पराग्वेले विश्वविजेता जर्मनीलाई हराएको खुसीयालीमा राष्ट्रपतिले गरे देशैभर बिदाको घोषणा

काठमाडौं । विश्वकप फुटबलको इतिहासमा पेनाल्टी सुटआउटमा कहिल्यै पराजित नभएको ‘अजेय’ जर्मनीको ऐतिहासिक कीर्तिमान पराग्वेको दृढ रक्षापङ्क्ति र जोसे कानालेको एउटा प्रहारले गर्दा ध्वस्त भएको छ ।

मंगलबार राति भएको रोमाञ्चक भिडन्तमा फुटबल महाशक्ति जर्मनीलाई पेनाल्टी सुटआउटमा ४–३ ले स्तब्ध पार्दै पराग्वेले विश्वकपको नकआउट चरणमा प्रवेश मात्र गरेन, फुटबल इतिहासकै एउटा सबैभन्दा ठूलो अपसेट समेत दर्ता गर्‍यो ।

१२० मिनेटसम्मको मैदानको दबाब, रणनीतिक संघर्ष र तथ्यांकको दम्भलाई चिर्दै पराग्वेले विश्व फुटबलमा नयाँ अध्याय थपेपछि अहिले पूरा पराग्वे उत्सवमा झुमेको छ ।

मैदानमा जर्मनीले अधिकांश समय खेल आफ्नो नियन्त्रणमा राखेको थियो । खेलको ४२औँ मिनेटमा जुलियो एन्सिसोले उत्कृष्ट हेडरमार्फत पराग्वेलाई अप्रत्याशित अग्रता दिलाए पनि ५४औँ मिनेटमा जर्मनीका स्टार स्ट्राइकर काई हाभर्जले गोल फर्काएर खेल बराबरीमा ल्याएका थिए ।

त्यसपछि जर्मनीले लगातार आक्रमण बुने पनि र उसको एउटा गोल रद्द भए पनि पराग्वेको रक्षापङ्क्ति पर्खाल बनेर उभियो । पेनाल्टी सुटआउटको मनोवैज्ञानिक दबाबमा जर्मनी सधैँ अब्बल मानिन्थ्यो, तर यसपटक पराग्वेका गोलकिपर र अन्तिममा जोसे कानालेले गरेको निर्णायक गोलले जर्मनीलाई विश्वकप इतिहासमै पहिलो पटक सुटआउटमा पराजित हुने तीतो स्वाद चखायो ।

यो खेलकुदको नतिजा मात्र नभएर देशकै गौरवको विषय बनेको भन्दै पराग्वेका राष्ट्रपति सान्टियागो पेन्याले देशैभर राष्ट्रिय बिदाको घोषणा गरेका छन् । सामाजिक सञ्जालमा बिदाको डिक्रीमा हस्ताक्षर गरिरहेको तस्बिर सार्वजनिक गर्दै राष्ट्रपति पेन्याले यसलाई कहिल्यै हार नमान्ने पराग्वेली जनताको दृढताको विजय भनेका छन् ।

सुरुवाती खेलमा अमेरिकासँग ४–१ को लज्जास्पद हार ब्यहोरेर आलोचित बनेको टोलीका प्रशिक्षक गुस्ताभो अल्फारोले आफ्ना २६ खेलाडीहरू इतिहासमा अमर बनेको बताएका छन्। अब जुलाई ४ मा हुने अन्तिम १६ को खेलमा पराग्वेले फ्रान्स वा स्विडेनमध्ये एक बलियो टोलीको सामना गर्ने छ ।

प्रतिक्रिया