
काठमाडौं उपत्यकाको चक्रपथ विस्तारको दोस्रो खण्ड निर्माणमा भएको लामो ढिलाइले राजधानीको समग्र शहरी स्वरूप प्रभावित बनेको छ । निर्माण सामग्री, धुलोधुवाँ र अव्यवस्थित सडकका कारण धेरै स्थान कुरुप देखिँदा सर्वसाधारणले सास्ती खेपिरहेका छन् । तर चक्रपथअन्तर्गत कोटेश्वर–कलंकी सडक खण्डको ललितपुरस्थित सानेपा क्षेत्र भने हरियालीका कारण आकर्षणको केन्द्र बनेको छ ।
ललितपुर महानगरपालिका र विभिन्न सरोकारवाला निकायको सहकार्यमा करिब सात वर्षअघि सडक किनारमा रोपिएका वृक्षहरू अहिले राम्रोसँग हुर्किएपछि सानेपा क्षेत्र हराभरा बनेको हो । सडकका दुवैतर्फ फैलिएको हरियालीले सहरको सौन्दर्य अभिवृद्धि गर्नुका साथै वातावरणलाई पनि स्वच्छ बनाउन महत्त्वपूर्ण योगदान पुर्याएको छ ।

विशेषगरी हालको गर्मीयाममा घना वृक्षहरूले शीतलता प्रदान गरेपछि स्थानीय बासिन्दा, पैदलयात्री तथा यात्रुहरू केहीबेर विश्राम गर्न र गर्मी छल्न सडक किनारमै बस्ने गरेका छन् । हरियालीले सवारी आवागमन हुने व्यस्त सडकलाई पनि थप आकर्षक र सहज बनाएको छ ।
ललितपुर महानगरपालिकाले हरियाली सहर निर्माणलाई प्राथमिकतामा राख्दै दीर्घकालीन योजना तथा कार्यक्रम कार्यान्वयन गरिरहेको जनाएको छ । महानगरले सडकको दायाँबायाँ, नदी किनार तथा भूक्षयको जोखिम रहेका क्षेत्रहरूमा विशेष नीति अपनाएर वृक्षारोपण अभियान सञ्चालन गरिरहेको छ ।

त्यसैगरी निजी क्षेत्रको सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत पनि तोकिएका प्रजातिका बिरुवा रोप्ने व्यवस्था मिलाइएको महानगरले जनाएको छ । काठमाडौं उपत्यकाको बढ्दो वायु प्रदूषण नियन्त्रणका लागि ‘स्वच्छ हावा परियोजना’ लगायत विभिन्न सरोकारवाला निकायसँग समन्वय गरेर हरियाली विस्तार तथा वातावरण संरक्षणका कार्यक्रम अघि बढाइएको छ ।
चक्रपथ निर्माणको ढिलाइले राजधानीका धेरै क्षेत्र अस्तव्यस्त देखिए पनि सानेपाको हरियालीले योजनाबद्ध वृक्षारोपण र दीर्घकालीन संरक्षणले शहरी वातावरणलाई कसरी सुन्दर, स्वच्छ र बस्नयोग्य बनाउन सक्छ भन्ने सकारात्मक उदाहरण प्रस्तुत गरेको छ ।












प्रतिक्रिया