सच्याइयाे रास्वपाकाे केन्द्रीय सदस्यको सूची, यस्ताे छ अन्तिम सूची

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यको सूची सच्याएको छ । बढी मत ल्याए पनि कलस्टर मिलाउने क्रममा निर्वाचित नभएको गुनासो उम्मेदवारहरुबाट आएपछि पार्टीको निर्वाचन आयोगले मंगलबार सूची सच्याएको हो ।

९९ केन्द्रीय सदस्यका ३७९ उम्मेदवार थिए । रास्वपा विधानअनुसार ३२ खुला, ३२ समावेशी र ३५ भुगोलबाट निर्वाचित हुनुपर्छ । समावेशी सन्तुलन मिलाउँदा छुटेका उम्मेदवारलाई समावेशी गरी सूची सच्याइएको हो ।

सूची सच्याउँदा बागलुङ २ बाट निर्वाचित सांसद सोम शर्माको ठाउँमा पुजा बास्तोलालाई निर्वाचित गरिएको छ । बास्ताेलाले बढी मत ल्याउँदा पनि निर्वाचित नगरिएको भन्दै असन्तुष्टि जनाइ सर्वोच्च अदालत जाने तयारी गरेकी थिइन् ।

शर्मा र बास्तोला गण्डकी प्रदेश भुगोलबाट थिए । सुरुमा गण्डकी भुगोलको ५ निर्वाचित सदस्यमा चौथो नम्बरमा शर्मा र पाँचौ नम्बरमा विष्णुकुमारी गुरुङ (एकता) थिए । शर्माको ९७४ र गुरुङको ७८७ मत थियो । अहिले सूची सच्याएर सांसद शर्मालाई हटाइएको छ भने उनको ठाउँमा ८९३ मत पाएकी पुजा बास्तोलालाई निर्वाचित गरिएको छ । महिला सहभागिता बढाउन गुरुङलाई यथावत् राखी सांसद शर्मालाई हटाएर उनको ठाउँमा बस्तोलालाई निर्वाचित गरिएको दाबी गरिएकाे छ ।

यसैगरी आदिवासी पुरुषतर्फ पुछारमा परेका कृष्णमान श्रेष्ठ ७८५ लाई हटाएर उनीभन्दा बढी मत ल्याएका ध्रुव थापामगर ७९० लाई निर्वाचित गरिएको छ । उनीहरु खुलातर्फको समावेशी समूहमा प्रतिस्पर्धा गरेका थिए ।

सुरुमा ध्रुव थापामात्रै लेखिँदा जनजाति प्रतिनिधित्व गराउन उनलाई निर्वाचित गरिएको थिएन । तर डकुमेन्टमा थापामगर भेटिएपछि उनी जनजाति कोटाबाट बढी मत ल्याएका कारण निर्वाचित गरिएको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया