असार १५ र दही–चिउरा

राष्ट्रिय धान दिवस

आज असार १५ धान दिवस । नेपालको मुख्य खाद्य बालीमा पर्छ धान । नेपालीका लागि धान बाली मात्रै होइन, यो त एउटा इतिहास, संस्कृतिको महत्वपूर्ण अंग बनेको छ । नेपालको इतिहास, सभ्यता र संस्कृतिसँग जोडिएको छ देशको मुख्य खाद्य बाली धान ।

तर आधुनिकता र बैदेशिक रोजगार बढ्दै जाँदा आजको दिन कृषकका लागि जति महत्वपूर्ण भए पनि त्यसको रौनक भने फेरिएको छ । बसाइँसराइ र श्रमप्रतिको विकर्षणले गाउँबाट पनि क्रमशः कृषि बिरानो हुँदै गएको छ । कृषिमा पनि आधुनिकतासँगै फेरिएको परम्परागत रोपाइँ संस्कृतिले आफ्नो पहिचान गुमाउँदै गएको छ । हलो, हली, बाउसे, खेताला, अर्म पर्म जस्ता शब्द अब नौला लाग्न थालेका छन् । गोरुलाई साना ठुला ट्रयाक्टरले विस्थापित गर्दै छन् सँगसँगै खेतिपातीमा सामूहिकता पनि हराउँदै गएको छ ।

जतिसुकै फेरिएको भए पनि असार किसानका लागि ‘मानो रोपेर मुरी उब्जाउने’ समय भनिन्छ । अझ असार १५ भनेपछि खेतको आलीमा बस्ने, हिलो खेल्ने, दही–चिउरा खाने जस्ता कुराले महत्व राख्छ । नेपाली संस्कृतिमा जन्मदेखि मृत्युसम्मका हरेक चाडबाड, रीतिरिवाज र संस्कारहरू धान (भात) बिना अपूर्ण हुन्छन् । खाद्य तथा पोषण सुरक्षाका दृष्टिबाट मानिसलाई आवश्यक पर्ने क्यालोरीको २० प्रतिशत हिस्सा चामलमै पाइन्छ । धान मरुभूमिदेखि समुन्द्र सतहदेखि ३ हजार मिटर उचाइको हिमालयको काखसम्म यसको खेती हुने गर्छ ।

विज्ञका अनुसार नेपालको कुल जमिन मध्ये ३५ प्रतिशतमा धान खेती गरिन्छ । देशको कुल ग्राहस्थ उत्पादनमा धानकोे योगदान सबैभन्दा बढी छ । नेपालको धान खेतीलाई हामी चैते धान, वर्षे धान (असार साउनमा रोपिने), भदैया धान, पछिल्लो धान वा खरुहान, बोरो धान र हिमाली धान गरी विभिन्न प्रकारले चिनिन्छ । नेपालमा लगभग २ हजार जातका धान पाइने गरेको तथ्यांक छ । नेपालमा प्रसिद्ध धानहरूमा पोखरेली जेठो बुढो, सुनौलो सुगन्ध, लल्का बास्मती, काला नमग, जुम्ली मार्सी, जरायल बास्मति, घैया, अनदी आदि रहेका छन् ।
नेपालको कुल खाद्यान्नमा ८० प्रतिशतभन्दा धानको हिस्सा रहेको छ । नेपालको कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान करिब २५ रहेको छ । यसमध्ये कृषि ग्रार्हस्थ उत्पादनमा धानको मात्रै करिब १५ प्रतिशतसम्मको हिस्सा रहेको छ । नेपालमा करिब १३ लाख हेक्टरमा धान खेती हुने गरेको विज्ञ बताउँछन् । तर, खेती गरिने जमिन बर्सेनि घट्दो क्रममा छ । उत्पादन भने बढेको देखिन्छ ।

