
आगामी महिना विश्वकप फुटबल विजेता टोलीले ट्रफी उचालिरहँदा उक्त समारोहमा मैदानमै पुग्ने पहुँचसहित ठ्याक्कै मध्य भागको ६ वटा पहिलो पंक्तिका टिकट ४० लाख डलर (झन्डै ६० करोड ४४ लाख रुपैयाँ) मा २४ घण्टाभन्दा कम समयमा बिक्री भएका छन् । यो नाइट्सब्रिज सर्कलले बिक्री गरेको अति विलासी प्याकेजको हिस्सा हो । अति धनाढ्य ग्राहकहरूलाई उक्त सर्कलले सहयोगीसहितको विशिष्ट सेवा उपलब्ध गराउँछ ।
यो अवसरलाई प्रतियोगिताको इतिहासकै पहिलो भनिएको छ । आमन्त्रित ग्राहकहरूलाई मात्रै यसरी प्रस्ताव गरिने र मूल्यांकन गरेर मात्रै त्यसलाई स्वीकार गरिने जनाइएको छ । बिबिसी न्यूज ब्रजिलसँग कुरा गर्दै नाइट्सब्रिज सर्कलका अध्यक्ष स्टुआर्ट मक्निलले भने, ‘घोषणा गरिएको २४ घण्टाभित्रै यो प्याकेज हाम्रा एक जना सदस्यलाई बिक्री गरिएको थियो ।’
विश्वकपमा सहभागिता जनाउने इच्छा व्यक्त गरेका अति धनाढ्यहरूलाई विलासी प्याकेज बेच्ने कैयौँ कम्पनीमध्ये नाइट्सब्रिज सर्कल पनि एउटा हो । यसपटक पहिलोपटक सबैभन्दा धेरै ४८ देशहरू विश्वकपमा सहभागी भइरहेका छन् र प्रतियोगिता संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडामा भइरहेको छ । विभिन्न १६ वटा सहरमा १०४ वटा खेलहरू भइरहेका छन् ।
नजिकबाट विश्वकपलाई पछ्याइरहेका धेरै समर्थकहरूको लामो र राम्रो योजनासहितको तयारीलाई कैयौँ जटिलताहरूले बाधा पु¥याएका छन् । उच्च टिकट मूल्य, यातायत खर्च र प्रवेशाज्ञा प्राप्त गर्ने कठिनाइजस्ता समस्याहरू देखापरेका छन् । तर उक्त सानो संख्याका समर्थकहरूले अरूभन्दा पूर्ण फरक अनुभव गर्ने छन् । उनीहरू निजी जेट विमानबाट प्रतियोगिता आयोजना हुने सहरमा आइपुग्ने छन् र रंगशालासम्म हेलिकोप्टर वा लिमजिनमा जाने छन् र अन्तिम समयमा निर्णय लिएको खण्डमा पनि भिआइपी क्षेत्रसम्म उनीहरूको पहुँच सुनिश्चित हुने छ । ‘म यो विलासी बजारमा २२ वर्षदेखि छु र यो विश्वकपमा मेरालागि सबैभन्दा आश्चर्य पार्ने कुरा के हो भने पैसा भयो भने व्यावहारिक रूपमा हरेक चिज किन्न पाइन्छ, यो मेरालागि नयाँ कुरा हो,’ मक्निलले भने ।
उनी र विलासिताको क्षेत्रमा काम गर्ने अन्य विज्ञहरू विश्वकपमा रुचि देखाइरहेका ग्राहकहरूका नाम खुलाउँदैनन् । तर उनका अनुसार त्यसमा सेलेब्रटीहरू, अर्बपतिहरू, कम्पनीका संस्थापकहरू, प्रविधि कम्पनीका कार्यकारी अधिकारीहरू र विश्वभरका खेलाडीहरूसहित पर्ने मक्निल बताउँछन् ।
विश्वकपका सबै विलासी प्याकेजहरू १० लाख डलर मूल्यका हुँदैनन्, तर कैयौँ महँगा प्याकेजहरूको मूल्यले डलरमा ‘सहजै ६ अंक नाघ्ने’ गर्छ । त्यसमा निजी जेटहरूदेखि हेलिकोप्टर र विमानस्थलमा भिआइपी सेवा, सुरक्षा टोली र विलासी होटेल चेनमा बसोबाससमेत पर्छन् ।
निकोल वालाक विलासी यात्रा सेवामा दक्षता हासिल गरेको एउटा कम्पनी म्याग्मा ग्लोबलकी उपाध्यक्ष हुन् । उनका अनुसार जोडीका लागि पाँचतारे होटलको बसाइँ, खेलको टिकट, बिजनेस क्लासको उडान र विशिष्ट सुविधासहितको उडान ट्रान्स्फरसहितको सुलभ प्याकेजको मूल्य २५ हजारदेखि ७५ हजार डलरसम्म रहेको छ ।
कतिपय ग्राहकहरूले कैयौँ दिन र विभिन्न सहरहरूका विलासी कार्यतालिकाका लागि उल्लेख्य रूपमा धेरै तिर्ने गर्छन् अरू कतिपयले विश्वकपको यात्रालाई अन्य स्थानसँग जोडेर घुम्ने योजना पनि बनाउँछन् ।
