राज्य धान दिवस मनाउँदै, किसान भने मल र मजदुर नपाएर हैरान

oplus_2

आज राष्ट्रिय धान दिवस । हरेक वर्ष यस अवसरमा सम्बन्धित सरकारी निकायले धान रोपेर पर्वकै शैलीमा विभिन्न कार्यक्रम आयोजना गर्ने र बजेट खर्च गर्ने गरेका छन् । तर, वास्तविक किसान भने अझै पनि मल, सिँचाइ, बिउ तथा मजदुर अभावका कारण समयमै धान रोप्न नसकेको गुनासो गर्छन् । मधेसका अधिकांश किसान अहिले पनि अकासे पानीको प्रतीक्षामा छन् । सिँचाइको भरपर्दो व्यवस्था गर्न सरकारले वर्षौंदेखि प्रतिबद्धता जनाउँदै आए पनि व्यवहारमा प्रभावकारी सुविधा उपलब्ध गराउन नसक्दा किसानले समयमै रोपाइँ गर्न नसकेको बताएका छन् ।

मधेस प्रदेशका धनुषा, महोत्तरी, सिरहा, सप्तरी, बारा र रौतहट जिल्लामा सबैभन्दा बढी धान खेती हुन्छ । तर, यस वर्ष कतै पर्याप्त वर्षा नहुनु, कतै बिउको अभाव, कतै रासायनिक मलको समस्या र कतै श्रमिकको कमीले रोपाइँ प्रभावित बनेको छ । खेतीपातीबाट पर्याप्त आम्दानी हुन नसक्दा धेरै युवा रोजगारीको खोजीमा विदेश पलायन भएका कारण कृषि मजदुरको समेत अभाव देखिएको किसान बताउँछन् । यी सबै समस्याका कारण अधिकांश खेत अझै बाँझै छ भने केही ठाउँमा अहिलेसम्म धानको बिउसमेत राखिएको छैन । सरकारले धान दिवसका अवसरमा औपचारिक कार्यक्रमभन्दा किसानका वास्तविक समस्या समाधानतर्फ ध्यान दिनुपर्ने किसानको माग छ ।

अकासे पानीको भरमा खेती गर्दै आएका मधेस प्रदेशका किसान बदलिँदो मौसम र अनियमित वर्षाका कारण थप चिन्तित बनेका छन् । छिटपुट वर्षापछि रोपिएको वा छरिएको धानको बिउ राम्रोसँग उम्रिन नपाउँदै सुक्न थालेपछि किसानको चिन्ता बढेको हो । खेतीपातीलाई नै जीविकोपार्जनको मुख्य आधार बनाएका किसानको अवस्था दिनप्रतिदिन दयनीय बन्दै गएको छ । नेपाललाई कृषिप्रधान देश भनिए पनि किसानका आधारभूत समस्या समाधान गर्न सरकारले प्रभावकारी पहल नगरेको मिथिलाविहारी नगरपालिका, ठेरा टोलका किसान जयप्रकाश यादवको गुनासो छ । उनका अनुसार केही खेतमा रोपाइँ गरिए पनि रासायनिक मलको अभावले किसान चिन्तित छन् । ‘मल लिन डिपोमा जाँदा ‘मल छैन’ भन्दै फर्काइन्छ । यस्तो अवस्थामा किसानलाई खेतीतर्फ आकर्षित गर्न सरकारले समयमै आवश्यक व्यवस्था गर्नुपर्छ,’ उनले भने ।

नगराइन नगरपालिका, जटही टोलका किसान रामपुकार झाका अनुसार जसोतसो रोपाइँ गरिए पनि समयमा मल नपाउँदा अपेक्षाअनुसार उत्पादन गर्न कठिन भएको छ । ‘यसअघि सीमापारिबाट भए पनि मल किनेर ल्याउने सुविधा थियो । तर, यस वर्ष त्यो पनि बन्द गरिएको छ । सरकारले मल ल्याउन पनि नदिने र आफैँ पर्याप्त व्यवस्था पनि नगर्ने हो भने किसानले कसरी खेती गर्ने ?,’ उनले प्रश्न गरे । उनले खेतीपाती नै आफ्नो मुख्य पेसा भए पनि सरकारले आवश्यक कृषि सामग्री सहज रूपमा उपलब्ध नगराउँदा किसान खेती छाडेर वैदेशिक रोजगारीतर्फ जान बाध्य भइरहेको बताए ।

यस्तै, जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा रुपैठाका किसान मोहम्मद हासिम कवारीले गाउँका अधिकांश युवा वैदेशिक रोजगारीमा गइसकेकाले कृषि मजदुरको अभाव भएको बताए । ‘खेत रोपाइँका लागि तयारी अवस्थामा छ, तर बिउ छैन । अरूसँग मागेर ल्याउनुपर्ने अवस्था छ । आवश्यकताअनुसार मल पनि पाइँदैन । सीमावर्ती क्षेत्रबाट ल्याउन खोज्दा पनि विभिन्न समस्या भोग्नुपर्छ । चारैतिरबाट हामी किसान नै समस्यामा परेका छौँ,’ उनले गुनासो गरे ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, मधेस प्रदेशले बर्खे धानलाई लक्षित गर्दै प्रदेशका १३६ वटै स्थानीय तहमा रासायनिक मल वितरण प्रक्रिया अगाडि बढाएको जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म ७ हजार ३२८ मेट्रिक टन युरिया र ६ हजार ६१० मेट्रिक टन डिएपी मल स्थानीय तहहरूमा पठाइसकिएको छ । मन्त्रालयले कृषि सामग्री कम्पनी लिमिटेडबाट प्राप्त युरिया र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट प्राप्त डिएपी मल स्थानीय तहमा पठाइसकेको दाबी गरे पनि अधिकांश स्थानमा अझै डिपो र उपभोक्तासम्म मल पुग्न सकेको छैन ।

मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका मलसम्बन्धी गुनासो सुन्ने अधिकारी रवि बस्नेतले मन्त्रालयको तर्फबाट मल ढुवानी भइसकेको जानकारी दिए । ‘हामीले स्थानीय तहहरूमा मल पठाइसकेका छौँ, तर धेरै पालिकाबाट स्थानीय डिपोसम्म मल नपुगेको गुनासो आइरहेको छ,’ बस्नेतले भने, ‘अहिले देखिएको अवरोध हटाउन हामी समन्वय गरिरहेका छौँ । छिट्टै प्रत्येक पालिकाका डिपो र किसानसम्म समयमै मल उपलब्ध गराउने हाम्रो प्रयास जारी छ ।’ समयमा वर्षा नहुनु, कृषि मजदुरको अभाव हुनु र खेतीका लागि आवश्यक लगानी जुटाउन कठिन हुँदा मधेसका किसान यतिबेला ठुलो समस्यामा परेका छन् । स्थानीय साहुमहाजन र वित्तीय संस्थाबाट समयमै ऋण नपाउँदा खेती सञ्चालन गर्नसमेत सकस भइरहेको किसानको गुनासो छ ।

मधेसमा बल्ल सुरु भयो रोपाइँ

धनुषाको धनुषाधाम नगरपालिका–४ का श्याम यादवलाई यतिबेला धान रोपाइँ गर्न चटारो छ । पर्याप्त वर्षापछि उनलाई धमाधम धान रोपाइँको चटारो भएको हो । अघिल्ला वर्षमा थोरै वर्षा हुँदा ढिला गरी धान रोपाइँ गर्दै आएका यादव यस वर्ष समयमै पर्याप्त वर्षा भएपछि धमाधन धान रोपाइँ गर्न व्यस्त भएका हुन् । ‘पोहोर परार साल साउन–भदौ महिनातिर वर्षा भएको थियो । त्यसैले सोचेजस्तो धान रोपाइँ गर्न सकेका थिएनौँ,’ यादव भन्छन्, ‘यस वर्ष असारको पहिलो हप्तादेखि नै पर्याप्त वर्षा भयो, त्यसैले धान रोपाइँ गर्न भ्याइनभ्याइ छ ।’ हालसम्म करिब ३ बिघा जग्गामा धान रोपाइँ गरिसकेको र अबको केही दिनमै रोपाइँ सकिने उनको भनाइ छ ।