नेपालमा वार्षिक करिब ६५ लाख मेट्रिक टन धानको माग रहेको छ । आव २०८१÷०८२ मा धान बाली भिœयाइएको कुल क्षेत्रफल १४ लाख २० हजार ६३६ हेक्टर क्षेत्रफल रहेकोमा आव २०८२÷०८३ मा ३.८ प्रतिशतले घटेर १३ लाख ७६ हजार हेक्टर क्षेत्रफल कायम भएको थियो । यसैगरि आव २०८१÷०८२ मा ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन उत्पादन भएको थियो ।
असार १५ को महत्व बढदै गएको भए पनि कृषको समस्या भने त्यसअनुसार बुझेको पाइन्न । यसैगरी परम्परागत कृषिमा आधारिक खाद्यान्न उत्पादन कम हुने, नयाँ पुस्तामा वैदेशिक रोजगारीको मोह र बढ्दो सहरीकरणको कारण नेपालले बर्सेनि अर्बौंको धान चामल र अन्य खाद्यान्न आयात गर्नुपरेको अवस्था छ । आयात कम गर्न नेपालीले खान रुचाउने खालको धान खेती गर्नुपर्ने र योजनाबद्ध खेती गर्नुपर्ने विज्ञ बताउँछन् ।

जनसंख्या बढेसँगै नेपालमा धान तथा चामल आयात बढ्दो छ । चालु आर्थिक वर्ष २०८२÷०८३ को ११ महिनामा ३७ अर्ब ८३ करोड ९२ लाख रुपैयाँ बराबरको धानचामल आयात भएको थियो । भन्सार विभागको तथ्यांकअनुसार चालु आव साउनदेखि जेठसम्म ३७ अर्ब ८३ करोड ९२ लाख रुपैयाँ बराबरको ७ लाख ११ हजार टन धानचामल आयात भएको हो । गत आव २०८१÷०८२ को ११ महिनामा ३८ अर्ब ९४ करोड २८ लाख बराबरको ७ लाख ५३ हजार ३०५ टन धानचामल नेपाल भित्रिएको थियो । त्यस्तै सोही अवधिमा १९ अर्ब ९९ करोड ९ लाखभन्दा बढी मूल्यको ५ लाख २१ हजार २६९ टन कच्चा धान आयात भएको थियो । चालु आव भने कच्चा धानको आयात घटेर ४ लाख ६१ हजार १०८ टनमा सीमित भएको छ, जसका लागि १७ अर्ब २३ करोड ७२ लाख रुपैयाँ बाहिरिएको छ । यस वर्ष १ अर्ब २९ करोड ९४ लाख बराबरको २ हजार ९९३ टन धानको बिउ आयात भएको छ ।

आज धान दिवस मनाइरहँदा खेतका गह्रामा हलो कोदालो देखिन छाडेका छन् । समय जसरी फेरिएको छ, हाम्रा गह्रामा हलो, बाउसो, कोदाली पनि फेरिएका छन् । असार १५ वर्षाको सुरुआत, मुख्य बाली धानको रोपाइँका साथै नेपाली संस्कृति र सभ्यतासँग गाँसिएको महत्वपूर्ण दिन हो । वर्षाको सुरुआत हुने भएकाले यस दिनबाट रोपाइँको सुरुआत गर्ने गरिन्छ । त्यही रोपाइँमा लाग्दाको खुसी र आनन्द अभिव्यक्त गर्ने एक सांकेतिक र सांस्कृतिक पर्व असार १५ बनेको छ । तर, यहि संकृति भने फेरिएको छ । अहिले धेरै स्थानमा धान रोप्न पनि रोपाहार भन्दा आधुनिक मेसिनको प्रयोग भएको पाइन्छ ।

धान दिवस र रोपाइसँगै गाँसिएको अर्को पाटो हो दाही चिउरा खाने । दुग्ध विकास संस्थानका महाप्रबन्धक डा. शरण पाण्डेका अनुसार आजको दिन देशभर एक लाख लिटर दही बिक्री हुन्छ । ‘काठामाडौँमा मात्रै आज २५ हजार लिटर दही खपत हुन्छ । अरू सामान्य समयमा २ हजार लिटर खपत हुन्थ्यो,’ महाप्रबन्धक पाण्डेले भने, ‘अन्य समयमा भन्दा यो दही–चिउरा खाने पर्वका रूपमा भएकाले पनि बढी माग हुने गरेको हो ।’ अहिले पनि डिडिसीले मागअनुसार दिन नसके बताए ।

आजको दिन रोपाइँको महत्व सँगै चिउरासँग पनि जोडिएको छ । आज रोपाइँ गर्दै आलीमा बसेर खान नपाएकाले पनि दही–चिउरा खोजेर खान्छन् । त्यसैले बजारमा दहीको माग निकै बढ्ने गरेको छ । ‘सामान्य समयमा भन्दा आज ७–८ गुणा दहीको माग बढी हुन्छ,’ नेपाल डेरी एसोसियसनका अध्यक्ष प्रल्हाद दाहालले भने, ‘आजकै लागि भनेर हप्तादिन अगाडिबाट दहीको जोहो गर्ने गरिएको छ ।’ उनका अनुसार निजी डेरीबाट मात्रै आज १ लाख लिटर दही खपत हुन्छ । अरू समय नियमित २५ लाख लिटर खपत हुने गरकोमा आज थप ७५ लाख लिटर खपत हुने उनले बताए । दहीबाट १ अर्ब रुपैयाँ बराबरको कारोबार हुने उनको अनुमान छ ।

यसैगरी धानबाट बन्ने चिउराको समेत यो दिनमा बढी खपत हुने गरेको छ । चिउरा पनि आजको दिनमा सामान्य समयमा भन्दा २५ गुणा माग बढी हुने गरेको व्यवसायी देवेन्द्र भक्त श्रेष्ठले बताए । ‘अहिले बजारमा ३ प्रकारका चिउरा बढी चलेका छन्, एउटा भक्तपुरको लोकल ताइचिन, अर्को तराईबाट आउछ । हेर्दा ताइचिन जस्तै देखिन्छ र अर्को तराई ताइचिन,’ उनले भने, ‘चिउराको माग निकै बढेको भए पनि पु¥याउन भने समस्या छैन ।’ दहीमा प्रचुर मात्रामा क्याल्सियम पाइन्छ । यसका साथै, यसमा सोडियम, पोटासियम, भिटामिन ‘ए’, ‘डी’, ‘बी–१२’ पाइन्छ जसका कारण पोषण राम्रो बनाउने विज्ञ बताउँछन् ।

०००

स्वास्थ पनि पोषक पनि : अरुणा उप्रेती, पोषणविद्

अरुणा उप्रेती, पोषणविद्

पहिला पहिलाचाहिँ किसानले खेतमा रोपाइँ गरेर थाकेको बेला दही–चिउरा खाने गरिन्थ्यो । काम गर्दा भोक लाग्छ, पानीको मात्रा कम हुन्छ । त्यस्तो बेला दही–चिउरा खाँदा शीतल हुने र भोक पनि भेट्छ भनर खाने गरिन्थ्यो । पहिला अहिले जस्तो खाने कुरा पनि जति बेला जे चाहियो पाउँदैन थियो । भण्डारण गरेर राख्दा नबिग्रने र पेट पनि भरिने भएकाले खाजामा रोजाइ बन्थ्यो । असार १५ मा दही–चिउरा खाने सांकृतिक महत्व एकातिर छ भने, अर्कोतर्फ यो पोषणको दृष्टिले पनि उपयुक्त छ । हाम्रा खानाहरू संस्कृतिसँग जोडिएका छन् । जस्तो माघेसंक्रान्तिमा तिलको लड्डु, साउन १५ मा खिर, असार १५ मा दही–चिउरा खाने गरिन्छ । आजको दिनमा सांस्कृतिक रूपमा खाए पनि यसले पोषण दिन्छ ।

दही र चिउराको महत्व के छ भने, दही पेट र स्वास्थ्यका लागि एकदम नै राम्रो हुन्छ । दही मात्रै होइन, यसको मोही बनाएर खाँदा यसले शरीरलाई आवश्यक पानीको परिपूर्ति गर्छ र चाहिने विभिन्न किसिमको पौष्टिक तत्व पनि दिन्छ । चिउरामा प्रयाप्त मात्रामा कार्बोहाइड्रेड पाइन्छ, जसले शरीरमा तुरुन्तै ऊर्जा प्रदान गर्छ । यस्तै दहीमा प्रचुर मात्रामा क्याल्सियम पाइन्छ । यसका साथै, यसमा सोडियम, पोटासियम, भिटामिन ‘ए’, ‘डी’, ‘बी–१२’ पाइन्छ । यी दुवै मिलाएर खाँदा निकै फाइदा पुग्छ । अझ खाजाका रूपमा दही–चिउरा अरू बेला पनि खान सकिन्छ ।

