विषालु च्याउ खाएर कहिलेसम्म ज्यान गुमाइरहने ?

विभिन्न अध्ययनका अनुसार नेपालमा कुल १ हजार २९१ प्रजातिका जंगली च्याउ पाइन्छन् । तीमध्ये १०० भन्दा बढी प्रजाति अत्यन्तै विषालु छन् । कुन च्याउ खाने र कुन नखाने भन्ने वैज्ञानिक पहिचान नहुँदा रैथाने ज्ञानकै भरमा च्याउ टिप्ने गरिन्छ, जुन कहिलेकाहीँ घातक सावित हुने गरेको छ । विषालु च्याउका कारण सीमान्तकृत जनता चुपचाप ज्यान गुमाइरहेका छन् ।

कहिलेकाहीँ खानेकुराको सही पहिचान नहुँदा पनि बाँच्नका लागि खाएको खानाले मृत्युको मुखमा पुर्याउँछ । नेपाली खानाको पहिचान गर्न नसक्दा बाँच्नका लागि खाएको खानाका कारण मर्न बाध्य छन् । निकै पोषणयुक्त मानेकै खानेकुराको छनौट सही भएन भने त्यसले मृत्यु निम्त्याउने गर्छ । खास गरी वर्षायाम सुरु भएसँगै पानी पर्दा खेती किसानी गर्ने वर्गलाई एउटा छुट्टै रौनक हुन्छ । तर ग्रामीण तथा जंगल आसपासको क्षेत्रमा बस्ने गरिब र सीमान्तकृत समुदायका लागि भने यो याम एउटा अदृश्य त्रास बनेर आउँछ ।

गरिबी र अभावले मान्छेलाई बाच्न कहाँ सजिलो हुन्छ र ? जिउन खाएको खानाले मर्ने रहर कोसँग हुन्छ र ? तर, पनि बर्सेनि विषालु च्याउ खाएर ज्यान गुमाउने नेपाली अझै छन् । ‘जान्नेलाई श्रीखण्ड, नजान्नेलाई खुर्पाको बिँड’ भने झै त्यही च्याउ कहिले पूर्ण पोषणयुक्त त कहिले ज्यान लिने खान्की बन्ने गरेको छ । खासमा च्याउ खानका लागि कति उचित, कुन ठिक भन्ने बारेमा जानकारी र चेतना नभएका कारण पनि समस्या निम्तने गरेको बिज्ञ बताउँछन् ।
विषालु च्याउ खाएर मान्छेको ज्यान जाने क्रम लामो समयदेखि चलिरहँदा पनि त्यस बारेमा पर्याप्त ध्यान दिएको पाइन्न । बाढी, पहिरो र सर्पदंशजस्ता दृश्य विपद्बारे सरकारले चासो राख्छ र केही हदसम्म विपद् जोखिम तथा न्यूनीकरणका काम पनि गर्छ । तर त्यही वर्षाको ओससँगै जंगलमा उम्रिने विषालु च्याउले बर्सेनि कति मानिसको मृत्यु हुन्छ ? त्यसको आधिकारिक तथ्यांकसमेत छैन । घटना घट्छ, समाचार बन्छ, केही समयका लागि मानवीय समवेदना देखाइन्छ । अहिलेसम्मको अवस्था यतिमै सीमित छ ।

समाचारमा आएका घटना अनुसार यस वर्षको प्रि–मनसुन सुरु हुन नपाउँदै जंगली च्याउ खाएर केही मानिसले ज्यान गुमाइसकेका छन् । विज्ञका अनुसार नेपालमा हरेक वर्ष ३० देखि ४० जनाको मृत्यु विषालु च्याउका कारण हुने गरेको अनुमान छ । विडम्बना राज्यको प्राथमिकतामा नपर्दा यो अझै पनि जनस्वास्थ्यको गम्भीर समस्या बनेको छ ।

