स्पेनको लक्ष्य समूह विजेता बन्दै नकआउटमा पुग्ने, जित्नैपर्ने दबाबमा उरुग्वे

फिफा विश्वकप

काठमाडौँ । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘एच’ को अत्यन्त महŒवपूर्ण खेलमा शुक्रबार स्पेन र उरुग्वे आमनेसामने हुँदै छन् । नकआउट चरणमा स्थान सुरक्षित गर्ने लक्ष्यका साथ मैदान उत्रने दुवै टोलीका लागि यो खेल निर्णायक बन्ने अपेक्षा गरिएको छ । २ पूर्वविजेताबीचको यस खेललाई धेरै फुटबल पण्डितले महाभिडन्तको संज्ञा दिएका छन् । हालसम्मको प्रदर्शनका आधारमा स्पेन समूहको शीर्ष स्थानमा रहेको छ भने उरुग्वे दोस्रो स्थानमा छ ।

स्पेनले आफ्नो विश्वकप यात्रा अपेक्षाअनुसार सुरु गर्न सकेको थिएन । पहिलो खेलमा केप भर्डेसँग गोलरहित बराबरी खेलेको स्पेनमाथि दबाब सिर्जना भएको थियो । तर दोस्रो खेलमा साउदी अरेबियाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै सन् २०१० को विजेता स्पेनले ४–० को शानदार जित निकाल्यो । उक्त खेलमा मिकेल ओयार्जाबालले २ गोल गरे भने युवा स्टार लामिन यमालले पनि गोल गर्दै टोलीको जितमा महŒवपूर्ण योगदान दिएका थिए । २ खेलबाट ४ अंक जोडेको स्पेन हाल समूह ‘एच’ को शीर्ष स्थानमा रहेको छ । स्पेनभन्दा २ अंक कम रहेको उरुग्वे दोस्रो स्थानमा छ भने केप भर्डे तेस्रो स्थानमा रहेको छ ।

अन्तिम खेलअघि समूहको अवस्था निकै रोचक बनेको छ, जसका कारण प्रत्येक टोलीको भविष्य अन्तिम खेलको नतिजाले निर्धारण गर्नेछ । यदि स्पेनले उरुग्वेलाई पराजित गर्न सफल भयो भने समूह विजेताको रूपमा नकआउट चरणमा प्रवेश गर्नेछ । बराबरीको नतिजा पनि स्पेनका लागि पर्याप्त हुन सक्छ, तर केप भर्डेले साउदी अरेबियालाई ५ वा सोभन्दा बढी गोलअन्तरले हराउनुपर्नेछ । यद्यपि प्रशिक्षक लुइस डे ला फुएन्तेको टोली कुनै जोखिम लिन चाहँदैन र स्पष्ट रूपमा जितको लक्ष्यसहित मैदान उत्रने तयारीमा छ ।

स्पेन र उरुग्वेबीचको विगतको प्रतिस्पर्धात्मक इतिहास हेर्दा स्पेनको पलड केही भारी देखिन्छ । दुवै टोलीबीच भएका पछिल्ला १० खेलमध्ये स्पेनले ५ खेल जितेको छ भने ५ खेल बराबरीमा सकिएका छन् । विश्वकपको इतिहासमा पनि यी २ टोली १९५० र १९९० को समूह चरणमा भिडेका थिए, जहाँ खेल बराबरीमा टुंगिएको थियो ।

२ पटकको विजेता उरुग्वेले स्पेनसँग पछिल्लोपटक सन् २०१३ मा कन्फेडेरेसन कपमा प्रतिस्पर्धा गरेको थियो । उक्त खेलमा स्पेनले २–१ को जित निकालेको थियो । त्यसयता उरुग्वे स्पेनविरुद्ध लगातार ३ खेलमा पराजित भएको छ । समग्रमा हेर्दा स्पेनले उरुग्वेविरुद्धका १० भेटमा १६ गोल गरेको तथ्यांकले पनि स्पेनको आक्रामक क्षमता झल्काउँछ । उता उरुग्वेको यात्रा भने मिश्रित रहँदै आएको छ । साउदी अरेबियाविरुद्धको पहिलो खेलमा १–१ को बराबरी खेलेको उरुग्वेले दोस्रो खेलमा केप भर्डेसँग २–२ को बराबरी खेल्यो । लगातार २ खेल बराबरीमा सकिँदा टोलीले केवल २ अंक मात्र जोड्न सकेको छ । यद्यपि समूहको अवस्था खुला रहेकाले उरुग्वेसँग अझै नकआउट चरणमा पुग्ने बलियो सम्भावना कायम छ ।

प्रशिक्षक मार्सेलो बिएल्साको टोलीले स्पेनलाई हराउन सकेमा र अर्को खेलमा केप भर्डेले साउदी अरेबियालाई पराजित गर्न नसकेमा उरुग्वे समूह विजेता बन्न सक्छ । यद्यपि अन्य विभिन्न सम्भावित नतिजाका आधारमा उरुग्वे दोस्रो, तेस्रो वा चौथो स्थानमा समेत रहन सक्ने अवस्था छ । त्यसैले यो खेल टोलीका लागि ‘गर या मर’ को अवस्थामा पुगेको मानिएको छ । विश्व फुटबल इतिहासमा उरुग्वेको विशेष स्थान छ । उरुग्वेले सन् १९३० र १९५० मा विश्वकपको उपाधि जितेको थियो । साथै सन् २०१० को विश्वकपमा चौथो स्थान हासिल गरेको थियो । तर २०२२ को विश्वकपमा भने समूह चरणबाटै बाहिरिनुपरेको थियो । यसपटक त्यो निराशाजनक इतिहास दोहोरिन नदिन उरुग्वे दृढ देखिएको छ ।

