
काठमाडौँ । खाद्य तथा पोषण सुरक्षाको मुख्य आधार मानिने धान खेतीमा देशका साढे २७ लाख कृषक परिवार आबद्ध रहेका छन् । कृषि विभागका अनुसार हाल देशभर २७ लाख ६५ हजार कृषक परिवार धान खेतीमा आबद्ध छन् । विभागकाअनुसार राष्ट्रिय कृषि गणना २०७८ अनुसार कुल खेतीयोग्य जमिनको ५४ प्रतिशत क्षेत्रमा धान खेती हुने गरेको छ । धान उत्पादनबाट वार्षिक करिब २ खर्ब रुपैयाँ बराबरको आर्थिक योगदान पुग्ने सरकारी तथ्यांक छ ।
गत ५ वर्षमा धानको उत्पादकत्व प्रतिहेक्टर ३.८० मेट्रिक टनबाट बढेर ४.१९ मेट्रिक टन पुगेको छ । आर्थिक वर्ष २०८१÷०८२ मा १४ लाख २० हजार ६३६ हेक्टर क्षेत्रफलबाट ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन धान उत्पादन भएको थियो । यद्यपि नेपाललाई वार्षिक करिब ७० लाख मेट्रिक टन धान आवश्यक पर्ने भएकाले अझै करिब १० लाख मेट्रिक टन धान अपुग रहेको विभागले जनाएको छ ।
विभागका अनुसार पछिल्ला वर्षहरूमा धान खेतीको क्षेत्रफल घट्दै गए पनि उन्नत बिउ, मलको प्रयोग तथा आधुनिक प्रविधिका कारण उत्पादकत्व बढेको छ । साथै उपभोक्ताको खाने बानी परिवर्तनसँगै मसिनो तथा बास्नादार चामलको माग बढ्दा चामल आयात पनि उल्लेख्य रूपमा वृद्धि भएको छ ।
हाल १८ जिल्लाका ५८ स्थानीय तहमा चैते धान प्रवद्र्धन, गुणस्तरीय बिउ उत्पादन, हर्दिनाथ–१ र हर्दिनाथ–३ वर्णशंकर जातको विस्तार, २१ जोन र ५ सुपरजोनमार्फत यान्त्रिकीकरण, बाली बीमा प्रिमियममा अनुदान तथा न्यूनतम समर्थन मूल्य निर्धारणजस्ता कार्यक्रम सञ्चालन भइरहेका छन् । साथै, महोत्तरी, सर्लाही, नुवाकोट र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का ८ स्थानीय तहमा क्राफ्ट नेपाल परियोजना कार्यान्वयनमा ल्याइएको छ ।
२३औँ राष्ट्रिय धान दिवसको तयारी
सरकारले यस वर्षको २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८३ ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नारासहित विविध कार्यक्रम गरी मनाउने भएको छ । जलवायु परिवर्तनका चुनौतीबीच धान उत्पादन बढाउन जलवायुमैत्री प्रविधिको विकास, विस्तार र प्रयोगलाई विशेष प्राथमिकता दिइएको कृषि विभागले जनाएको छ ।
यस वर्षको राष्ट्रिय धान दिवस असार १५ गते नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गत राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र, खुमलटारमा विशेष समारोहका साथ मनाइने भएको छ । कार्यक्रममा धान उत्पादन तथा अनुसन्धान क्षेत्रमा योगदान पु¥याएका कृषक, वैज्ञानिक, उद्यमी र पत्रकारलाई सम्मान गरिनेछ भने सामूहिक रोपाइँ कार्यक्रम पनि आयोजना गरिनेछ ।
जलवायु परिवर्तनका कारण बाढी, पहिरो तथा सुक्खाले धान खेतीमा गम्भीर असर पारिरहेको भन्दै सरकारले यस वर्ष जलवायु अनुकूल खेती प्रणालीलाई विशेष प्राथमिकता दिएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले सुक्खा तथा डुबान सहन सक्ने धानका नयाँ जातहरू विकास गरी किसानसम्म विस्तार गरिरहेको जनाएको छ । साथै कालो धान, कालानमक, बासमतीलगायत रैथाने तथा पोषणयुक्त जातहरूको संरक्षण र प्रवद्र्धनमा पनि जोड दिइएको छ ।
कृषि विभागका महानिर्देशक तथा मूल समारोह समितिका अध्यक्ष प्रकाश कुमार सञ्जेलले राष्ट्रिय धान दिवसले धान उत्पादन वृद्धि, खाद्य तथा पोषण सुरक्षा र धानमा आत्मनिर्भरताका लागि सरकार तथा सरोकारवालाबीच थप सहकार्यको वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गरेका छन् । साथै प्रदेश, स्थानीय तह तथा सञ्चारमाध्यमलाई पनि धान दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी जनचेतना अभिवृद्धि गर्न आग्रह गरिएको छ ।
प्रतिक्रिया