बीउ काढ्दै किसान सुनसरी, १२ असार : सुनसरीको इनरुवा नगरपालिका–४ मा शुक्रबार धान रोपाइँ गर्न बीउ काढ्दै किसान। केही दिनदेखि नियमितजसो पानी परिरहेकाले यहाँका किसानले रोपाइँ गर्न सुरु गरेका छन् ।तस्बिर : नवीन गड्तौला/रासस

यस्तै, धनुषाको सहिद नगरनगरपालिका–६ का रामकिसुन साहलाई पनि रोपाइँ गर्न चटारो छ । अघिल्ला वर्ष बर्सात्को अभावमा धेरै जग्गा बाँझो छाडेका साहले यस वर्ष असारको दोस्रो सातामै अधिकांश खेतमा धान रोपाइँ गरिसकेको बताए । धनुषाका यादव र साह मात्र होइन, मधेस प्रदेशका अधिकांश जिल्लाका किसान यतिबेला रोपाइँमा व्यस्त छन् । लामो समयसम्म पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित भए पनि पछिल्ला दिनमा निरन्तर पानी परेपछि किसान खेतमा व्यस्त भएका हुन् । कतै ब्याड निकालिँदै छ त कतै धान रोप्ने काम भइरहेको छ ।

धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, रौतहट, बारा र पर्सालगायत जिल्लाका किसान रोपाइँमा व्यस्त छन् । मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार असार दोस्रो सातासम्ममा मधेस प्रदेशमा कुल क्षेत्रफलको ४.३६ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । सबैभन्दा बढी महोत्तरीमा ८.१७ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको छ भने सबैभन्दा कम पर्सा र रौतहटमा शून्य प्रतिशत अर्थात् रोपाइँ नै सुरु हुन सकेको छैन । जिल्लागत हिसाबले महोत्तरीमा ४० हजार हेक्टर खेतीयोग्ग जग्गामध्ये ३ हजार २६६ हेक्टरमा रोपाइँ भएको मन्त्रालयका सूचना अधिकारी अजय ज्ञवालीले जानकारी दिए ।

सप्तरीमा ६८ हजार हेक्टर खेतीयोग्य जग्गामध्ये ३ हजार ४०० हेक्टर, बारामा ४५ हजार १०० हेक्टर खेतीयोग्य जग्गामध्ये ३ हजार २५० हेक्टर, धनुषामा ४३ हजार ७०० हेक्टरमध्ये ३ हजार ५९ हेक्टर, सिरहामा ५४ हजार हेक्टरमध्ये २ हजार ७०० हेक्टर र सर्लाहीमा ४२ हजार ६९५ हेक्टरमध्ये १ हजार ३६ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको सूचना अधिकारी ज्ञवालीले बताए । कृषि प्राविधिकका अनुसार असार महिनाभित्र रोपाइँ सम्पन्न गर्न सके उत्पादनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । पर्याप्त चिस्यान भएपछि खेत तयारी, बिउ उखेल्ने र रोपाइँको काम एकै साथ भइरहेको छ ।

यस वर्ष किसानले उन्नत जातका धानको बिउ प्रयोगसँगै रासायनिक तथा प्रांगारिक मलको उचित व्यवस्थापनमा ध्यान दिएका छन् । यद्यपि केही स्थानमा मलको उपलब्धता र सिँचाइ पूर्वाधार अझै चुनौतीका रूपमा रहेको सप्तरीको बोदेबर्साइनका किसान अजयकुमार यादव बताउँछन् । धान नेपालको प्रमुख खाद्यान्न बालीमध्ये एक हो । मधेस प्रदेश देशकै प्रमुख धान उत्पादन क्षेत्र भएकाले यहाँको उत्पादनले राष्ट्रिय खाद्य सुरक्षामा महत्वपूर्ण योगदान पु¥याउने गरेको छ । समयमै पर्याप्त वर्षा भई रोपाइँ सम्पन्न भए उत्पादन वृद्धि हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया