
काठमाडौँ । विश्व फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता फिफा विश्वकपको समूह चरण सुरु हुनुअघि धेरैले यसको नयाँ ढाँचाप्रति आशंका व्यक्त गरेका थिए । टोलीहरूको संख्या बढाइएकाले प्रतिस्पर्धाको स्तर कमजोर हुने, समूह चरणमा रोमाञ्चकता कम हुने र धेरै खेल औपचारिकतामा सीमित रहने अनुमान गरिएको थियो । तर प्रतियोगिताको समूह चरण समाप्त हुँदासम्म ती अधिकांश अनुमान गलत सावित भएका छन् । उल्टै, यसपटकको विश्वकपले दर्शकलाई रोमाञ्च, नाटकीय मोड, उत्कृष्ट गोल र नयाँ स्टार खेलाडीहरूको उदयमार्फत अविस्मरणीय अनुभव दिएको छ ।
समूह चरणको अन्तिम दिन नै प्रतियोगिताले आफ्नो वास्तविक रोमाञ्च देखायो । अस्ट्रियाका सासा कालाज्ड्जिचले इन्जुरी समयको ९६औँ मिनेटमा गरेको बराबरी गोलले टोलीलाई अल्जेरियाविरुद्ध ३–३ को बराबरी दिलाउँदै नकआउट चरणमा पु¥यायो । केही क्षणअघि मात्र अल्जेरियाले अग्रता लिएको थियो र जितको नजिक पुगेको देखिन्थ्यो । तर अन्तिम समयमा भएको गोलले खेलको परिणाम मात्र होइन, प्रतियोगिताको कथालाई पनि नयाँ मोड दियो । यदि दुवै टोलीले गोलरहित बराबरीमा खेल टुंग्याएका भए पनि उनीहरू अर्को चरणमा पुग्ने निश्चित थियो । तर सुरक्षित नतिजा रोज्नुको सट्टा दुवैले आक्रामक खेल प्रस्तुत गरे र दर्शकलाई ६ गोलको रोमाञ्चक खेल उपहार दिए । यही शैलीले यस विश्वकपको समूह चरणलाई विशेष बनाएको हो ।
यसपटक समूह चरणमा कुल २१५ गोल भएका छन्, जुन विश्वकप इतिहासकै समूह चरणको सर्वाधिक गोल संख्या हो । खेलको संख्या बढेकाले मात्र यो सम्भव भएको होइन । प्रतिखेल औसत २.९९ गोल भएको तथ्यांकले पनि प्रतियोगिताको आक्रामक शैलीलाई पुष्टि गर्छ । सन् १९५० को दशकयता समूह चरणमा यति धेरै औसत गोल पहिलोपटक देखिएको हो । धेरै खेलहरू प्रतिस्पर्धात्मक रहे र एकतर्फी नतिजा पनि अपेक्षाकृत कम देखिए । विश्वकपमा सहभागी टोलीको संख्या बढाएर पुनः ३२ टोलीको ढाँचामा ल्याइएपछि नयाँ टोलीहरूको प्रदर्शनलाई लिएर पनि चासो थियो । तर प्रतियोगितामा पहिलोपटक वा लामो समयपछि सहभागी भएका अधिकांश राष्ट्रहरूले आफूलाई कमजोर प्रमाणित गरेनन् । बरु उनीहरूले विश्व फुटबलमा नयाँ सम्भावना देखाएका छन् ।
कुरासाओले जर्मनीविरुद्ध गरेको बराबरी गोल त्यहाँका समर्थकका लागि सधैँ सम्झनलायक क्षण बनेको छ । जोर्डनले ३ दवटै खेल गुमाए पनि प्रत्येक खेलमा गोल गर्न सफल भयो, जसमा साविक विजेता अर्जेन्टिनाविरुद्धको गोल पनि समावेश छ । त्यस्तै, केप भर्डेले उत्कृष्ट प्रदर्शन गर्दै समूह चरणभर अपराजित रह्यो र अब अन्तिम ३२ मा लियोनेल मेसीको टोलीसँग प्रतिस्पर्धा गर्ने तयारीमा छ । प्रतियोगितामा उनीहरूको यात्रा धेरैका लागि प्रेरणादायी बनेको छ ।
विश्व फुटबलका सुपरस्टार मेसीले पनि आफ्नो प्रभावशाली प्रदर्शनलाई निरन्तरता दिएका छन् । अल्जेरियाविरुद्धको ह्याट्रिकले उनले प्रतियोगितालाई रोमाञ्चक बनाउने संकेत दिएका थिए । तर गोलको दौडमा उनी एक्ला छैनन् । ब्राजिलका भिनिसियस जुनियर, फ्रान्सका ओस्मान डेम्बेले, नर्वेका एर्लिङ हालान्ड र फ्रान्सकै केलियन एमबाप्पे पनि गोल्डेन बुटको प्रतिस्पर्धामा छन् । यी सबै खेलाडी विश्व फुटबलका सर्वश्रेष्ठ खेलाडीहरूको सूचीमा पर्ने नाम हुन् र उनीहरूले आफ्नो स्तरअनुसार प्रदर्शन गरेका छन् ।
यद्यपि केही आलोचकहरूले गोल संख्या बढ्नुको कारण अपेक्षाकृत कमजोर टोलीहरूमाथि ठुला टोलीहरूले धेरै गोल गर्नु पनि भएको टिप्पणी गरेका छन् । यसमा केही सत्यता देखिए पनि विश्वकपको समग्र स्तरलाई यसले कमजोर बनाएको भने देखिँदैन । उदाहरणका लागि, क्रिस्टियानो रोनाल्डोका दुवै गोल उज्बेकिस्तानविरुद्ध आएका छन् भने मेसीले जोर्डनविरुद्ध गोल गरेका छन् । हालान्ड र एमबाप्पेले इराकविरुद्ध २–२ गोल गरेका थिए । इराकको विश्वकप यात्रा पनि रोचक रह्यो । प्रारम्भिक छनोट चरणमा दक्षिण कोरिया र जोर्डनभन्दा पछि परेको इराक दोस्रो चरणमा साउदी अरेबियासँग पराजित भए पनि प्लेअफमार्फत अन्ततः विश्वकपमा स्थान बनाउन सफल भयो । टोलीहरूको संख्या बढाइएका कारण यस्ता अवसर सम्भव भएको हो । यही विषयलाई लिएर घानाका प्रशिक्षक कार्लोस क्वेरोजले प्रतियोगिताको नयाँ ढाँचाप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
उनका अनुसार धेरै टोलीलाई विश्वकपमा सहभागी गराउँदा प्रतियोगिताको विशेष महत्व घट्न सक्छ । विश्वकप दुर्लभ अवसर हुनुपर्ने र त्यसको प्रतिष्ठा कायम रहनुपर्ने उनको तर्क छ । उनले आर्थिक स्वार्थका कारण प्रतियोगिताको स्वरूप परिवर्तन भइरहेको टिप्पणी पनि गरेका छन् । यद्यपि समूह चरणको समग्र प्रदर्शन हेर्दा प्रतियोगिताले आफ्नो गुणस्तर गुमाएको देखिँदैन । युरोपका केवल ३ टोली मात्र समूह चरणबाट बाहिरिए । चेक गणतन्त्र सुरुदेखि नै बलियो दाबेदार मानिएको थिएन भने टर्की र स्कटल्यान्ड लामो अन्तरालपछि विश्वकपमा फर्किएका थिए । दक्षिण अमेरिकाबाट उरुग्वे मात्र अर्को चरणमा पुग्न असफल रह्यो, जुन धेरैका लागि अप्रत्याशित नतिजा बन्यो ।