००००

गरिबी र जंगली च्याउ

जंगली च्याउका केही जात विषालु हुने गरेको छ । जसलाई खाएर मान्छे एक, दुई होइन्, परिवार नै उजाड भएका घट्ना पनि छन् । जंगलमा गएर विष खोजेर ल्याएर खाने रहर कसको पो होला र ? भोक मेट्ने बाध्यताका कारण जंगली च्याउ खाएर बिरामी पर्ने वा ज्यान गुमाउनेमा अधिकांश विपन्न, दलित र सीमान्तकृत समुदायका मानिस पर्ने गरेका छन् । जंगल आसपास बस्ने यी समुदायका धेरै घरमा साँझ–बिहान के खाने भन्ने पिरलो हुन्छ । जब ताउलो भर्ने अनाज हुँदैन उनीहरूका लागि जंगल चाहार्नु बाध्यता हो ।

आजका दिनमा पनि मान्छे जंगली कन्दुमूल खान बाध्य छ र त्यसका कारण ज्यान गुमाइरहेका छन् भन्नु मुलुकका लागि पनि लाजमर्दो कुरा हो । खाद्य असुरक्षा र चरम गरिबीकै कारण उनीहरू परिणामको प्रवाह नगरी जंगल चहार्छन् र थुप्रै प्रजातिका च्याउ टिपेर ल्याउँछन् । आफैँ खान्छन् र निर्दोष बालबालिकालाई पनि खुवाउँछन् । खाएर बाँच्न चाहना राखेका उनीहरू धेरैले बिहान देख्न नपाएको धेरै दृष्टान्त छ ।

विज्ञका अनुसार यो केवल चेतनाको कमी मात्र होइन, भोक मेट्ने बाध्यता पनि हो । राज्यले यसलाई प्राथमिकतामा नराख्नुको एउटा मुख्य कारण पीडितहरू समाजको सबैभन्दा तल्लो तहका र पहुँचविहीन हुनु पनि हो । त्यही च्याउ सहर वा गाउँमा बस्नेले रोजेर खान्छन्, पोषण तत्व पाउँछन् र पेट पनि भर्छन् । यसरी खानेका लागि च्याउ रहर हुन्छ । तर, बाध्यताले खानेहरूका लागि च्याउ जहर बनिरहेको छ ।

विभिन्न अध्ययनका अनुसार नेपालमा कुल १ हजार २९१ प्रजातिका जंगली च्याउ पाइन्छन् । तीमध्ये १०० भन्दा बढी प्रजाति अत्यन्तै विषालु छन् । कुन च्याउ खाने र कुन नखाने भन्ने वैज्ञानिक पहिचान नहुँदा रैथाने ज्ञानकै भरमा च्याउ टिप्ने गरिन्छ, जुन कहिलेकाहीँ घातक सावित हुने गरेको छ । विषालु च्याउका कारण सिमान्तकृत जनता चुपचाप ज्यान गुमाइरहेका छन् ।

राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका अनुसार विषालु च्याउबारे जनचेतनामूलक पम्पलेट छाप्नेबाहेक सरकारले अन्य कुनै ठोस काम गर्न सकेको छैन । जसका कारण देशैभर कतिले च्याउ खाएर ज्यान गुमाए वा कति अपांग भए भन्ने एकीकृत र यकिन तथ्यांक सरकारसँग फेला पर्दैन ।

दुर्गम क्षेत्रमा च्याउ खाएर बिरामी परेकालाई समयमै अस्पताल पुर्याउन नसक्दा र अस्पतालमा पनि यसको निश्चित ‘एन्टिडोट’ नहुँदा मृत्युदर बढी रहको विज्ञ बताउँछन् । जानकारका अनुसार किराले खाएको च्याउ विषालु हुँदैन भन्ने सामाजिक मान्यताले गर्दा पनि मानिस झुक्किने गरेका छन् । जसको परिणाम दःुखद हुने गरेको छ ।

