
इस्ट रदरफर्ड । फिफा विश्वकप फुटबल प्रतियोगिताका क्रममा अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा खेल हेर्न पुगेका हजारौँ समर्थकले स्टेडियम बाहिरको माहोलभन्दा फरक अनुभव अमेरिकन ड्रीम मलमा प्राप्त गरेका छन् ।
स्टेडियम नजिकै रहेको अमेरिकन ड्रीम मललाई विश्वकपका समर्थकलाई लक्षित गरी विशेष फ्यान जोनका रूपमा सञ्चालन गरिएको छ । यहाँ प्रत्यक्ष सांगीतिक प्रस्तुति, खेल प्रसारण, मनोरञ्जनात्मक गतिविधि तथा खानपिनको व्यवस्था गरिएको छ ।
इक्वेडरबाट आएका २९ वर्षीय समर्थक समीर रोड्रिगेजले यस्तो अनुभव आफूका लागि नयाँ भएको बताए । उनले ल्याटिन अमेरिकामा फुटबल खेलअघि समर्थकहरू प्रायः सडक वा रङ्गशालामै भेला हुने गरे पनि अमेरिकामा भने सपिङ मल नै समर्थकहरूको जमघटस्थल बनेको उल्लेख गरे ।
मलमा कोका–कोलाद्वारा आयोजित सुटिङ प्रतियोगिता, मिनी गल्फ, फेस पेन्टिङलगायत गतिविधिमा समर्थकहरूको उल्लेख्य सहभागिता देखिएको थियो । विभिन्न देशका समर्थकले राष्ट्रिय झण्डा बोकेर नाचगान गर्दै खेलअघि उत्सव मनाएका थिए ।
करिब दुई लाख ८० हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको अमेरिकन ड्रीम मलमा वाटर पार्क, मनोरञ्जन केन्द्र, रेस्टुरेन्ट तथा अन्तरराष्ट्रिय ब्रान्डका पसल रहेका छन् । विश्वकप अवधिभर प्रशंसकलाई आकर्षित गर्न मलले विशेष कार्यक्रम सञ्चालन गरिरहेको छ ।
जर्मनीका समर्थक माइकल कार्गले युरोपको फुटबल संस्कृतिभन्दा अमेरिकी अनुभव निकै फरक लागेको बताए । उनले फुटबल रंगशालासँगै विशाल सपिङ मल र मनोरञ्जन केन्द्रको संयोजन आफूका लागि नयाँ अनुभव भएको उल्लेख गरे ।
अर्का जर्मन समर्थक जेन्स जेनुवेनले पनि अमेरिकामा फुटबल प्रतियोगितालाई मनोरञ्जन, किनमेल र पारिवारिक गतिविधिसँग जोडिएको पाएको प्रतिक्रिया दिए । उनका अनुसार युरोपमा समर्थकहरू प्रायः पब वा रंगशालामा केन्द्रित हुने गर्छन् भने अमेरिकामा प्रतियोगितालाई फराकिलो मनोरञ्जन उत्सवका रूपमा प्रस्तुत गरिएको छ ।
प्रतिक्रिया