अफ्रिकी टोलीहरूले भने उल्लेखनीय प्रदर्शन गरे । अफ्रिकाबाट सहभागी १० टोलीमध्ये ट्युनिसिया मात्र समूह चरणबाट बाहिरियो । अर्कोतर्फ एसियाका ७ टोली भने नकआउट चरण पुग्न असफल भए । यसले महादेशीय प्रतिस्पर्धाको स्तरबारे पनि नयाँ बहस सुरु गराएको छ । प्रतियोगितामा यसपटक विगतभन्दा धेरै खेल भएका छन् र १६ टोलीलाई मात्र बाहिर पार्न यति ठुलो कार्यक्रम सञ्चालन गरिएको छ । यद्यपि प्रतियोगिता कमजोर भएको भन्ने दाबीलाई मैदानमा भएका खेलहरूले समर्थन गरेका छैनन् । विश्वकप अझै पनि विश्वकै सबैभन्दा प्रतिष्ठित फुटबल प्रतियोगिता बनेको छ, जहाँ प्रत्येक खेलले नयाँ कथा र नयाँ नायक जन्माइरहेको छ ।
यस विश्वकपमा मेक्सिकोका राउल जिमेनेजको भावुक गोल, अमेरिकाका फोलारिन बालोगुनको उत्कृष्ट सुरुआत, बोस्निया–हर्जेगोभिनाका १८ वर्षीय केरिम अलाजबेगोभिचको उदय तथा ४० वर्षीय केप भर्डेका गोलरक्षक भोजिन्हाको प्रेरणादायी प्रदर्शनले प्रतियोगितालाई थप आकर्षक बनाएको छ । त्यस्तै जियोभानी रेयनाको सानदार ट्रिभेला, मार्सेलो बिएल्साको चुनौतीपूर्ण यात्रा, राफिक बेल्घालीको अनौठो गोल तथा केभिन पिनाको व्यक्तिगत कौशलले विश्वभरका समर्थकलाई मनोरन्जन प्रदान गरेका छन् । इक्वेडरको उत्साहपूर्ण खेलशैली, अस्ट्रियाको अन्तिम समयसम्मको संघर्ष र साना राष्ट्रहरूको आत्मविश्वासले यो विश्वकपलाई रंगीन बनाएको छ । प्रतियोगिता अब नकआउट चरणमा प्रवेश गरिसकेको छ, जहाँ प्रत्येक खेल जित वा हारको निर्णायक लडाइँ हुनेछ ।
प्रशिक्षक कार्लोस क्वेरोजले समूह चरणलाई केवल तयारीको चरण भन्दै अब वास्तविक परीक्षा सुरु हुने बताएका छन् । उनका अनुसार नकआउट चरणमा कुनै पनि टोलीले गल्ती गर्ने अवसर पाउने छैन, किनकि प्रत्येक खेलमा जित्ने टोली मात्र अगाडि बढ्नेछ । त्यसैले अब विश्वकपको रोमाञ्च अझ तीव्र हुने निश्चित छ र विश्व फुटबलका समर्थकले आगामी दिनमा थप ऐतिहासिक क्षणहरूको अपेक्षा गर्न सक्छन् । (एजेन्सीको सहयोगमा)
यस्तो छ विश्वकपको अन्तिम–३२ समीकरण :
जर्मनीविरुद्ध पाराग्वे ब्राजिलविरुद्ध जापान
फ्रान्सविरुद्ध स्विडेन आइभरी कोस्टविरुद्ध नर्वे
दक्षिण अफ्रिकाविरुद्ध क्यानडा मेक्सिकोविरुद्ध इक्वेडर
नेदरल्यान्ड्सविरुद्ध मोरक्को इंग्ल्यान्डविरुद्ध डिआर कंगो
क्रोएसियाविरुद्ध पोर्चुगल अर्जेन्टिनाविरुद्ध केप भर्डे
स्पेनविरुद्ध अस्ट्रिया अस्ट्रेलियाविरुद्ध इजिप्ट
अमेरिकाविरुद्ध बोस्निया एन्ड हर्जगोभिना स्विट्जरल्यान्डविरुद्ध अल्जेरिया
बेल्जियमविरुद्ध सेनेगल कोलम्बियाविरुद्ध घाना
प्रतिक्रिया