कार्पेटमा टेकेर गमलामा रोपाइँ, एकादेशको कथा बन्यो बेठी !

राष्ट्रिय धान दिवस

पूर्वी पहाड भोजपुरको अरुण गाउँपालिका–६ जरायोटारका राम दाहाल अहिले ८४ वर्षका भए । ४ वर्षअघि उनी सुनसरीको इटहरी सरेका छन् । तर, अहिले पनि जरायोटार–इटहरी ओहोरदोहोर भइरहन्छ । उनले जरायोटारको माया मार्न सकेका छैनन् । यस पटक उनी जरायोटारबाट इटहरी झरेको केही दिनमात्रै भएको छ । ८३ साल लागेपछि पनि उनी १ महिनाजति जरायोटारकै घरमा बसे । अहिले पनि उनकी पत्नी जरायोटारमै छिन् । रामले भने, ‘हाम्रो आउजाउ भइरहन्छ, ऊ उतै छे, म घुँडा र कम्मर दुखेर मात्रै झरेको हुँ ।’


बाल्यकालदेखि ८० वर्ष बिताएको घर, कमाएको बारी, लुँडे दोभानको खेती र साथीभाइको मायाले रामलाई जरायोटारले तानिरहन्छ । गाउँको मायाले आफूलाई नछाडेको सुनाउने उनलाई सहरभन्दा गाउँ नै राम्रो लाग्छ । धान रोप्ने समयको याद त उनलाई कति आउँछ कति । ‘आली काट्ने, आली लाउने, भित्ता खुर्किने, हिल्याउने, बिउ काढ्ने, बाउसे गर्ने, रोप्ने असार–साउन त उतै रमाइलो,’ दाहालले भने, ‘बेठी लगाएर गरिने रोपाइँ त बिर्सिनै सकिँदैन ।’

बेठी लगाएर गरेको रोपाइँ र घरगाउँको याद आए पनि उनले आफैँचाहिँ बेठी लगाएर रोपाइँ कहिल्यै गरेनन् । भोजपुरको ¥याङ, चरम्बी, धनकुटाको लेगुवा–बेलटारमा अरूले लगाएको बेठी धेरैचोटि हेरेका छन्, सहभागी भएका छन् । ‘पहिला–पहिला त मानिसले असारमा बेठी खुब लगाउँथे, अहिले त त्यो प्रचलन नै हरायो,’ दाहालले भने, ‘हुनेखाने जति सबै बसाइँ सरे, तराई झरे, सहर पसे, बेठी लगाउने चलन नै हरायो ।’
उसबेला गाउँका धनीमानी (महाजन) ले बेठी लगाएर रोपाइँ गर्ने गरेको उनले सुनाए । उसबेला बेठी लगाउँदा छरछिमेकीले जनसहित हलगोरु लिएर जाने चलन थियो । दहीचिउरा मात्रै होइन, मासुभात पनि खुवाउने चलन रहेको दाहालले सुनाए । उनले भने, ‘जातअनुसार राँगा, खसी काटेर खुवाउने चलन नै थियो, अहिले त्यो चलन हटेको छ, अहिले त बेठी नै लगाउन छाडे ।’ हिजो बेठी लगाएर रोप्ने खेत आजभोलि बाँझिएका र जंगलामुलुक भएको उनले सुनाए । आफू युवा हुँदा देखेको बेठीको स्मरण मात्रै बाँकी रहेको सुनाउँदै दाहालले भने, ‘खेतमा पञ्चेबाजा बजाइन्थ्यो, दर्जनौँ हलगोरु नारिन्थ्यो, बाउसे गर्ने, रोप्नेको समूह नै हुन्थ्यो ।’