‘मेरा कतिपय ग्राहक लस एन्जलसमा खेलहरू हेर्छन् र उनीहरू केही रात हवाईमा बिताउँछन्,’ वालासले बिबिसी न्यूज ब्राजिलसँग भनिन् । विश्वकपको अन्तिम सप्ताहान्तमा न्यूयोर्कमा विलासी आवासका लागि सहजै डलरको ६ अंकमा खर्च लाग्न सक्ने उनले सुनाइन् ।
न्युयोर्कको फस्र्ट इन सर्भिस ट्राभल नामक कम्पनीकी रणनीतिसम्बन्धी निर्देशक जिना गबर्डका अनुसार अति धनाढ्य प्रशसंकहरूले भिआइपी टिकट र खेलको समयमा शेफहरूले बनाएका खानेकुरासहितका विस्तृत प्याकेज लिन सक्ने विकल्प रहेको बताइन् । उनले प्याकेजअन्तर्गत खेलाडीसँग विशेष भेटको पनि प्रबन्ध मिलाइएको बताइन् । ‘कुन खेल हो भन्ने आधारमा भिआइपी टिकटको मूल्य ५ हजार डलर प्रतिव्यक्तिबाट सुरु हुन्छ, १ भन्दा बढी खेल र सहर पुग्ने हो भने मूल्य लाखौँ डलर पुग्छ’, उनले भनिन् ।
निश्चित खेलहरूमा रंगशालासम्म पुग्न उपलब्ध यात्राको विकल्पभन्दा बढी माग हुन सक्छ । ‘विमानको संख्या र अवतरण गर्न उपलब्ध स्थानहरू सीमित छन्,’ उनी भन्छिन्, ‘यस्तो अवस्थामा, निजी चालकसहितको विलासी कार एउटा समाधान हो ।’ वालाकका अनुसार सबै भिआइपीहरूले पहिलो पंक्तिको नै टिकट खोज्दैनन् । धेरै जनाका लागि गोपनीयता र विशेष सेवाहरूमा पहुँच प्राथमिकता हो । उनीहरू पूर्ण भिआइपी अनुभव चाहान्छन् ।
औसत समर्थकहरूले खाजा र पेयपदार्थ किन्दा लाइनमा समय बिताउनुपर्छ, तर यस्ता ग्राहकहरूको फाइन डाइनिङसहितको निजी लाउन्जमा पहुँच हुने उनी बताउँछिन् । यस्ता ग्राहकहरूलाई सघाउन सुरक्षाकर्मीदेखि निजी शेफसम्मको व्यवस्था गरिएको हुन्छ । गबर्डका विचारमा परामर्शदाताले सोझै त्यस्ता धनाढ्यहरूका निजी सहयोगी वा भ्रमण दल सदस्यसँग संयोजन गरी पूर्वतयारी गर्छन् ।
अन्य समर्थकहरूले जस्तो उनीहरूले यात्राका लागि पूर्वतयारी गर्नु पर्दैन । ‘उनीहरूले आफ्नो समयलाई पैसाभन्दा बढी महत्व दिन्छन् र अधिकांश अवस्थामा अन्तिम क्षणमा निर्णय लिन्छन्,’ वालाक भन्छिन् ।
मक्निलका अनुसार राजनीतिक कारणले पनि अमेरिकाबाहिरबाट पहिला उनका ग्राहकहरूको रुचि कम थियो । तर पछिल्ला हप्ताहरूमा त्यसले गति लिएको छ र अन्तिम १६ टोली छनौट हुने बिन्दुसम्म पुग्दा अनि कुन टोली अघि बढ्छन् स्पष्ट हुँदा यो बढ्ने अपेक्षा गरिएको छ ।
‘वास्तवमा यो हाम्रालागि भर्खरै सुरुआत भएको छ । हामीले सेवा उपलब्ध गराउने सदस्यहरूले अन्तिम मिनेटमा योजना बनाउँछन्,’ मक्निलले भने । धेरै जना निजी जेटमा यात्रा गर्ने भएकाले उनीहरूलाई सबै खेलहरू हेर्न सजिलो रहेको उनले सुनाए । वालाकले प्रतियोगिता प्रारम्भ भएयता माग बढ्दै गएको आफूले देखेको बताइन् ।
मक्निलले खेलबाहेक आफ्नो कम्पनीले पुराना विश्वकप खेलाडीहरूलाई राखेर आयोजना गर्ने दिवाभोजमा पनि आकर्षण रहेको बताए । त्यसले पैसा तिर्न सक्ने समर्थकहरूलाई विश्वचर्चित खेलाडीहरूसँग नजिकैबाट कुराकानी गर्ने मौका दिने छ ।
कतिपयले त खेलाडीहरूलाई नजिकैबाट भेट्न पाइने हुँदा उनीहरूले सञ्चालन गरिरहेका परोपकारी कामका लागि चन्दासमेत दिने गरेको पाइन्छ । बिदाको दिन उनीहरूले केही ग्राहकलाई आफ्नो ट्रेनिङ सेन्टरमा भेट्न सक्छन् । ग्राहकहरूले चन्दा उपलब्ध गराउँछन् र उनीहरूले खेलाडीसँग तस्बिर पनि लिन्छन्, यसो बल खेलेको जस्तो पनि गर्छन् । विश्वकप फाइनलमा अति विशिष्ट पहुँच चाहनेहरूले ४० लाख डलरको प्याकेज छुटाए उनीहरूका लागि नयाँ अवसर रहेको मक्निल सम्झाउँछन् । मैदानको कुनामा रहेका २ सिटमध्ये प्रत्येकको मूल्य मात्रै १५ लाख अमेरिकी डलर रहेको उनी बताउँछन् ।
प्रतिक्रिया