
काठमाडौँ । सह–आयोजक राष्ट्र क्यानडाले फिफा विश्वकप २०२६ मा आफ्नो ऐतिहासिक यात्रालाई निरन्तरता दिँदै पहिलोपटक प्रतियोगिताको अन्तिम–१६ मा स्थान बनाउन सफल भएको छ । आइतबार सम्पन्न समूह चरणको निर्णायक खेलमा दक्षिण अफ्रिकामाथि १–० को रोमाञ्चक जित निकाल्दै क्यानडाले नयाँ इतिहास रचेको हो । खेलको निर्धारित ९० मिनेट सकिएर थपिएको अतिरिक्त समयको दोस्रो मिनेटमा मिडफिल्डर स्टेफेन एउस्टाक्वियोले गरेको निर्णायक गोल नै क्यानडाको जितको आधार बन्यो । २९ वर्षीय एउस्टाक्वियोको यो गोलले क्यानडेली फुटबल इतिहासमा नयाँ अध्याय थपेको छ । २ वर्षअघि राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका जेसी मार्सको नेतृत्वमा टोलीले निरन्तर प्रगति गर्दै आएको थियो र त्यसको प्रतिफल विश्वकपमा देखिएको हो ।
खेल सकिएलगत्तै मैदानमै आफ्ना खेलाडीहरूलाई सम्बोधन गर्दै प्रशिक्षक मार्स निकै भावुक देखिए । उनले टोलीले सुरुदेखि अपनाएको रणनीति, आक्रामक खेलशैली र उत्कृष्ट चरित्रकै कारण यो सफलता सम्भव भएको बताए । उनले खेलाडीहरूलाई भविष्यका पुस्ताका लागि प्रेरणाको स्रोत बनेको उल्लेख गर्दै ‘तपाईंहरू क्यानडाका साँच्चिकै नायक हुनुहुन्छ । यस देशका भावी बालबालिकाले फुटबल खेल्न प्रेरणा पाउने आधार तपाईंहरूले तयार गर्नुभएको छ’ भने । उनले खेलाडीहरूलाई आफ्नो प्रदर्शनप्रति गर्व गर्न आग्रह गर्दै हरेक क्षण जितका लागि संघर्ष गरेकोमा प्रशंसा गरे ।
प्रधानमन्त्रीदेखि अन्तरिक्षसम्मबाट बधाईको ओइरो
यसैबीच क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले पनि टोलीको ऐतिहासिक उपलब्धिको खुलेर प्रशंसा गरेका छन् । विमान यात्रामा रहेका उनले खेलको अन्तिम केही मिनेट मोबाइल फोनमार्फत हेरेका थिए । त्यसपछि सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै उनले ‘कस्तो उत्कृष्ट खेल, कस्तो सानदार टोली र कस्तो महान देश’ भन्दै खेलाडीहरूलाई बधाई दिएका छन् । त्यसैगरी ओन्टारियो प्रान्तका प्रिमियर डग फोर्डले पनि राष्ट्रिय टोलीलाई अन्तिम–१६ मा पुगेकोमा बधाई दिएका छन् । स्टेफेन एउस्टाक्वियोको जन्म ओन्टारियोमै भएको थियो, यद्यपि पछि उनको परिवार पोर्चुगल सरेको थियो । विपक्षी दलका नेता पिएर पोलिएभ्रेले समेत टोलीको सफलताको प्रशंसा गर्दै आगामी यात्राका लागि शुभकामना दिएका छन् ।
भ्यानकुभरका मेयर केन सिमले खेलाडीहरूले राष्ट्रका लागि समर्पणका साथ खेलेको उल्लेख गर्दै उनीहरूले सम्पूर्ण क्यानडेली समर्थकलाई जीवनभर सम्झनलायक क्षण उपहार दिएको बताएका छन् । क्यानडाको ऐतिहासिक जितसँगै सामाजिक सञ्जाल उत्सवमय बनेको थियो । देशभर आयोजना गरिएका सामूहिक खेल अवलोकन कार्यक्रम र समर्थकहरूको जमघट राताम्मे क्यानडेली झन्डाले भरिएको दृश्य सार्वजनिक भएका छन् । खेल आयोजना भएको लस एन्जलसको रंगशालामा पनि हजारौँ क्यानडेली समर्थकको उल्लेखनीय उपस्थिति देखिएको थियो ।
धेरै विश्लेषक तथा फुटबल समर्थकहरूले क्यानडाका लागि यो सफलता अविश्वसनीय र ऐतिहासिक भएको प्रतिक्रिया दिएका छन् । क्यानडामा आइस हक्की, बास्केटबल र बेसबलजस्ता खेल फुटबलभन्दा बढी लोकप्रिय भए पनि विश्वकपमा राष्ट्रिय टोलीको यो उपलब्धिले फुटबलप्रतिको आकर्षण उल्लेखनीय रूपमा बढाउने विश्वास गरिएको छ । क्यानडाका चर्चित खेलाडीहरूले पनि राष्ट्रिय फुटबल टोलीको सफलतामा खुसी व्यक्त गरेका छन् । बहुपटककी ओलम्पिक स्वर्णपदक विजेता पौडीबाज समर म्याकइन्टोस, टेनिस खेलाडी फेलिक्स ओगर–अलियासिम तथा ओलम्पिक च्याम्पियन धावक आन्द्रे डे ग्रासले सामाजिक सञ्जालमार्फत टोलीलाई बधाई दिएका छन् ।
चर्चित क्यानडेली अन्तरिक्ष यात्री क्रिस ह्याडफिल्डले पनि खेलअघि शुभकामना दिएका थिए भने जितपछि टोलीको प्रशंसा गरेका छन् । यसैबीच जर्मन क्लब बायर्न म्युनिखले आफ्ना खेलाडी अल्फोन्सो डेभिसलाई अन्तर्राष्ट्रिय फुटबलमा सफल पुनरागमन गरेकोमा बधाई दिएको छ । मे महिनामा युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलका क्रममा ह्यामस्ट्रिङमा चोट बोकेका डेभिस ७४औँ मिनेटमा मैदान प्रवेश गरेपछि क्यानडाको खेलको गति र रणनीतिमा उल्लेखनीय परिवर्तन आएको थियो ।
दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले पनि क्यानडालाई जितको बधाई दिएका छन् । उनले दक्षिण अफ्रिकी टोलीले अन्तिमसम्म कडा चुनौती दिए पनि क्यानडाले अवसरको सदुपयोग गर्दै ऐतिहासिक सफलता हात पारेको बताएका छन् । यद्यपि जर्मनीका पूर्वफुटबलर बास्टियन स्वाइनस्टाइगरले भने क्यानडाको प्रदर्शन अझै पूर्ण रूपमा प्रभावशाली नभएको टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै स्पष्ट गोलका अवसरको सदुपयोग गरेका कारण क्यानडा अर्को चरणमा पुग्न योग्य रहेको बताए । साथै, अल्फोन्सो डेभिस मैदानमा आएपछि टोलीमा नयाँ ऊर्जा थपिएको उल्लेख गर्दै उनले नेदरल्यान्ड्स वा मोरक्कोजस्ता बलिया टोलीसँग खेल्दा क्यानडाले अझ राम्रो प्रदर्शन गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
प्रतिक्रिया