमा जुन चामल (जस्तैः जिरा मसिनो) को माग बढी छ, किसानलाई त्यही धान फलाउन प्रोत्साहन गरिनुपर्छ ।’
११ महिनामा ३७ अर्ब ८३ करोडको धानचामल आयात
धान तथा चामल आयात निरन्तर बढ्दो छ । चालु आर्थिक वर्ष २०८२÷०८३ को ११ महिनामा ३७ अर्ब ८३ करोड ९२ लाख रुपैयाँ बराबरको धानचामल आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आव साउनदेखि जेठसम्म ३७ अर्ब ८३ करोड ९२ लाख रुपैयाँ बराबरको ७ लाख ११ हजार टन धानचामल आयात भएको हो ।
गत आव २०८१÷०८२ को ११ महिनामा ३८ अर्ब ९४ करोड २८ लाख बराबरको ७ लाख ५३ हजार ३०५ टन धानचामल नेपाल भित्रिएको थियो । त्यस्तै सोही अवधिमा १९ अर्ब ९९ करोड ९ लाखभन्दा बढी मूल्यको ५ लाख २१ हजार २६९ टन कच्चा धान आयात भएको थियो । चालु आव भने कच्चा धानको आयात घटेर ४ लाख ६१ हजार १०८ टनमा सीमित भएको छ, जसका लागि १७ अर्ब २३ करोड ७२ लाख रुपैयाँ बाहिरिएको छ । यस वर्ष १ अर्ब २९ करोड ९४ लाख बराबरको २ हजार ९९३ टन धानको बिउ आयात भएको छ ।
०००
बदलिँदै रोपाइँ संस्कृति : ट्रयाक्टरको कारण गोरु विस्तापित
असार १५ वर्षाको सुरुआत, मुख्य बाली धानको रोपाइँका साथै नेपाली संस्कृति र सभ्यतासँग गाँसिएको महत्वपूर्ण दिन हो । वर्षाको सुरुआत हुने भएकाले यस दिनबाट रोपाइँको सुरुआत गर्ने गरिन्छ । त्यही रोपाइँमा लाग्दाको खुसी र आनन्द अभिव्यक्त गर्ने एक सांकेतिक र सांस्कृतिक पर्व असार १५ बनेको छ ।
अहिले कृषि छाडेर जहाँ भए पनि धेरै नेपालीको मानसपटमा बाल्यकाल र युवावस्थाका ती दिनहरू दही र चिउरा खाएको, हिलोमा खेलेको या रोपाइँ गीत गाएको सम्झना नआउने सायदै होलान् । रोपाइँ जात्रा, हिलो खेल्ने, दहीच्युरा खाने जस्ता नामले पनि असार १५ लाई मनाउने परम्परा छ । २०६१ सालमा विश्वका ४३ राष्ट्रले अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गर्न संयुक्त राष्ट्रसंघलाई अनुरोध गरेका थिए । राष्ट्रसंघले धान वर्ष घोषणा गरेपछि नेपालले पनि राष्ट्रिय धान दिवस मनाउने निर्णय गरेको थियो । २०६१ मंसिर २९ मा मन्त्रिस्तरीय निर्णय गरी २०६२ असार १५ देखि धान दिवस मनाउन थालिएको थियो । अझ असार १५ अहिले पर्यटकीय पर्वको रूपमा समेत विकसित हुँदै छ ।
बदलिँदै रोपाइँ संस्कृति
उहिले उहिले नेपालको ९५ प्रतिशत भूभाग ग्रामीण भेग थियो । त्यस बेलाको रोपाइँको महत्व नै बेग्लै हुने गर्दथ्यो । अहिले भने कृषिप्रधान देशका मन्त्री तथा नीति निर्माणकर्ताहरू गमलामा धान रोपेर राष्ट्रिय धान दिवस मनाउँदै छन् । पहिला पहिला हलगोरु नारेर हलीले खेत जोत्ने र हिल्याउने काम गर्ने, असार १५ को दिन जसको सबैभन्दा ठुलो खेत छ, त्यसमा ५ देखि १० हल गोरुले सँगै जोत्ने, गाउँभरीका पुरुषमान्छे बाउसे बनेर खेत सम्याउने र हिलो मिलाउने तथा महिलाले धानको बिउ रोप्ने ‘रोपाहार’को काम गर्ने गर्दथे । अहिलेको गाउँघरमा काम गर्ने मानिस पाउन गाह्रो छ । अहिले तराईतिर कतिपय ठाउँमा रोपाहार होइन मेसिनले धान रोप्न थालेको छ भने हलगोरुको सट्टा ट्रयाक्टरको प्रयोग बढदै गएको छ ।