टोली समाचारतर्फ हेर्दा उरुग्वेले केही महŒवपूर्ण खेलाडीको अनुपस्थिति बेहोर्नुपर्ने भएको छ । डिफेन्डर रोनाल्ड अराउजो र मिडफिल्डर जियोर्जियन डे अरास्काएटा दुवै पिँडुलाको चोटका कारण उपलब्ध हुने छैनन् । यद्यपि टोलीमा अन्य कुनै नयाँ चोटको समस्या देखिएको छैन । आक्रमण पंक्तिमा भने प्रशिक्षक बिएल्साले परिवर्तन गर्न सक्ने सम्भावना रहेको छ । फेडेरिको भिनासको स्थानमा डार्विन नुनेजलाई सुरुआती रोजाइमा राख्ने चर्चा भइरहेको छ । केप भर्डेविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका अगस्टिन कानोब्बियो र माक्सी अराउजोले आफ्नो स्थान कायम राख्ने अपेक्षा गरिएको छ भने नुनेजले मुख्य स्ट्राइकरको भूमिका निर्वाह गर्न सक्छन् ।

स्पेनतर्फ पनि केही परिवर्तनको सम्भावना छ । भिक्टर मुनोज अझै पूर्ण रूपमा फिट नभएको कारण उनको सहभागिता अनिश्चित छ । यद्यपि युवा सनसनी लामिन यमाल पुनः सुरुआती टोलीमा रहने लगभग निश्चित छ । एथलेटिक बिल्बाओका विंगर निको विलियम्सले हालसम्म दुई खेलमा वैकल्पिक खेलाडीको रूपमा अवसर पाए पनि उरुग्वेविरुद्ध भने सुरुदेखि मैदान उत्रन सक्ने सम्भावना छ । मिडफिल्डमा डानी ओल्मोले पछिल्लो खेलमा उत्कृष्ट प्रदर्शन गरेका कारण पुनः सुरुआती टोलीमा स्थान बनाउने देखिन्छ । त्यसका कारण फाबियन रुइज बेन्चमा बस्नुपर्ने हुन सक्छ । निको विलियम्स टोलीमा आएमा एलेक्स बेएनाले स्थान गुमाउन सक्छन् । साउदी अरेबियाविरुद्ध २ गोल गरेका मिकेल ओयार्जाबाल पनि आक्रमणको मुख्य हतियारका रूपमा मैदान उत्रने अपेक्षा गरिएको छ ।

सम्भावित टोलीअनुसार उरुग्वेको सुरुआती ११ मा मुस्लेरा, भरेला, जिमेनेज, कासेरेस, ओलिभेरा, बेन्टानकुर, उगार्टे, भाल्भेर्दे, कानोब्बियो, नुनेज र अराउजो रहने सम्भावना छ । यता स्पेनले सिमोन, पोरो, कुबार्सी, लापोर्टे, कुकुरेला, पेड्री, रोड्री, ओल्मो, यामाल, ओयार्जाबाल र निको विलियम्सलाई सुरुआती टोलीमा उतार्न सक्छ । दुवै टोलीका लागि अत्यन्त महŒवपूर्ण मानिएको यो खेलमा स्पेन जित निकाल्दै समूह विजेताको रूपमा अगाडि बढ्न चाहन्छ भने उरुग्वेले आफ्नो विश्वकप यात्रा जोगाउन जित अनिवार्य जस्तै भएको छ । त्यसैले नेपाली समयअनुसार शनिबार बिहान ५ः४५ मा हुने यो प्रतिस्पर्धा समूह चरणकै सबैभन्दा रोमाञ्चक र निर्णायक खेलमध्ये एक बन्ने अपेक्षा गरिएको छ ।

प्रतियोगिताअन्तर्गत स्पेन र उरुग्वे रहेकै समूह ‘एच’ अन्तर्गतको अन्य खेल पनि यसै समयमा हुनेछ । जसमा केप भर्डे र साउदी अरेबिया भिड्नेछन् । शनिबार बिहान समूह ‘आई’ का २ टोली आमनेसामने हुनेछ । जहाँ नकआउटमा स्थान बनाइसकेका नर्वे र फ्रान्सबीच १२ः४५ बजे भिडन्त हुनेछ । यी २ टोलीको नतिजाले समूह विजेताको टुंगो लगाउने छ । यसै समूहको अर्को खेल सेनेगल र इराकबीच हुनेछ । यो खेल जित्ने टोलीको नकआउट सम्भावना जीवितै रहनेछ । यस्तै, बिहान ८ः४५ बजे समूह ‘जी’ का खेल हुनेछन् । जसमा न्युजिल्यान्ड र बेल्जियम तथा इजिप्ट र इरानबीच खेल हुनेछ । यस समूहबाट इजिप्टले नकआउटमा स्थान सुरक्षित गरिसकेको छ । अन्य तीनै टोलीको पनि नकआउट सम्भावना जीवितै छ । यसर्थ, यी २ खेल पनि रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया