
यति बेला देशभरका अस्पतालमा रेबिज रोग विरुद्धको भ्याक्सिन अभाव देखिएको छ । अझ सबैभन्दा सुविधासम्पन्न मानिएको संघीय राजधानी काठमाडौँमा नै रेबिजका कारण १ जनाले ज्यान गुमाएपछि मानिसमा तनाव उत्पन्न भएको छ । अहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रेबिजका बिरामीको चाप बढेको छ । तर, बिरामीको चापअनुसार भ्याक्सिन भने उपलब्ध नभएको गुनासो छ ।
हरेक वर्षजसो नेपालमा रेबिज भ्याक्सिनको समस्या हुने गरेको विगत छ । अझ अघिल्लो शनिबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रेबिजका कारण १ जनाको मृत्यु भएपछि यो यस घटनाले त्रास बढाएको छ । असार ६ गते चन्द्रागिरि नगरपालिकाका ४८ वर्षीय १ व्यक्तिको टेकु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । अस्पतालका अनुसार ती व्यक्तिलाई करिब ४ महिनाअघि कुकुरले टोकेको थियो, तर उनले रेबिजविरुद्धको खोप लगाएका थिएनन् ।
बिस्तारै समस्या देखिएपछि उनलाई गत शुक्रबार मात्रै अस्पताल भर्ना गरिएको टेकु अस्पतालले जनाएको छ । अस्पताल पुग्दा उनलाई हावा र पानीदेखि डराउने जस्ता रेबिजका गम्भीर लक्षणहरू देखिइसकेका थिए । कुकुरले टोकेको लामो समयसम्म खोप नलगाएका कारण उपचारकै क्रममा उनको मृत्यु भएको हो । यो घटनापछि काठमाडौँमा बस्ने र सुविधासम्पन्न अस्पताल भएका ठाउँका मान्छले त ज्यान गुमाउनुपर्छ भने दूरदराजमा के होला ? भन्ने प्रश्न उब्जिएको छ ।
टेकु अस्पतालको रेकर्ड अनुसार पछिल्लो ५ वर्षमा ५५ जनाको रेबिजका कारण मृत्यु भएको छ । उपलब्ध तथ्यांकअनुसार सन् २०२२ मा ४ जना, २०२३ मा ६ जना र २०२४ मा १९ जनाको मृत्यु भएको छ । यस्तै, सन् २०२६ असार पहिलो हप्तासम्म ४ जनाको मृत्यु भएको रेकर्ड छ ।
००००
पशु स्वास्थ्य निर्देशनालयका अनुसार रेबिजको भाइरस अघिकांश कुकुरको टोकाइबाट सर्ने गर्छ । शुक्रराज ट्रपिकल अस्पतालमा मात्रै दैनिक १५० जना कुकुरको टोकाइबाट बिरामी भएका व्यक्ति उपचारमा आउने गरेको अस्पताल स्रोतको भनाइ छ । अझ कुकुर, बिराला लगायतका जनावरले टोके पनि अस्पताल नआउनेको संख्या दोब्बर रहेको बताइन्छ । गत आर्थिक वर्ष २०८१/०८२ मा कुल २ लाख १३ हजार ३६६ जनालाई विभिन्न जनावरले टोकेको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको तथ्यांक छ । त्यसमध्ये कुकुरले मात्रै टोकेका १ लाख ९१ हजार ८०४ घटना छन् ।
नेपालमा अहिले पनि रेबिजविरुद्धको भ्याक्सिन लगाउनुपर्छ भन्ने धेरैलाई जानकारी नै छैन । त्यसैले जो कसैले रेबिज विरुद्धको भ्याक्सिन अनिवार्य लगाए राम्रो हुने विज्ञ बताउँछन् । त्यसो त रेबिजविरुद्धको भ्याक्सिन सरकारले निःशुल्क उपलब्ध गराउँदै अएको छ । रेबिजबारे जानकारी पाउने सरल उपाय भनेको मानिसलाई टोकेको १० दिनमा कुकुर बिरालो वा स्यालजस्ता जनावर मर्छन् । त्यो अवधिमा अनिवार्य ३ वटा भ्याक्सिन लगाए निको हुने डाक्टर बताउँछन् ।
टेकु अस्पताल स्रोतका अनुसार भुस्याहा कुकुरभन्दा घरपालुवा कुकुरको टोकाइबाट अस्पताल आउनेहरूको संख्या धेरै हुने गरेको छ । कुकुर पाल्ने मात्रै होइन, कुकुरलाई लगाउने भ्याक्सिनदेखि सुरक्षाका सबै उपायबारे ध्यान दिन जरुरी भएको विज्ञको सुझाव छ । तथ्यांकको अभावका कारण रेबिजको कारण मृत्यु भएकाको संख्या अझ धेरै हुनसक्ने बताइन्छ ।
पछिल्लो समय बजारमा रेबिजको भ्याक्सिन अभाव भएको गुनासो बढिरहेको बेला सरकारी अधिकारी भने, अभाव नभएको दाबी गर्छन् । अहिले देशका विभिन्न स्थानका सरकारी स्वास्थ्य संस्थामा कुकुर, स्यालजस्ता जनावरले टोकेपछि दिइने रेबिजविरुद्धको खोप (एआरभी) अभावले बिरामीले सास्ती खेपिरहेका छन् । सरकारी अस्पतालहरूमा निःशुल्क वा न्यून शुल्कमा दिइँदै आएको यो खोपको अभावले बिरामीले ज्यानैसमेत गुमाउन थालेका छन् । सरकारले खोप आपूर्ति गर्न नसक्दा निजी औषधि पसलबाट किनेर लगाउन नसक्ने विपन्न तथा कमजोर आर्थिक अवस्थाका बिरामीले बढी सास्ती खेप्नुपरेको छ ।
देशभरका सरकारी अस्पतालमा रेबिजविरुद्धको खोपको चरम अभाव भए पनि स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले यसबारे सूचना बाहिर ल्याउन कडा रोक लगाएको स्रोतको दाबी छ । त्यसैको परिणाम होला मन्त्रालयका कर्मचारी भ्याक्सिन प्रयाप्त रहेको बताउँदै आएका छन् । सरकारी कर्मचारीले भने जस्तो अस्पतालहरूमा सहज रूपमा खोप पर्याप्त नपाएको उपभोक्ताको गुनासो छ ।
अहिले काडमाडौँ र बाहिरका विभिन्न अस्पतालमा कुकुरले टोकेका बिरामीको चाप बढेको छ । केही दिनअगाडि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले बिरामीलाई निजी क्लिनिकबाट नै खरिद गर्न लगाएर यो खोपको सेवा दिइरहेको समाचार बाहिरिएको छ । अस्पतालमा ३ महिनादेखि रेबिजविरुद्धको खोप अभाव भएको र बिरामीको चाप बढेपछि बाहिरबाट सेवा लिन बिरामी बाध्य भएका हुन् । यो त उदाहरण मात्रै हो । यस्ता समस्या देशका विभिन्न अस्पतालमा छन् ।
००००
कसरी सर्छ रेबिज ?
रेबिज एक किसिमको भाइरसले लाग्ने रोग हो । रेबिज लागेको कुकुर, स्याल वा अन्य जनावरमा रेबिज भाइरस हुन्छ । कुकुर, स्याल, चमेरो, बिरालोलगायत तातो रगत हुने स्तनधारी जनावरबाट रेबिज भाइरस सर्ने गर्छ । त्यस्ता जनावरले टोकेपछि घाउका माध्यमबाट रेबिज भाइरस शरीरमा प्रवेश गर्छ । जसले गर्दा मानिसमा रेबिज रोग लाग्छ ।
विज्ञका अनुसार यो सुरुमा जनावरको ¥यालमा रहेका भाइरस जनावरको टोकाइबाट घाउमा पुग्छ । यो भाइरस रगत र लिम्फबाट नभई छालामुनिको भित्री तन्तु र मांसपेशी हँुदै परिधीय स्नायु, मेरुदण्ड र अन्त्यमा मस्तिष्कसम्म पुग्दछ । मस्तिष्कमा संक्रमण भएपछि मात्र विशेष लक्षणहरू देखिन्छन् । अन्त्यमा मस्तिष्कका मसिना स्नायुबाट भाइरस ¥याल ग्रन्थी, छाला, आँखाको कोर्निया र अन्य अंगमा पुग्दछ ।