बेठीमा तरुनी–तन्नेरीले असारे भाकामा मायाप्रेमका गीत गाएर रमाइलो गर्थे । रोपाहारले हली र बाउसेलाई लखेटी–लखेटी हिलो छ्यापेको, हिलोमा लडाएको दृश्य मन छुने र हेरिरहुँजस्तो हुने उनले बताए । दाहालका अनुसार जसले बेठी लगाएर रोपाइँ गथ्र्यो, त्यो घरको मालिकलाई (मूलमान्छे) नाचगानसहित ठुलो घरको बीचमा लगेर उभ्याइन्थ्यो, वरिपरि घुमेर धानको बिउले पूजा गरिन्थ्यो । हिलोको टीका लगाइदिइन्थ्यो । असारे गीत गाउँदै लिंगो गाडिन्थ्यो र रोपाहार फरक–फरक दिशामा फर्केर रोप्न सुरु गर्थे । बिउलाई जम्मा गरेर भकारी बाँधिन्थ्यो र रोपाइँ सुरु हुन्थ्यो । रोपारले मेलो उठाउँथे, गह्रो पूरै ढाकेर रोपाइँ गर्ने चलन रहेको उनले सम्झे ।

त्यसबेला कतिपयले रहर र कतिपयले भाकल नै गरेर बेठी लगाउने गरेको उनले सुनाए । केको भाकल गरिन्थ्यो, त्यो भने आफूलाई थाहा नभएको दाहालले सुनाए । त्यसबेला धनीमानी (सम्पन्न) ले बेठी लगाउँदा मासुभात खान पाइने भएकाले पनि मानिस ह्वारह्वार्ती आउने गरेको हुन सक्ने उनले लख काटे । सामान्य र गरिबले बेठी नलगाई नै रोपाइँ गर्ने गरेको उनको अनुभव छ ।

दाहाललाई जस्तै झापा बिर्तामोड–१० चमरधापका हेमराज खनाललाई पनि बेठी खुब मन पर्छ । मावलीले ४५ वर्षअघि लगाएको बेठीको घुरमैलो याद उनको दिमागमा आज पनि छँदै छ । उनी त्यसबेला ५÷६ वर्षका हुँदाहुन् । उमेरले ५ दशक हाराहारीका उनले सुनाए, ‘मामाहरूले चमरधापमा लगाएको बेठीको आलेलि याद आउँछ, सम्झिन्छु— साँच्चै रमाइलो लाग्छ ।’ बेठी देखेको ३८ वर्षपछि खनालले आफैँ अगुवा बनेर ७६ सालमा बेठी लगाए । ७६ सालमा लगाइएको बेठी व्यक्तिगत नभई संस्थागत थियो । विशाल कृषि सहकारीले २ बिघा खेत ३ वर्षका लागि ५० हजार रुपैयाँमा लिजमा लिएको थियो । खेत लिजमा लिएको वर्ष बेठी लगाएर रोपाइँ गरेको व्यवस्थापक खनालले सुनाए ।

‘कृषि नेपालको प्रमुख पेसा हो, हामीले हाम्रा सदस्यलाई कृषिको महŒव बुझाउन बेठी लगाएर रोपाइँ गरेको हो,’ खनालले भने, ‘हाम्रो कृषि सहकारीले बेठी लगाएको हो, त्यसपछि लगाएको छैन, आजभोलि अरूले बेठी लगाएको देखेको पनि छैन ।‘ खनालको भनाइमा सत्यता छ । निम्नवर्गीय बाहेक गाउँघरमा मानिस नै छैनन् । खेत बाँझो पल्टेका छन् । सबै मानिस सहर पसे । उनले भने, ‘सहरमा घरबेटी हुन्छन्, बेठी हुँदैन ।’ कोठामा बस्ने सहरिया मानिस र अहिलेको पुस्तालाई बेठी के हो, त्यो पनि थाहा नभएको उनले बताए । कृषि नेपालीको जीवन जिउने आधार भए पनि यसमा आबद्ध मानिसको संख्या न्यून हुँदै गएको छ । सहरिया मानिसको संख्या अत्यधिक बढेको छ । कृषि हेयको पेसा बन्दा अहिलेको अव्यवस्था आएको खनालको बुझाइ छ ।

‘किसानका लागि कृषि उद्योग, उमंग र उत्सव हो,’ उनले भने, ‘मानिसलाई कृषिमा अभिप्रेरित गर्न र खुसीसाथ धान रोपाइँ गर्न बेठी उपयुक्त माध्यम हो, कसैको ध्यान त्यता जान सकेको छैन ।’ उत्साहपूर्वक कृषि कर्म गर्न पनि बेठी सहायक हुने उनको बुझाइ छ । बेठीमा पुरुषभन्दा पनि महिला उत्साही देखिने गरेको उनले सुनाए । बेठी संस्कृतिसँग पनि जोडिने भएकाले लोप हुनु राम्रो नभएको बताएका खनालले बेठीमा बजाइने पञ्चेबाजा, लोकलयमा गाइने ‘होहो र होहोहो…’ जस्ता असारे गीतले लोकसंगीतको पनि संरक्षण हुने उनको बुझाइ छ । कृषि पेसाप्रति युवा पुस्तालाई आकर्षित गर्न पनि बेठी भरपर्दो माध्यम हुने खनालले बताए ।


