
काठमाडौं । जर्मनीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै पाराग्वे फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । अमेरिकाको बोस्टन स्टेडियममा मंगलबार बिहान भएको राउण्ड अफ ३२ को खेलमा दक्षिण अमेरिकी राष्ट्र पाराग्वेले जर्मनीलाई सडनडेथमा ४-३ ले पराजित गरेको हो ।
पाराग्वेका लागि जोसे क्यानालेले निर्णायक पेनाल्टी प्रहार गोल गरेका हुन् । जर्मनी विश्वकपमा पेनाल्टी सुटआउटमा पराजित भएको यो पहिलो पटक हो । सन् २००२ मा जापान कोरियामा भएको विश्वकपको अन्तिम १६ मा जर्मनीसँगै पराजित भएको पाराग्वेले २४ वर्षपछि त्यो हारको बदला समेत लिएको छ ।
निर्धारित ९० मिनेट र ३० मिनेटको अतिरिक्त समयमको खेल १-१ को बराबरीमा सकिएपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट तय भएको हो । जारी विश्वकपमा पेनाल्टीसुटआउटबाट निर्णय भएको यो पहिलो खेल हो ।
पाराग्वेले अब फ्रान्स र स्वीडेन बीचको विजेतासँग अन्तिम १६ मा खेल्नेछ । जर्मनी जारी विश्वकपबाट बाहिरिने दोस्रो पूर्व विजेता बनेको छ । यसअघि ने उरुग्वे समूह चरणबाटै बाहिरिसकेको छ ।
प्रतिक्रिया