
काठमाडौँ । मनसुनी गतिविधि बढ्दै गएको भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कर्णालीबाहेक सबै प्रदेशमा आज र भोलि (१६ र १७ गते) २ दिनका लागि आवश्यक सतर्कता अपनाउन सूचना जारी गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज र भोलि ती प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा मेघगर्जन र चटयाङसहित भारी वर्षा तथा केही स्थानमा धेरै भारी वर्षाको सम्भावना छ । यसको छनक सोमबार नै संखुुवासभाको सिलिचोङ गाउँपालिकामा देखिएको छ । लगातारको वर्षापछिको भीषण पहिरोका कारण कम्तीमा ६ घरपरिवार विस्थापित हुनुका साथै १०० भन्दा बढी घर जोखिममा परेका छन् भने विद्युत्, सञ्चार तथा यातायात सेवा अवरुद्ध भएको समाचार आएको छ ।

असार ५ गते नेपाल प्रबेस गरेको मनसुन अहिले देशभर फैलिएको छ र यसको असर सुरु भइसकेको छ । तर, सरकारले नागरिकलाई सतर्कता अपनाउन आग्रह गरिरहँदा मनसुनजन्य विपद्को प्रतिकार्यका लागि सरकारको पूर्वतयारी कस्तो छ ? भन्ने मुख्य प्रश्न उठ्छ । नेपालमा विपद्का घटनामध्ये सबैभन्दा धेरै मानवीय र आर्थिक क्षति गराउने घटना हो— मनसुनजन्य विपद् । नेपालको भौगोलिक अवस्थितिका कारण पनि मनसुनी विपद् हाम्रा लागि सबैभन्दा घातक हुने गरेको छ । मनसुनको समयमा पहाडी क्षेत्र पहिरो र तराई भूभाग बाढी तथा डुबानको चपेटामा पर्ने निश्चितजस्तै हुन्छ । पूर्वसूचना दिने प्रणाली र उद्धार तथा प्रतिकार्य तयारी कमजोर बन्दा नेपालमा हरेक वर्ष मनसुनले बढी मानवीय क्षति गराएको देखिन्छ ।
प्रत्येक वर्ष मनसुन अवधिमा भारी वर्षा, बाढी, पहिरो, चट्याङलगायत घटनाबाट हजारौँ नागरिक विस्थापित हुने गरेका छन् भने कैयौँले ज्यान गुमाउनुपर्ने बाध्यता छ । विगतका आँकडा हेर्ने हो भने पनि सबैभन्दा बढी विपद्का घटना र क्षति तथा नोक्सानी मनसुनको अवधिमै भएको पाइन्छ । प्राधिकरणकै तथ्यांकअनुसार २०७३ देखि २०८२ सालसम्म (१० वर्ष) को अवधिमा मनसुनजन्य विपद्का कारण ३ हजार ७४ जनाको मृत्यु, ५०२ जना बेपत्ता, ४ हजार ७६९ जना घाइते र ३३ हजार १९८ घरपरिवार प्रभावित भएको देखिन्छ । तर, यस पटकको मनसुन थेग्न सरकार पूर्ण तयारी अवस्थामा रहेको र कुनै कुराको पनि कमी हुन नदिने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस पटकदेखि सूचना प्रणालीलाई पनि बलियो बनाउन ११४९ नम्बरलाई व्यवस्थित गरेको छ । प्रहरीको १०० नम्बरमा फोन गर्दा जुन जिल्लाबाट फोन गरिएको हो, त्यही जिल्लाको प्रहरीमा पुग्ने जस्तै गरी ११४९ नम्बरलाई विपद्को सूचना व्यवस्थित गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयमा एक्टिभ गरिएको छ । यसले सूचना संकलन र उद्धारमा सहज हुने विश्वास गरिएको छ । त्यस्तै, बढीमा १५ मिनेटभित्र राहत तथा उद्धारका लागि घटनास्थलमा पुग्न सक्ने संयन्त्र तयार पारिएको प्राधिकरणले जनाएको छ ।
त्यस्तै, मनसुजन्य विपद्मा खोज तथा उद्धारका लागि ३ वटै सुरक्षा निकायका २६ हजार २१९ सुरक्षाकर्मी स्ट्यान्डबाई राखिएको छ भने सबै पालिकाका नगर÷गाउँ प्रहरीलाई पनि तयारी अवस्थामा राखिएको छ । यसका अलावा सडक यात्रालाई सहज बनाउन पहिरो पन्छाउने तथा उद्धरका लागि समेत हुने गरी जोखिमयुक्त राजमार्ग र सडकमा डोजर, एक्साभेटर, लोडरलगायत साधन तयारी अवस्थामा छन् ।