००००

विषालु च्याउ खाँदा देखिने लक्षण

विषालु च्याउ खाएपछि वान्ता, झाडापखाला हुने, टाउको दुख्ने, रिंगटा लाग्ने लक्षण देखिने गर्दछन् । यस्ता लक्षण देखिने बित्तिकै चिकित्सककहाँ जान विज्ञ सुझाउँछन् । विषालु च्याउको सिधा असर कलेजोमा पर्ने र त्यसपछि पित्तमा पुगेर नयाँ तत्वको निर्माण सँगै मिर्गौलाको काम गर्ने क्षमता घटाएर कलेजो र मिर्गौला फेल भएर मृत्यु हुने चिकित्सक बताउँछन् ।

कुनैकुनै च्याउमा एकदमै कडा खालको प्राणघातक विष पनि पाइने च्याउविज्ञ बताउँछन् । त्यसमध्येको एउटा हो ‘अमोनिटा’ । यो प्रजातिको च्याउले विशेष गरेर कलेजो र मिर्गौलामा गम्भीर असर गर्छ । यदि समयमै उपचार भएन भने बिरामीको ज्यानैसमेत जानसक्ने अथवा मिर्गौला र कलेजो फेर्नुपर्ने अवस्थासम्म आउनसक्ने चिकित्सकको भनाइ छ ।

च्याउमा भएकोे विषको असर खाने बित्तिकै देखिँदैन, ३ दिनदेखि वा ३ हप्तापछि पनि देखिन सक्छ । त्यसबेलासम्म विषले शरीरमा धेरै असर गरिसकेको हुन्छ र ज्यानै जाने जोखिम रहन्छ । त्यस्तै ओरेलिन, सिलिकोविन लगायतका विष छन् जसको अहिलेसम्म एन्टिडोज पनि बनिनसकेको विज्ञ बताउँछन् । त्यसैले ग्रामीण भेग जहाँ बर्सेनि विषालु च्याउका कारण मानिसले ज्यान गुमाइरहेका छन् ।

००००

चेतना र गरिबी समस्या – डा.उमा कोइराला, पोषणविद्

डा.उमा कोइराला, पोषणविद्

च्याउ स्वाद र पौष्टिक दृष्टिले निकै राम्रो हो । पैष्टिकता र स्वाद भएका च्याउ मान्छेले रोजेर खाने गरेका छन् । जब मान्छे बाध्यताले च्याउ खान्छ, त्यसका परिणाम भने, सुखद् सुनिने गरेको छैन । नेपालमा हरेक वर्ष वर्षा लागेसँगै विषालु च्याउ खाएको कारण मान्छे मर्ने गरेको दुःखद् खबर सुन्ने गरिएको छ । मर्न मन कसलाई हुन्छ ? तैपनि च्याउ खाएका कारण मान्छे मरिरहेका छन् । यसको पछाडि २ वटा कारण छन् । पहिलो कारण चेतनाको कमी हो । कस्तो च्याउ खाने कहाँबाट ल्याएर खाने भन्ने बारेमा जानकारी नहुँदा मान्छेको मृत्यु हुन्छ । अर्को कुरा भनेको गरिबी हो । अहिले पनि कैयौँ नेपालीलाई जंगलको च्याउ ल्याएर खाने बाध्यता पनि छ ।

यही च्याउ महँगोमा किनेर खाने पनि छन् । च्याउ स्वास्थ्यका लागि निकै हितकर छ तर, त्यही च्याउको बारेमा राम्रो जानकारी र पहिचान नभएका कारण मान्छेले १ जना मात्रै होइन, कहिलेकाहिँ सिंगो परिवारको मृत्यु भएको सुनिन्छ । अहिलेसम्मको घटना हेर्दा च्याउ खाएर मर्ने भनेको गरिब र बिपन्न परिवार नै हुने गरेका छन् । उनीहरूले पनि रहरले पक्कै जंगली च्याउ खाँदैनन ।