‘बेठीमा गाइने गीत, आपसमा खेलिने हिलो र गरिने रमाइलोले चाडकै झल्को दिन्छ,’ उनले भने, ‘बेठीमा महिला दिदीबहिनीको उत्साह बढी हुन्छ, हिलोमा दौडिने, नाच्ने प्रतियोगिता राख्न सक्दा यो बहुआयामिक पनि हुन्छ ।’ असारमा सबैलाई हिलोमा पस्ने रहर हुने भएकाले पनि बेठीको अवसर पारेर रोपाइँ गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्न जरुरी भएको उनले सुझाए । बेठीलाई संस्कृतिसँग जोड्न सक्नुपर्ने उनले औँल्याए ।

लोक संस्कृति र मौलिक परम्परासँग जोडिएको बेठी अचेल लोपोन्मुख कृषि कर्ममा सीमित भएको छ । दाहाल र खनाललाई मात्रै होइन, बेठी सबैलाई मन पर्छ । पञ्चेबाजा र असारे भाकाका लोकलयमा नझुम्ने कोही हुँदैन । तर, आजभोलि बेठी छाडेर कार्पेट र गमला संस्कृति मौलाएको छ । सुटबुटमा सजिएर रातो कार्पेटमा बुट बजार्दै आलिसान ठाउँमा राखिएको गमलामा धान रोप्ने संस्कारले बेठी गुमनाम बनेको धेरैको बुझाइ छ ।
पहिलापहिला खेतालाहरूले पाखुराको बलमा दिनभर गर्ने काम आजभोलि ट्र्याक्टर, पावरटिलर र धान रोप्ने मेसिनजस्ता आधुनिक उपकरणको प्रयोगले एकैछिनमा सकिने गरेको छ । बढ्दो प्रविधिको प्रयोगले धेरै मानिस जम्मा भएर परम्परागत रूपमा गरिने रोपाइँको आवश्यकता नै हटिसकेको अवस्था छ । गाउँघरका युवा र सक्रिय श्रमशक्ति वैदेशिक रोजगारीमा जाने र सहर पस्ने क्रम तीव्र भएको छ । गाउँघरमा रोपाइँ गर्नका लागि आवश्यक खेताला पाउनै मुस्किल हुँदै गएको छ । पर्याप्त जनशक्ति नहुँदा बेठी र सामूहिक कृषि उत्सव सञ्चालन गर्न कठिन भएको छ ।

बेठी लगाउँदा बाजा बजाउने मानिस र धेरै खेतालाका लागि भोजभतेर नै चलाउनुपर्ने हुन्छ । कृषि उत्पादनको लागतभन्दा व्यवस्थापनको खर्च बढी हुने देखिएकाले पनि बेठी ओझेलमा परेको धेरैको बुझाइ छ । बेठीलाई फजुल खर्चका रूपमा हेरिनु पनि लोप हुनुको कारण भएको जानकारहरू बताउँछन् । पञ्चेबाजा बजाउने र बेठीका गीत गाउने पुराना पुस्ताका मानिस घट्नु र युवा पुस्तामा मौलिक सीप र संस्कृति हस्तान्तरण नहुँदा बेठीको रौनक हराएको हो । आपसी सहयोग, पर्म, पालोपालो काम गर्ने प्रचलन हट्दै जानु र श्रम पूर्ण रूपमा व्यावसायिक तथा ज्यालादारी बनेकाले पनि बेठीको चलन हराएको हो । मानिसमा जागेको छिटो काम गर्ने सोचले पुराना परम्परा ओझेलमा परेको बुझ्न गाह्रो छैन ।

