
जलवायु परिवर्तन र वातावरणीय संकटले मधेसमा आजकाल महत्वपूर्ण कृषि पर्वको दिन असार १५ अर्थात् धान दिवस विरानो बन्दै गएको छ । कुनै बेला निकै तामझामका साथ मनाइने यो दिवस पानीको संकट गहिरिँदै जाँदा मनाउने तौरतरिका पनि फेरिएको छ । गोरुको माध्यमबाट गरिने मधेसको रोपाइँ एकादेशको कथा बन्दै गएको छ । असार १५ मा आधा रोपाइँ सकिने मधेसमा यो दिन नजिक आइपुग्दा यसपाली ५ प्रतिशत रोपाइँ पनि सकिएको छैन । यसले किसानको दीर्घकालीन भविष्यमाथि नै प्रश्न उब्जाएको छ । कृषि विकास निर्देशनालय, मधेस प्रदेशका सूचना अधिकारी सुदीप चौधरीका अनुसार अहिलेसम्म मधेसमा ५ प्रतिशत मात्र रोपाइँ सकिएको छैन । यो तथ्यांक अघिल्लो वर्षको तुलनामा निकै कम हो । अघिल्लो वर्ष यतिबेलासम्म करिब १२ प्रतिशत रोपाइँ सकिएको थियो ।
मधेस प्रदेशका ८ वटै जिल्लामा गरी कुल ५ लाख ५५ हजार २१८ हेक्टर खेतीयोग्य जमिन रहेकोमा ४ लाख ५ हजार ४५० हेक्टर क्षेत्रफल धान रोपाइँयोग्य जग्गा रहेको छ । तर यो वर्षको तथ्यांक हेर्ने हो भने मधेसमा जम्मा १० प्रतिशत मात्र रोपाइँ भएको छ । नेपालमा प्रत्येक वर्ष असार १५ गते ‘राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव’ मनाइन्छ । ‘मानो रोपेर मुरी फलाउने’ यो दिन कृषकहरूको श्रमको सम्मान गर्न र धान उत्पादन बढाउन प्रेरित गर्ने उद्देश्यले २०६१ सालदेखि मनाउन थालिएको हो ।
तर जलवायु परिवर्तनका कारण कृषि क्षेत्र प्रभावित बन्दै गए पनि यस समस्याको दीर्घकालीन समाधानतर्फ सरकारको ध्यान पर्याप्त रूपमा केन्द्रित हुन सकेको छैन । वर्षा अनियमित बन्दै जाँदा, सिँचाइका स्रोतहरू सुक्दै जाँदा र खेतीयोग्य जमिनमा पानीको अभाव बढ्दै जाँदा मधेसका किसानहरू ठुलो चुनौतीको सामना गर्न बाध्य भएका छन् । धान दिवस मनाइरहँदा खेतमा रोपाइँका लागि आवश्यक पानी नहुँदा कृषकहरूको उत्साहसमेत खस्कँदै गएको छ ।
बालीनालीको प्रवृत्ति, बदलिँदो मौसमको असर र कृषि क्षेत्रका आधारभूत समस्याहरूलाई समयमै पहिचान गरी समाधान खोज्न नसक्दा किसानहरूले बर्सेनि थप चुनौती सामना गर्नुपरेको बताएका छन् । जलवायु परिवर्तनका कारण खेतीपातीको परम्परागत चक्रमा आएको परिवर्तन, सिँचाइ स्रोतमा देखिएको अनिश्चितता, गुणस्तरीय बिउ तथा मलखादको अभावजस्ता समस्याले किसानहरूलाई दोहोरो मारमा पारेको छ ।
किसानहरू एकातिर जलवायु संकटसँग जुधिरहेका छन् भने अर्कातिर रासायनिक मलखादको चरम अभावको सामना गर्न बाध्य छन् । पछिल्ला केही वर्षयता मधेसमा मनसुनको अनिश्चितता, खडेरी र पानीको असमान वितरणले कृषि उत्पादनमा प्रत्यक्ष असर पार्दै आएको छ । यस वर्ष समयमै वर्षा भएकाले किसानहरू केही आशावादी देखिए पनि आवश्यक मलखाद सहज रूपमा उपलब्ध नहुँदा उनीहरूको चिन्ता कम भएको छैन ।
धनुषाका किसान रामजीवन महतो यतिबेला धान रोपाइँको तयारीमा जुटिरहेका छन् । खेत जोत्नेदेखि ब्याड व्यवस्थापनसम्मका काम सकिए पनि मलखादको अभावले उनी अझै अन्योलमा छन् । उनका अनुसार यस वर्ष अघिल्लो वर्षजस्तो पानी तथा सिँचाइको समस्या छैन । नियमित वर्षा भइरहेकाले रोपाइँका लागि वातावरण अनुकूल बनेको छ । तर धानको उत्पादनका लागि अत्यावश्यक मानिने मलखाद समयमै नपाइए उत्पादन घट्ने चिन्ताले उनलाई सताइरहेको छ ।