किसानसँग यसको सामाजिक, सांस्कृतिक पाटो पनि जोडिएले यसको महत्व छ । यसले सांकृतिक बचाउने मात्रै होइन, हामीलाई आवश्यक पर्ने पोषण पनि दिन्छ । दहीले पेटको आन्द्रालाई स्वास्थ्य राख्न पनि काम गर्छ । गर्मीमा दहीले लुबाट जोगाउन सहयोग गर्छ । धानबाटै बनेको भए पनि चामलको भात धेरै दिन राखेर खान मिल्दैन तर, चिउरा लामो समय राखेर खान सकिन्छ । अझ चिउरा तरकारी, दही, दुध, भटमास वा त्यसै पनि खान सकिन्छ । चिउरा तयारी खाने कुरा हो । तर, तयारी भनेर अरू जस्तो होइन, स्वस्थ्यकर खाना हो । दही–चिउरा दुवै स्वस्थ्य खाना हो । अझ मिसाएर खाँदा यसले हाम्रो स्वास्थ्य राम्रो बनाउनका साथै पोषण पनि दिने भएकाले दही–चिउरा खानु धेरै राम्रो हुन्छ ।

किन खाने दही–चिउरा ?

दहीमा पाइने स्वस्थ ब्याक्टेरियाले पाचन क्रियालाई सहयोग पु¥याउँछ । यसले मसालेदार खानेकुराको असरलाई कम गर्छ ।

दहीले कोलेस्ट्रोलको मात्रालाई पनि नियन्त्रणमा राख्ने भएकोले नियमित दही खाने व्यक्तिको मुटु स्वस्थ हुन्छ ।

दहीमा पाइने स्वस्थ ब्याक्टेरियाले प्रतिरोधी क्षमतामा वृद्धि गर्छ ।

दहीमा क्याल्सियम र फस्फोरसको मात्रा अत्यधिक हुने भएकाले यसले दाँत र हड्डीलाई बलियो बनाउँछ । नियमित रूपमा दहीको सेवनले हड्डीसम्बन्धी रोग लाग्नबाट जोगाउँछ ।

दहीलाई घरेलु फेस प्याकमा अत्यधिक प्रयोग गरिन्छ । दहीमा जिंक, भिटामिन ‘ई’, फस्फोरसजस्ता मिनरल्स पाइने भएकाले यसले छालालाई जवान राख्छ ।

दहीमा पाइने ल्याक्टिक एसिडले कपालको चायाँबाट राहत प्रदान गर्छ । मेहेन्दीमा दही मिसाएर लगाउँदा चायाँ हट्नुका साथै कपाललाई नरम र चम्किलो राख्न मद्दत गर्छ ।

दहीमा पाइने क्याल्सियमले शरीरमा कार्टिसोल बनाउन सहयोग गर्छ । शरीरमा कार्टिसोलको असन्तुलनले मोटोपना, हाइपरटेन्सन र कोलेस्ट्रोल बढाउने गर्छ ।

खानामा दही समावेश गर्दा यसले शरीरलाई रिल्याक्स हुन मद्दत गर्छ ।

एक अनुसन्धानका अनुसार दहीको सेवनले दिमागको त्यो भागको क्रियाकलापलाई कम गर्छ जसले भावना र पीडालाई नियन्त्रण गर्छ ।

चिउरामा भिटामिन ‘ए’, ‘सी’, क्याल्सियम र आइरनको प्रचुर मात्रा पाइन्छ ।


चिउरामा फ्याट र ल्याकटोज नहुने भएकाले मुटुका लागि निकै स्वस्थ हुन्छ ।

यसमा आइरनको मात्रा धेरै हुन्छ । यसमा भिटामिन ‘बी’, कार्बोहाइड्रेट र प्रोटिन हुन्छ ।

चिउरामा थोरै तरकारी समावेश गर्दा यो खानाको रूपमा पनि प्रयोग गर्न सकिन्छ ।

यसमा कार्बोहाइड्रेटमा मात्रा धेरै हुने भएकाले शरीरमा ऊर्जाको स्तरलाई कायम राख्न सहयोग गर्छ ।

चिउरा निकै सजिलै पच्ने भएकाले पाचनमा समस्या हुनेहरूले प्रयोग गर्न सक्छन् ।

चिउराले मधुमेह रोगीलाई निकै फाइदा पु¥याउँछ । यसको सेवन गर्दा धेरै बेरसम्म भोक नलाग्ने र रगतमा सुगरको सञ्चार ढिलो गराउँछ ।

०००

प्रतिक्रिया