६ वटै महानगरले ल्याए बजेट, कसको कति ?

काठमाडौँ । देशका ६ वटै महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि बजेट सार्वजनिक गरेका छन् । कानुनी व्यवस्थाअनुसार असार १० गतेभित्र बजेट ल्याउनुपर्ने भएकाले बुधबारसम्म सबै महानगरले बजेट सार्वजनिक गरेका हुन् । काठमाडौँ महानगरपालिकाले सबैभन्दा ठुलो र वीरगन्ज महानगरपालिकाले सबैभन्दा सानो आकारको बजेट ल्याएका छन् ।

काठमाडौँ महानगरपालिकाले आगामी आवका लागि २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपैयाँको बजेट ल्याएको छ । महानगरले बजेटमा आन्तरिक आय र बैँक मौज्दात गरी २० अर्ब १८ करोड ६३ लाख २९ हजार रुपैयाँको स्रोत व्यवस्थापन हुने अनुमान गरेको छ भने संघ तथा प्रदेश सरकारबाट ससर्त, समानीकरण अनुदान र राजस्व बाँडफाँटमार्फत ४ अर्ब ९३ करोड ६७ लाख २६ हजार रुपैयाँ तथा जनसहभागिताबाट १ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ ।

भरतपुर महानगरपालिकाले ५ अर्ब ५१ करोड ७० लाख २३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । महानगरले आन्तरिक आय २ अर्ब ४ करोड, संघ तथा प्रदेशबाट वित्तीय हस्तान्तरणमार्फत् २ अर्ब १७ करोड ७३ लाख ९८ हजार, संघीय राजस्व बाँडफाँटबाट ३३ करोड १२ लाख ६४ हजार र प्रदेश राजस्व बाँडफाँटबाट १३ करोड ४० लाख ६१ हजार रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरेको छ । साथै नगर विकास कोषबाट ४ करोड, जनसहभागिताबाट ३ करोड, बैंक मौज्दात ७४ करोड ५० लाख र सडक बोर्डबाट १ करोड ९३ लाख प्राप्त हुने अनुमान छ ।

महानगरले सामाजिक सुरक्षा तथा अन्तरसरकारी अख्तियारी शीर्षकमा १ अर्ब २५ करोड, अधुरा योजनाको भुक्तानी तथा सम्पन्नताका लागि ६० करोड, सडक तथा सार्वजनिक भवन मर्मतका लागि ६ करोड, गौतमबुद्ध क्रिकेट रंगशालाका लागि १४ करोड र निर्माणाधीन महानगर भवनका लागि ९ करोड रुपैयाँ विनियोजन गरेको छ । २९ वटा वडाका योजनाका लागि ९४ करोड ९० लाख बजेट छुट्याइएको छ ।

शिक्षातर्फ सामुदायिक विद्यालयको खानेपानी तथा विद्युत् महसुल अनुदान, बालविकास, शैक्षिक प्रोत्साहन तथा विद्यालय समायोजन कार्यक्रमका लागि ११ करोड ७५ लाख रुपैयाँ विनियोजन गरिएको छ । मासिक ७ हजार लिटरसम्म खानेपानी उपभोग गर्ने उपभोक्ताको महसुल छुटका लागि २ करोड, विपद् व्यवस्थापन कोषमा १ करोड २५ लाख तथा एम्बुलेन्स, उद्धार तथा शववाहनका लागि १ करोड रुपैयाँ छुट्याइएको छ ।

यस्तै, वीरगन्ज महानगरपालिकाले आगामी आवका लागि ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको बजेट ल्याएको छ । कुल बजेटमध्ये पुँजीगततर्फ १ अर्ब ९६ करोड ९९ लाख ८४ हजार, वित्तीय व्यवस्थापनतर्फ ५ करोड तथा चालुतर्फ २ अर्ब ४० करोड ३४ लाख ६९ हजार रुपैयाँ विनियोजन गरिएको छ । संघीय अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ९८ करोड २९ लाख, आन्तरिक राजस्वबाट १ अर्ब ४८ करोड, संघीय राजस्व बाँडफाँटबाट २४ करोड ६८ लाख ८३ हजार, प्रदेश वित्तीय हस्तान्तरणबाट ५ करोड २८ हजार तथा प्रदेश राजस्व बाँडफाँटबाट २ करोड ६७ लाख १४ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

विराटनगर महानगरपालिकाले ३ अर्ब ५६ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । पूर्वाधार विकासमा १ अर्ब ६० करोड ३९ लाख ३२ हजार, सामाजिक विकासमा २६ करोड ५० लाख ५९ हजार, आर्थिक विकासमा ३ करोड २६ लाख ३७ हजार, सुशासन तथा संस्थागत विकासमा २ करोड ९३ लाख १० हजार, वन वातावरण तथा विपद् व्यवस्थापनमा २ करोड ५९ लाख ६० हजार तथा चालु खर्चमा ७६ करोड २८ लाख ७८ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

पोखरा महानगरपालिकाले आगामी आवका लागि ७ अर्ब १५ करोड २५ लाख रुपैयाँको बजेट ल्याएको छ । कुल बजेटमध्ये ५५.१ प्रतिशत चालु र ४४.९ प्रतिशत पुँजीगत खर्चतर्फ विनियोजन गरिएको छ । संघीय सरकारबाट ३ अर्ब १८ करोड ६० लाख तथा गण्डकी प्रदेश सरकारबाट ९ करोड १५ लाख ३६ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । महानगरले आन्तरिक तथा अन्य स्रोतबाट २ अर्ब ४ करोड ७३ लाख ९१ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको छ ।

ललितपुर महानगरपालिकाले आगामी आवका लागि ७ अर्ब ४८ करोड ८७ लाख ८० हजार रुपैयाँको बजेट ल्याएको छ । चालुतर्फ ३ अर्ब २५ करोड र पुँजीगततर्फ ४ अर्ब २३ करोड रुपैयाँ विनियोजन गरिएको छ । स्रोत व्यवस्थापनतर्फ संघीय सरकारबाट १ अर्ब ३६ करोड, बागमती प्रदेशबाट १७ करोड ६३ लाख, आन्तरिक स्रोतबाट ३ अर्ब ३५ करोड तथा अन्तरसरकारी अख्तियारीबाट १ अर्ब ६ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । बाँकी १ अर्ब ४७ करोड रुपैयाँ नगद मौज्दातबाट व्यवस्थापन गरिने महानगरले जनाएको छ ।

प्रतिक्रिया