‘पानी त यसपालि राम्रै छ, तर मल नपाएपछि उत्पादन कसरी बढ्छ ? बिउ रोप्ने बेला भइसक्यो, तर मलको टुंगो नलागेकाले रोपाइँ सुरु गर्न अझै केही दिन कुर्ने सोच बनाएको छु,’ महतो भन्छन् । उनका अनुसार किसानले खेतीका लागि आवश्यक तयारी पूरा गरे पनि मलखाद अभावका कारण धेरैले रोपाइँ ढिलाइ गरिरहेका छन् ।
अघिल्लो वर्ष मनसुन समयमै सक्रिय नहुँदा मधेसका अधिकांश जिल्लामा रोपाइँ प्रभावित भएको थियो । यतिबेलासम्म झन्डै १२ प्रतिशत रोपाइँ सकिए पनि किसानहरू पानीको चरम संकटसँग जुधिरहेका थिए । चुरे क्षेत्रमा रहेका पानीका मुहानहरू सुकेका थिए भने तराईका जिल्लाहरूमा भूमिगत पानीको सतह गहिरिँदै जाँदा सिँचाइका लागि आवश्यक पानीको अभाव सिर्जना भएको थियो । कतिपय स्थानमा किसानहरूले रातभरि मोटर चलाएर वा पालो कुरेर खेतमा पानी लगाउनुपरेको अवस्था थियो ।
रामजीवनजस्तै महोत्तरीको बर्दिवासका किसान द्रोणबहादुर खड्का पनि चैते धान भित्याएर असारे धान रोपाइँको तयारीमा छन् । उनी अघिल्लो वर्षको तुलनामा यस वर्ष सिँचाइको अवस्था सुधारिएको बताउँछन् । ‘गत वर्ष रातभरि नहरमा पानीको पालो कुर्नुपथ्र्यो । खेतमा पानी पु¥याउन निकै संघर्ष गर्नुपरेको थियो’ खड्काले सम्झिए, ‘तर यसपालि नियमित वर्षा भइरहेकाले सिँचाइको त्यति ठुलो समस्या देखिएको छैन । त्यसैले रोपाइँ गर्न सहज हुने अपेक्षा गरेका छौँ ।’
पानीको समस्या केही कम भए पनि मलखादको अभाव भने यथावत् रहेको उनको गुनासो छ । समयमै मल उपलब्ध नहुँदा धानको उत्पादन घट्ने र किसानको लगानीसमेत जोखिममा पर्ने उनी बताउँछन् । खड्काका अनुसार खेतमा पर्याप्त पानी भए पनि आवश्यक पोषण नपाउँदा बालीले अपेक्षित उत्पादन दिन सक्दैन । त्यसैले किसानहरूका लागि पानीपछि सबैभन्दा ठुलो चुनौती मलखादको उपलब्धता नै हो ।
किसानहरूका अनुसार जलवायु परिवर्तनका कारण खेती प्रणालीमा आएको परिवर्तन र सरकारी निकायबाट समयमै आवश्यक कृषि सामग्रीको आपूर्ति हुन नसक्दा कृषि पेसा झन् जोखिमपूर्ण बन्दै गएको छ । कृषिविज्ञ डा.राजेश साह तत्काल मलखाद व्यवस्थापनसँगै जलवायु अनुकूल कृषि प्रविधि, सिँचाइ पूर्वाधार विस्तार र किसानमैत्री कृषि नीतिको आवश्यकता रहेको बताउँछन् ।
‘अघिल्लो वर्ष रातभरि नहरमा पानीको पालो कुर्नुपथ्र्यो, तर अहिले त्यस्तो अवस्था छैन’ खड्काले भने, ‘यसपालि पानी नियमित भएकोले सिँचाइ तथा रोपाइँमा त्यति असजिलो त हुँदैन, तर मलखादको समस्या भने यथावत् छ ।’ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, मधेस प्रदेशले बफर मौज्दातबाट ५०० मेट्रिक टन र कृषि सामग्री कम्पनी लिमिटेडको बफर स्टकबाट १ हजार मेट्रिक टन गरी १ हजार ५०० मेट्रिक टन तथा १ हजार मेट्रिक टन डिएपीसहित कुल २ हजार ५०० मेट्रिक टन मल बाँडफाँट गरेको दाबी गरेको छ ।
मन्त्रालयका अनुसार सप्तरीमा ३३२ मेट्रिक टन, सिरहामा ३६५.८ मेट्रिक टन, धनुषामा ३१५.९ मेट्रिक टन, महोत्तरीमा ३००.२ मेट्रिक टन, सर्लाहीमा ३७२.८ मेट्रिक टन, रौतहटमा २९८.६ मेट्रिक टन, बारामा २७९.५ मेट्रिक टन र पर्सामा २३४.४ मेट्रिक टन मल वितरण गरिएको छ । तर किसानहरू असार १५ को मध्यविन्दुमा आइपुग्दासमेत मलखाद नपाएको गुनासो गरिरहेका छन् । मन्त्रालयका प्रवक्ता मनिष पाल मलखादमा अभाव सिर्जना हुन नदिने गरी मन्त्रालय लागिपरेको र किसानहरूलाई सन्तुलित रूपमा वितरण भएको छ वा छैन भन्ने विषयमा निगरानी गरिरहेको बताउँछन् ।