हिजो आज अर्मपर्मको चलन पनि लोप हुन लागेको अवस्था छ । पछिल्लो समय पैसा तिरेर खेताला राख्ने चलन बढेको छ । घण्टाको हिसाबले रकम तिर्दा पनि खेताला पाउन सकस पर्ने गरेको किसानहरू बताउँछन् । त्यस्तै, कामको थकाइ मेटाउन र रमाइलो गर्न परम्परागत गीतहरू गाइन्थ्यो, त्यो पनि हराएर जान थालेका छन् । कृषि अभियन्ता पोखरेल धान खेतीसँगै सुरु भएको रोपाइँको परम्परा मौसम र प्रकृतिसँग जोडिएर पर्वका रूपमा सुरु भएको बताउँछन् । उनले पछिल्लो समय रोपाइँ संस्कृति गमलासम्म पनि आइपुगेको बताए ।
कृषि अभियन्ता उद्धव अधिकारी असार १५ को दिन धान रोप्ने मात्र नभई दही–चिउरा खाने संस्कृति पनि पुरानै भएको बताउँछन् । ‘हिजो हाम्रो ग्रामीण समाजमा धान केन्द्रित अर्थतन्त्र थियो । जीविकोपार्जन मात्रै होइन त्यही धान बेचेरै उपचार गर्ने, लत्ताकपडा किन्ने र दसैँ–तिहार मनाउने गरिन्थ्यो,’ उनले भने, ‘साउने संक्रान्तिका दिन वर्षभरिको आय–व्यय सार्वजनिक गर्ने, लेनदेन फरफारक गर्ने र आत्मसन्तुष्टि लिने चलन थियो ।’
सहर केन्द्रित धान दिवस मनाउँदा दिवसको महत्व नै हराएको अधिकारीले बताए । उनले भने, ‘अहिले हामी जुन खालको सहर केन्द्रित धान दिवस मनाउँदै छौँ, त्यो धानको मर्म र उपयोगिता भन्दा पनि अलिकति बढी कर्मकाण्ड र हल्लाखल्ला तिर केन्द्रित भएको देखिन्छ । सरकारी अधिकारीहरू आफैँ पनि आमकिसानसँग खेतबारीमा रोप्ने अभ्यासबाट पछाडि हटेर सरकारी कार्यालय हातामा हिलो खेलेर औपचारिकता निभाउने गरेका छन् ।’
किसानका मुद्दा र उत्पादनबारे कहिल्यै बहस हुन नसकेको अधिकारीले बताए । उनले भने, ‘हामीले कसको बिउ ल्याएर रोपिराख्या छौँ, त्यसको पुनरुत्पादन क्षमता छ कि छैन, माटो स्वस्थ छ कि छैन र त्यहाँ सूक्ष्म जीवाणुहरू बस्ने वातावरण छ कि छैन भन्ने थुप्रै कुराहरूमा मन्थन र छलफल नै हुँदैन् । भोलिका लागि यो घातक विषय हो ।’
अधिकारीका अनुसार पहिले रोपाइँमा मुहान पूजा गर्ने, नागदेवताको पूजा गर्ने र संयुक्त रूपमा बेठी लगाएर ठुलो खलो छान्ने चलनहरू बिस्तार–बिस्तार हट्दै गएको छ । गोरु जोत्ने पुरानो प्रचलनलाई अहिले ट्रयाक्टरले प्रतिस्थापन गरेको छ । यसले श्रमिकहरूलाई श्रमबाट विमुख त गरायो नै, किसानको उत्पादन लागत पनि घटेको छैन । फोसिल फ्युलमा आधारित यन्त्र उपकरणको भाडा दिनानुदिन बढ्दै जाँदा किसान यान्त्रिकीकरणमार्फत पनि मुनाफामा भन्दा थप घाटामै जाने अवस्था छ । पहिले हरेक गाउँमा गोरु जोत्ने मान्छेको लागि वर्षैभरि रोजगार हुन्थ्यो र त्यसले माटोलाई पनि फाइदा गथ्र्यो । अहिले अर्बौं रुपैयाँको यन्त्र उपकरण र इन्धन आयात गर्नुपरेको छ ।
गोरुले बचाउने सूक्ष्म जीवाणुहरू र गँड्यौला लगायतका मित्रजीवहरूलाई ट्रयाक्टरले बचाउन सक्दैन । रोटाभेटर लगायतका यान्त्रिक बस्तुले माटो थिचिएर माटो मुनिका सूक्ष्म जीवाणुहरू सकिँदै गएकाले मधेसमा यो ठुलो मुद्दा बनेको छ । खेतमा पानी संरक्षण गर्ने गँगटा लगायतका मित्रजीवहरूलाई ठुला हेभी मेसिनहरूले मारेर सिद्धाइदिए । यी यावत विषयमा मन्थन गर्दा पुराना अभ्यासहरू नै बढी उपयुक्त थिए कि जस्तो लाग्ने थालेको अधिकारीको भनाइ छ ।
०००
प्रतिक्रिया