लक्षण
विज्ञका अनुसार रेबिज लागेमा ज्वरो आउने, झमझमाउने, टोकेको ठाउँमा अत्यधिक दुख्ने हुन्छ । त्यस्तै पानी, हावादेखि डराउने, चिटचिटाहट हुने, रिसाउने जस्ता समस्या पनि देखिन्छ । रेबिजका कारण आँखा, नाक, मुख र शरीरमा घाउ हुने गर्दछ । यसबाट अरू मानिसमा पनि सर्न सक्छ । रेबिजका बिरामीले पानी पिउँदा घाँटीमा दुख्ने गर्छ । रेबिजले स्नायु प्रणालीसँगै श्वासप्रश्वासमा पनि बाधा उत्पन्न गर्न थाल्छ । रेबिजका कारण हृदयाघात र मृत्यु पनि हुन सक्छ ।
समयमै उपचार हुन नसके रेबिज रोगबाट बाँच्न गाह्रो हुने विज्ञ बताउँछन् । घरपालुवा कुकुरलाई नियमित रूपमा खोप लगाउने, भुस्याहा कुकुरबाट बच्ने र सम्भव भए व्यवस्थापन गर्ने । कुकुर, स्याल, चमेरो, बिरालोको टोकाइपछि रेबिजविरुद्धको खोप लगाउने, रेबिजको भाइरस हुने सम्भावित जनावरले टोकेपछि तत्काल साबुनपानीले घाउ सफा गर्ने । जतिसक्दो चाँडो अस्पताल पु¥याई रेबिजविरुद्धको खोप लगाउनु उपयुक्त हुन्छ । कुकुरले टोकेपछि छिटो भ्याक्सिन लगाउँदा भाइरस धेरै फैलिन पाउँदैन । कुकुरले टोकेको ४८ देखि ७२ घण्टासम्म भ्याक्सिन लगाउनुपर्ने चिकित्सकहरूको भनाइ छ । विज्ञका अनुसार यो रोगबारे जति व्यापक छलफल र बहस हुनुपर्ने हो, त्यति नभएकालले सधैँ ओझेलमा पर्ने गरेको छ । नेपालमा रेबिजबाट मृत्यु हुनेहरूको वास्तविक तथ्यांक बाहिर आएभन्दा धेरै हुनसक्ने चिकित्सकहरूको अनुमान छ । भ्याक्सिन अभावका कारणले रेबिजको जोखिम झन् बढेको छ ।
नेपालले सन् २०३० सम्म कुकुरबाट सर्ने रेबिजलाई शून्यमा झार्ने अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाएको छ । तर, खोपको उपलब्धतामा देखिने उतारचढाव, चेतनाको अभाव र सामाजिक अन्धविश्वासका कारण यो लक्ष्य भेट्न निकै कठिन देखिन्छ ।
सम्भाव्य समस्या
मानिसहरू ठुलो कुकुरले टोकेमा वा धेरै रगत बगेमा मात्रै अस्पताल जान्छन् । सानो घाउ वा सामान्य सम्झेर बेवास्ता गर्ने प्रवृत्ति नै मृत्युको कारण बनेको छ ।
८ देखि १२ वर्ष उमेर समूहका बालबालिकाहरू खेलौना वा चुलबुले स्वभावका कारण कुकुरको टोकाइमा पर्छन् । तर, अभिभावकले थाहा पाए गाली गर्ने वा पिट्ने डरले उनीहरूले लुकाउँछन् । समयमै जानकारी नहुँदा उनीहरूको खोप लगाउने समय गुम्छ
नेपालका ग्रामीण भेगमा अझै पनि कुकुरले टोकेपछि अस्पताल जानुको साटो सुरूमा धामी–झाँक्रीकहाँ जाने वा घरेलु उपचार तथा झारफुक गर्ने कु–प्रथा कायमै छ ।
केही वृद्धवृद्धाहरूमा कति कुकुरले टोके–टोके, बाँचेकै छौँ भन्ने सोच हुन्छ । यही अटेरीका कारण उनीहरू खोप लगाउन मान्दैनन् ।
काठमाडौँ बाहिरका ग्रामीण क्षेत्रमा मानिसहरूको पहिलो स्वास्थ्य सेवाको माध्यम अस्पतालभन्दा स्थानीय औषधि पसल हुन्छ ।