नेपालको अन्न भण्डार मानिने मधेस प्रदेशमा धानको औसत उत्पादन करिब ३.५ देखि ४ टन प्रतिहेक्टर रहे पनि यो पूर्ण रूपमा मनसुन, सिँचाइ र मलखादको उपलब्धतामा निर्भर रहने कृषि विज्ञहरू बताउँछन् । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रद्वारा प्रकाशित कृषि सल्लाह बुलेटिनअनुसार वर्षा नियमित रूपमा थोरै भए पनि १८ जेठदेखि १४ असोजसम्म सरदरभन्दा कम वर्षा हुने अनुमान गरिएको छ ।
यसले चुरेदेखि तल्लो क्षेत्रसम्म समस्या सिर्जना गर्न सक्ने भन्दै विज्ञहरूले सचेतसमेत गराएका छन् । यसै पनि पानीकै समस्याका कारण किसानहरू केही वर्षदेखि धान उत्पादन हुने जमिनसमेत बाँझै राख्न बाध्य छन् । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार देशभर धान उत्पादनमा कमी मात्र होइन, कैयौँ हेक्टर क्षेत्रफल बाँझै रहेको उल्लेख छ । आर्थिक वर्ष २०८१÷०८२ मा धानबाली भित्र्याइएको कुल क्षेत्रफल १४ लाख २० हजार ६३६ हेक्टर रहेकोमा चालु आर्थिक वर्षमा ३.८ प्रतिशतले घटेर १३ लाख ७६ हजार ८७२ हेक्टरमा सीमित रहने प्रारम्भिक अनुमान गरिएको छ ।
त्यसैगरी, आर्थिक वर्ष २०८१÷०८२ मा ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन धान उत्पादन भएकोमा चालु आर्थिक वर्षमा ४.२० प्रतिशतले कमी भई ५७ लाख ५ हजार १२६ मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको थियो । तर वास्तविक उत्पादन त्यो अनुमानअनुसार पनि हुन सकेन । यसैगरी, उत्पादकत्व गत आर्थिक वर्षमा ४.१९ मेट्रिक टन प्रतिहेक्टर रहेकोमा आर्थिक वर्ष २०८२÷०८३ मा १.१६ प्रतिशतले घटेर ४.१४ मेट्रिक टन प्रतिहेक्टरमा झरेको छ । विशेषगरी यी समस्याहरू मधेस प्रदेशमा झन् बढ्दै गएको देखिन्छ । नेपालको खाद्य सुरक्षाका लागि धानबाली एक महत्वपूर्ण बाली हो । कृषि क्षेत्रको कुल गार्हस्थ उत्पादनमा धानबालीको योगदान करिब १२ प्रतिशत रहेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयकी सहसचिव डा.जानुका पण्डितको भनाइ छ ।
मधेस प्रदेशमा धान लगाउने समयमा खडेरीकै कारण धानको क्षेत्रफल घट्दै गएको किसानहरू बताउँछन् । बर्सेनि पानीको समस्या हुने भएकाले आजकाल धान लगाउन नै छाडेको सर्लाहीकी किसान लक्ष्मी कार्की बताउँछिन् । ‘सुरुमै रोपाइँ गर्न गाह्रो हुन्छ । रोपाइँ भइहाल्यो भने पनि सिँचाइको समस्या हुन्छ, अनि कसरी धान रोप्नु त ?,’ उनले भनिन् । बर्सेनि किसानहरूको खेतमा मन्त्री तथा उच्चस्तरीय कर्मचारीहरू पुगेर धान दिवस मनाउने गर्छन् । तर जलवायु अनुकूलन योजनाहरू प्रभावकारी रूपमा बनाउन नसक्दा किसानहरूका समस्या झन् चुलिँदै गएका छन् ।
‘आजकाल पानीको पहुँच भए पनि उत्पादन निकै कम हुन्छ । धान रोप्ने समयसमेत परिवर्तन भएको छ, तर सरकारले जलवायु अनुकूलनका लागि कसरी तयारी गर्ने भन्ने कुनै स्पष्ट योजना ल्याएको छैन,’ स्थानीय रामजतन महतो भन्छन् । उनी थप्छन्, ‘यसका लागि सरकारले अध्ययन र अनुसन्धान बढाएर किसानहरूलाई समयानुकूल प्रविधि तथा खेती प्रणालीबारे प्रशिक्षित गर्न आवश्यक छ ।’
प्रतिक्रिया