यस वर्ष मनसुनजन्य विपद्बाट करिब ५१ हजार ८६८ घरधुरीका २ लाख २६ हजार ६६१ जनसंख्या प्रभावित हुने आकलन गरिएको छ । यसका लागि सरकार पूर्ण तयारी अवस्थामा रहको र नागरिक स्तरबाट पनि सतर्कता अपनाउँदा न्यूनतम क्षति हुने प्रधिकरणले जनाएको छ । ‘हामीले घटनाको १५ मिनेटभित्र त्यहाँ उद्धार टोली पुग्ने संयन्त्र तयार पारेका छौँ भने ३ वटै सुरक्षा निकायका २६ हजार जनशक्ति स्ट्यान्डबाई राखिएको छ । सूचनाका लागि ११४९ नम्बरको हटलाइनलाई पनि व्यवस्थित गरेका छौँ,’ प्राधिकरणकी प्रवक्ता शान्ति महतले भनिन्, ‘सरकार आफ्नो पूर्ण क्षमतामा तयारी अवस्थामा बसेको छ । नागरिकले पनि सतर्कता अपनाउने हो भने न्यूनतम क्षतिमा यस पटकको मनसुन टार्न सकिन्थ्यो ।’
विपद् प्रतिकार्यका लागि सेनाका ३ वटा हेलिकोप्टर इटहरी, सुर्खेत र काठमाडौँमा तयारी अवस्थामा राखिएको छ भने आवश्यक पर्दा थप हेलिकोप्टर पनि उपलब्ध गराउने सेनाको तयारी छ । यसका साथै निजी क्षेत्रसँग भएका ३४ वटा हेली पनि तयारी अवस्थामै रहेको र सरकारले माग गरेको अवस्थामा उपलब्ध हुने प्रवक्ता महतले बताइन् । यसका लागि प्राधिकरण र हेलिकोप्टर व्यवसायीहरूसँग एमओयू भइसकेको छ, जसमा उनीहरूले सरकारसँग न्यूनतम शुल्क लिने र काठमाडौँको हकमा निःशुल्क उपलब्ध गराउनेछन् ।
विपद्मा उद्धारका लागि आवश्यक पर्ने थप सामग्री खरिदका लागि गृह मन्त्रालयले ७७ वटै जिल्लामा ९ लाख ९० हजार रुपैयाँका दरले बजेट उपलब्ध गराएको थियो । यसले राहतमा सहज हुने बताइएको छ । त्यस्तै, सरकारले सबै जिल्ला विपद् व्यवस्थापन कोषमा हिमालको हकमा १५, पहाडमा २० र तराईमा २५ लाख रुपैयाँ रहनुपर्ने व्यवस्था गरेकाले विपद् प्रतिकार्यको व्यवस्थापनका लागि समस्या नहुने प्राधिकरणले जनाएको छ । यस पटक प्राधिकरणको आग्रहमा सबै प्रदेश र स्थानीय तहले विपद् व्यवस्थापनसम्बन्धी बजेटको आकार बढाएकाले स्रोतको समस्या नपर्ने प्राधिकरणको अनुमान छ ।
०००
सशस्त्रको टिम पनि स्ट्यान्डबाई
विशेष गरी विपद् प्रतिकार्यमा फ्रन्टलाइनमा खटिने सशस्त्र प्रहरी बलले २१ हजार ६९९ जनशक्तिलाई विपद् व्यवस्थापन तालिम दिएर तयारी अवस्थामा राखेको छ भने विपद् प्रतिकार्यका लागि ८ हजार १८० जना सशस्त्र प्रहरीलाई २४सै घन्टा स्ट्यान्डबाई राखेको छ । त्यस्तै, विपद् उद्धारमा परिचालन हुन समय लाग्ने विपद्जन्य स्थानहरूको पहिचान गरी कोसी प्रदेशमा ६ वटा, मधेसमा ११, बाग्मतीमा १६, गण्डकीमा ४, लुम्बिनीमा ७, कर्णालीमा २ र सुदूरपश्चिममा ८ गरी ५४ स्थानमा अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरी काम गरिरहेको छ भने १६ वटा जोखिमयुक्त जिल्लामा विपद् व्यवस्थापन बेस स्थापना गरी तयारी अवस्थामा राखिएको छ ।
यस्तै, ८२ वटा ¥याफ्टबोट, ५३ वटा मोटरबोट, ८ वटा मास क्याजुल्टी भेइकल, ८ वटा ए क्लास एम्बुलेन्स १० वटा इमिडेट रेस्पोन्स टिम भेइकल तथा १३ वटा हेभी इक्विपमेन्ट तयारी अवस्थामा राखिएको छ भने १३४ जना गोताखोर देशभरका ११ वटा जोखिमयुक्त स्थानमा आवश्यक उपकरणहरूसहित राखिएको छ । सशस्त्र प्रहरी बलका प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार प्रदेशगत रूपमा रहेका ८ वटै बाहिनी मुख्यालय र विपद् उद्धार गणमा रहेको विपद् व्यवस्थापन टोलीलाई तयारी अवस्थामा राखिएको छ ।
प्रतिक्रिया