
काठमाडौँ । विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणका खेलहरू समाप्त भएसँगै नकआउट चरण अर्थात् ‘अन्तिम ३२’ को पूर्ण खेल तालिका सार्वजनिक भएको छ । तालिकाअनुसार जुन २८ तारिख आइतबार लस एन्जलस स्टेडियममा दक्षिण अफ्रिका र क्यानाडाबीचको खेलबाट नकआउट चरणको सुरुवात हुनेछ । जुन २९ सोमबार दुई खेल हुनेछन्, जसमा ह्युस्टन स्टेडियममा ब्राजिलले जापानको सामना गर्नेछ भने बोस्टन स्टेडियममा जर्मनी र प्याराग्वेबीच भिडन्त हुनेछ ।
यसैगरी, जुन ३० मंगलबार तीन खेल तय भएका छन् । डलास स्टेडियममा आइभोरी कोस्टले नर्वेसँग खेल्दा न्यूयोर्क न्यूजर्सी स्टेडियममा फ्रान्स र स्वीडेन आमनेसामने हुनेछन् । सोही दिनको अन्तिम खेलमा नेदरल्यान्ड्सले एस्टाडियो मोन्टेरीमा मोरक्कोको चुनौती सामना गर्नेछ ।
जुलाई १ तारिक बुधबार एटलान्टा स्टेडियममा इङ्गल्याण्डले कंगो डिआरसँग, सिएटल स्टेडियममा बेल्जियमले सेनेगलसँग र मेक्सिको सिटी स्टेडियममा मेक्सिकोले इक्वेडरसँग प्रतिस्पर्धा गर्नेछन् ।
जुलाई २ बिहीबार साबिक विजेता स्पेनले लस एन्जलस स्टेडियममा अस्ट्रियाको सामना गर्दा संयुक्त राज्य अमेरिकाले सान फ्रान्सिस्को बे एरिया स्टेडियममा बोस्निया-हर्जगोभिनासँग खेल्नेछ ।
यस्तै, जुलाई ३ शुक्रबार टोरन्टो स्टेडियममा पोर्चुगल र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ भने बिसी प्लेस भ्यानकुभरमा स्विट्जरल्याण्ड र अल्जेरिया भिड्नेछन् । सोही दिन डलास स्टेडियममा अष्ट्रेलियाले इजिप्टको सामना गर्दा मियामी स्टेडियममा अर्जेन्टिना र केप भर्डेबीच प्रतिस्पर्धा हुनेछ । यस चरणको अन्तिम खेल जुलाई ४ शनिबार कान्सास सिटी स्टेडियममा कोलम्बिया र घानाबीच हुने छ ।
प्रतिक्रिया