यो मौसम जंगलमा प्रशस्त च्याउ पाउने समय हो । त्यसैले पनि मान्छे छाक टार्नका लागि जंगली च्याउ खान्छन् । तर छाक टार्न र बाँच्न खाएको च्याउले मृत्यु ल्याउँछ भन्ने उनीहरूलाई थाहा हुँदैन । जंगली च्याउ कसरी प्रशोधन गरेर खाने भन्ने बारेमा जानकारी नहुन पनि अर्को समस्या हो । कसरी खाने, कुन प्रकारको खाने भन्ने जानकारी छैन । त्यसलाई छुट्याउने प्रविधिको बारेमा उनीहरूलाई थाहा हुँदैन र पहुँच पनि छैन ।

हरेक वर्ष वर्षात्कै बेला च्याउ खाएको कारण मान्छेको निधन भएको सुन्ने गरेका छौँ । केही दिन पहिला पनि सुनियो । त्यसका लागि राज्यले निश्चित योजना बनाउनपर्छ । हरेक वर्ष २–४ वटा घटना भइरहेका हुन्छन् । फेरि पनि मान्छले खाइरहेका हुन्छन्, यसमा राज्यले चासो दिनपर्छ । यसबारेमा एउटा अभियान नै चलाउन जरुरी छ । यस्ता स्वास्थ्य र पोषणका कुरा आममान्छेको घरमा पुर्याउन नै सकेको छैन । सुगममा बस्ने बुझेकाले त आफैँ थाहा पाएको हुन्छ । दुर्गम पिछडिएको ठाउँमा यस बारेमा चेतना जगाउनु पर्छ ।

कुन ठाउँको मान्छेलाई कुन प्रकारको चेतना मुलक सन्देश दिने भन्ने योजना नै छैन । अहिले पनि विषालु च्याउ खाएर मान्छेको मृत्यु भयो भनेको सुन्नु लाजमर्दो कुरा हो । राज्यले नागरिकलाई कस्तो चेतना दिएको छ भन्ने यसले देखाउँछ । हरेक वर्ष मान्छे मरिरहेका छन्, फेरि पनि खाइरहेका छन् । यसमा त सरकारले खबरदारी गर्नुपर्छ । मरिन्छ भन्ने जानेर त कसैले खाँदैन होला ! कुन मौसममा कस्ता समस्या आउन सक्छ भनेर क्यालेन्डर नै बनाएर त्यस्ता ठाउँमा सन्देश पुर्याउनु पर्छ । के खाने के नखाने कस्तो खाने भन्ने बारेमा सचेत गराउन आवश्यक छ ।

हरेक वर्ष विषालु च्याउ खाएर मान्छे मर्नुमा राज्यले खासै वास्ता गरेको पाइन्न । कतैबाट एनजिओ, आइनजिओ आएर केही गरे मात्रै हो । सरकारका तर्फबाट मान्छे मरेपछि राहत दिने बाहेक केही गरेको देखिन्न । यस्ता विषयमा राज्यले चासो लिएर काम गर्नुपर्ने हो । स्कुलमा पढ्ने केटाकेटीलाई मात्रै त्यस बारेमा राम्रोसँग जानकारी गराए पनि उनीहरूले आफ्ना अभिभावकलाई भन्छन् । योजना नै बनाएर काम गर्न जरुरी छ ।

यो एक वर्ष वा कहीँको समस्या होइन, हरेक वर्ष ५–१० वटा घटना हुन्छन् । कतिको परिवारै समाप्त भएका घटना सुनिन्छ । हेर्दा सानो लाग्न सक्छ तर, यो गम्भीर विषय हो । यसमा राज्यले पहल गर्नुपर्छ । दुर्गम, पिछडिएका र सम्भाव्य ठाउँमा चेतनामूलक काम गर्न आवश्यक छ । ती क्षेत्रका स्वास्थ्यचौकीमा यससम्बन्धी डाक्टर पनि तयारी अवस्थामा पनि रहेको पाइन्न । यसमा राज्यको ध्यान जानुपर्छ ।

प्रतिक्रिया