औषधि पसलमा सूचना र परामर्श नपाउँदा बिरामीहरू जोखिममा पर्ने गरेका छन् । त्यसैले स्थानीय स्वास्थ्यकर्मी र औषधि व्यवसायीलाई लक्षित गरी नियमित अभिमुखीकरण सचेतना कार्यक्रम चलाउनु पर्ने आवश्यकता छ ।
००००
भ्याक्सिनको अभाव छैन, प्रयाप्त छ : डा.समिरकुमार अधिकारी, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सह–प्रवक्ता

बजारमा हल्ला भएजस्तो रेबिज भ्याक्सिनको समस्या छैन । अस्पतालमा जाने बिरामीले रित्तो हाल फर्कन परेको अवस्था छैन । आउन सक्ने समस्या सामाधान गर्न सरकारले खरिदका लागि टेन्डर प्रक्रिया अन्तिम चरणमा पु¥याइएको छ । अब झन्डै ५ लाख भायल एआरभी आपूर्ति गर्न सम्झौता हुँदै छ ।
तत्कालको अभाव टार्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सँग समन्वय गरी आकस्मिक रूपमा ४ हजार ५०० भायल खोप नेपाल भित्र्याइएको छ, जसले टेकु अस्पताललाई करिब १ महिना पुग्नेछ । मन्त्रालयले एआरभीसँगै १७ हजारभन्दा बढी इम्युनोग्लोबुलिन र १३ हजार २०० भायल एन्टिस्नेक भेनम पनि पाइपलाइनमा छ । कतिपय कानुनी अडचनले पनि समयमै काम गर्न अफ्ठ्यारो पनि पर्छ । यस्ता कानुनी अड्चन सधैँलाई हटाउन सार्वजनिक खरिद ऐन नै परिमार्जन गर्ने तयारी सरकारले थालेको छ ।
हाम्रा अस्पताल र स्थानीय तहहरूले पनि खरिद गरेर व्यवस्थापन गरिरहेका छन् भने हाम्रो स्टोरहरूमा पनि प्रयाप्त मात्रामा भ्याक्सिन छ । अब धेरै भ्याक्सिन आउने क्रममा छ । अघिल्लो हप्ता ल्यायौँ र अर्को हप्ता पनि आउँदै छ । त्यसैले बाहिर भनेजस्तो भ्याक्सिनको समस्या छैन । जहाँसम्म खरिदका कारण समस्या भन्ने कुरा आएको छ, त्यो अघिल्लो वर्षको खरिद प्रक्रिया सकियो । यो वर्षको खरिद अब हुन्छ । खरिदका लागि ३ पटक टेन्डर भइसके । तीनैपटक दर रेटभन्दा धेरै माथिको रेटमा आवेदन आएकाले अन्तर्राष्ट्रिय बोलपत्र स्वीकृत गर्न नसकेको हो । अबको १ हप्ताभित्र त्यो समस्या पनि सामाधान हुनेछ ।
अहिले बाहिर भनिए झै अस्पतालहरूमा खोपको अभाव छैन । अस्पतालले रेबिजको खोप छैन भनेर ताला लगाएर बसेको छैन । भित्र नर्छिनुस् भनेको छैन । खोपको खरिद प्रक्रियामा समस्या भएको हो तर, त्यो हाम्रो कारण होइन, टेन्डर प्रक्रियामा समस्या भएकोले हो । बजारमा खोपको अभाव छैन । अस्पतालहरूले सोझै खरिद गर्ने पक्रियामा समस्या छैन । आकस्मिक व्यवस्थापनमा समस्या छैन । हामीले नियमित रूपमा खरिद गर्ने साइकलको हकमा टेन्डर गर्ने प्रक्रिमा भने पटकपटक गर्नुपरेको छ । त्यो हाम्रो कारण होइन्, हाम्रो बसभन्दा बाहिरको कारणले हो । त्यसले गर्दा हाम्रो स्टोरमा जति मात्रामा हुनपर्ने हो त्यति मात्रामा छैन तर, तुलनात्मक रूपमा कम भए पनि अहिलेका लागि व्यवस्थापन गर्नेगरी छ ।
प्रतिक्रिया