कृषिमा आधुनिकीकरण र प्रविधिको बढ्दो प्रयोग, श्रमशक्तिको अभाव, बढ्दो लागत र आर्थिक भार, सामाजिक सोच र जीवनशैलीमा आएको परिवर्तन तथा परम्परागत संस्कृति र बाजा बजाउने पुस्ताको कमी बेठी लोप हुनुका मुख्य कारण भएको जानकारहरू बताउँछन् । समयको अभाव, बढ्दो महँगी, प्रविधिको विकास र युवा पुस्ताको पलायन नै बेठी प्रथा हराउनुका मुख्य कारण हुन् । धान दिवसमा सांकेतिक रूपमा गरिने बेठी कार्यक्रमले कृषि पेसासँग जोडिएको पुरानो संस्कृति जोगाउन असम्भव हुने देखिन्छ ।

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्य

ललितपुर । ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नारासहित सरकारले यस वर्ष २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०८३ मनाउने भएको छ । जलवायु परिवर्तनका चुनौतीबीच धान उत्पादन वृद्धि गर्दै खाद्य तथा पोषण सुरक्षालाई सुदृढ बनाउने उद्देश्यका साथ दिवस मनाउन लागिएको कृषि विभागले जनाएको छ । कृषि विभागले २०६१ सालदेखि मनाउन थालिएको राष्ट्रिय धान दिवसको २३औँ संस्करण आज सोमबार देशभर प्रदेश र स्थानीय तहमा विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गर्दै धान दिवस मनाउन आग्रह गरेको छ ।

कृषि विभागका महानिर्देशक तथा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मूल समारोह समितिका अध्यक्षसमेत रहेका प्रकाशकुमार सन्जेलले धान दिवसले खाद्य तथा पोषण सुरक्षामा धानको महत्व तथा धान प्रवद्र्धनमा सरकारका प्रयासलाई आमनागरिकसम्म पु¥याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै दिवसलाई सफल बनाउन सबै सरोकारवाला तथा सञ्चारमाध्यमलाई सक्रिय सहभागिताका लागि अनुरोध गरेका छन् । महानिर्देशक सन्जेलको आज नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गत राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र खुमलटारमा विशेष समारोहका साथ दिवस मनाइँदै छ । समारोहमा धान उत्पादन, अनुसन्धान तथा प्रवद्र्धनमा योगदान पु¥याएका कृषक, वैज्ञानिक, उद्यमी र पत्रकारलाई सम्मान तथा पुरस्कृत गरिनेछ ।

कृषि विभागका अनुसार नेपालमा ४१ लाख ३१ हजार कृषक घरधुरीमध्ये २७ लाख ६५ हजार घरधुरी धान खेतीमा संलग्न छन् भने कुल खेतीयोग्य जमिनको ५४ प्रतिशत क्षेत्रमा धान खेती हुने गरेको छ । कृषि क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा धानको करिब १३ प्रतिशत तथा कुल खाद्यान्न उत्पादनमा ५० प्रतिशत योगदान छ । पछिल्ला ५ वर्षमा धानको उत्पादकत्व प्रतिहेक्टर ३.८० मेट्रिक टनबाट बढेर ४.१९ मेट्रिक टन पुगेको छ । आर्थिक वर्ष २०८१÷८२ मा १४ लाख २० हजार ६३६ हेक्टर क्षेत्रफलमा खेती गरी ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन धान उत्पादन भएको विभागले जनाएको छ । यद्यपि, देशलाई वार्षिक करिब ७० लाख मेट्रिक टन धान आवश्यक पर्ने भएकाले हाल पनि करिब १० लाख मेट्रिक टन धान अपुग रहेको उल्लेख गरेको छ ।


जलवायु परिवर्तनका कारण हुने सुक्खा, बाढी तथा डुबानजस्ता प्राकृतिक विपद्ले धान उत्पादनमा चुनौती थपिरहेको जनाउँदै सरकारले जलवायु अनुकूल कृषि प्रविधिको अनुसन्धान, विकास र विस्तारलाई प्राथमिकता दिएको जनाएको छ । नेपाल कृषि अनुसन्धान परिषद्ले सुक्खा र डुबान दुवै सहन सक्ने धानका उन्नत जात विकास गरी किसानस्तरमा प्रवद्र्धन गरिरहेको पनि विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया