संसदीय प्रक्रिया सिक्दै सांसदहरू

काठमाडौँ । संघीय संसद् सचिवालयले सांसदहरूलाई संसदीय प्रक्रिया र सचिवालयले गर्ने कामकारबाहीबारे जानकारी दिन अभिमुखीकरण सञ्चालन गरेको छ । गत २१ फागुनमा भएको निर्वाचनबाट आएका संघीय सांसदहरूलाई पहिलो पटक अभिमुखीकरण दिइएको हो । यस पटक प्रतिनिधिसभाका अधिकांश सांसद पहिलो पटक संसदीय अभ्यासमा आएकाले सभा सञ्चालनमा सांसदको भूमिका र संघीय संसद् सचिवालयले गर्ने सेवा प्रवाहबारे उनीहरू जानकार छैनन् । सभाको बैठकमा पनि त्यो कुरा झल्किने गरेको छ । कतिपय सांसदले आफूहरू संसदीय प्रक्रियाबारे जानकार नरहेकाले अभिमुखीकरण माग गर्दै आएका थिए ।

सोमबार सुरु भएको २ दिने अभिमुखीकरण आज मंगलबार सकिनेछ । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले प्रतिनिधिसभा सञ्चालनका साथै सचिवालयले गर्ने सेवा प्रवाहको विषयमा सांसदहरूलाई जानकारी गराउने उद्देश्यले कार्यक्रम गरिएको गरिएको जानकारी दिए । सभामुख डोलप्रसाद अर्यालले उद्घाटन गरेको कार्यक्रममा सोमबार संघीय संसद्का महासचिव डा. भरतराज गौतमले संसदीय मर्यादा, संसदीय प्रक्रिया र अभ्यासबारे प्रशिक्षण दिए । त्यस्तै, सचिवालयको अन्तर्राष्ट्रिय सम्पर्क तथा समन्वय महाशाखा, सांसद सुविधा व्यवस्थापन महाशाखा, प्रशासन महाशाखा, प्रविधि व्यवस्थापन महाशाखा, आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा र कार्यव्यवस्था महाशाखा (प्रतिनिधिसभा)का प्रमुखहरूले आ–आफ्नो महाशाखाअन्तर्गत हुने कामबारे जानकारी गराए । खुला रूपमा छलफलको मोडलमा गरिएको कार्यक्रममा सांसदहरूले आफ्ना जिज्ञासा मेटाएका थिए । त्यस्तै प्रतिनिधिसभाका पूर्वसचिव ध्रुवप्रसाद घिमिरेले संसदीय समिति प्रणाली र संसदीय निगरानीको सम्बन्धमा प्रशिक्षण दिए ।

आज मंगलबारको कार्यक्रममा संसदीय अध्ययन तथा अनुसन्धान महाशाखा, विधि व्यवस्थापन महाशाखा, मर्यादापालन तथा सुरक्षा समन्वय शाखा र आर्थिक प्रशासन शाखाको कामबारे जानकारी गराउने कार्यतालिका छ । त्यसैगरी, विधेयक र कानुन निर्माण प्रक्रियाबारे पनि छलफल हुनेछ भने महालेखापरीक्षक तोयम रायाले विद्यमान सरकारी लेखापरीक्षण र बेरुजु फस्र्योटमा सांसदको भूमिकाको विषयमा जानकारी गराउने कार्यसूची छ ।

०००

सांसदहरू गयल भएपछि रिसाए सभामुख

आफूलाई संसदीय कामकारबाही र अभ्यासको सन्दर्भमा प्रशिक्षित गराउने महत्वपूर्ण कार्यक्रमलाई ठुलो संख्याका सांसदहरूले बेवास्ता गरेका छन् । कार्यक्रममा ७० जना सांसद अनुपस्थित रहे । सभामुखसहित २७५ सदस्यीय प्रतिनिधिसभाबाट अभिमुखीकरणमा उपस्थित हुने सांसद संख्या २०५ मात्रै रहेको संसद् सचिवालयका प्रवक्ता गिरीले जानकारी दिए । प्रतिनिधिसभा सञ्चालनका क्रममा आकस्मिक, विशेष वा शून्य समयमा बोल्न समय माग गर्ने कुरामा होस् अथवा नियमापत्ति गर्ने सन्दर्भमा पनि सांसदहरूले प्रतिनिधिसभा नियमावलीभन्दा बाहिर गएर हर्कत गरिरहेका छन् । सभामुखले पटक–पटक त्यसतर्फ सचेत गराउँदा पनि सांसदहरूले अटेर गरिरहेको देखिन्छ । त्यस्तै, सांसदहरूले बैठकमा विरोध जनाउँदा र अवरोध गर्दा पनि नियमावलीविपरीत र र संसदीय अभ्यासमा नआएका गतिविधि पनि भइरहेका छन् ।

यिनै विषयमा सांसदहरूलाई प्रशिक्षित गर्ने संसद् सचिवालयको चाहना थियो । तर, करिब ६ दर्जन सांसद नै अनुपस्थित भएपछि त्यसप्रति सभामुख डोलप्रसाद अर्यालले असन्तुष्टि व्यक्त गरेका छन् । उनले सांसदहरूको अनुपस्थिति र अनुशासन पालनाको सम्बन्धमा आफूलाई चित्त नबुझेको भन्दै सांसदहरूको यस्तो गतिविधिलाई जनताले मूल्यांकन गरिरहेको बताए ।

‘आजको उपस्थिति मलाई पूर्ण रूपमा चित्तबुझ्दो लागेको छैन । आज हामीले अझ बढी उपस्थिति र समयमै उपस्थितिको अपेक्षा गरेका थियौँ,’ उनले भने, ‘हामी संघीय संसद्का सदस्य हौँ । लाखौँ जनताको मतबाट निर्वाचित जिम्मेवार प्रतिनिधि हौँ । त्यसकारण हाम्रो व्यवहार, समयपालन र अनुशासनदेखि लिएर हरेक गतिविधिलाई जनताले निरन्तर मूल्यांकन गरिरहेका हुन्छन् ।’ सभामुख अर्यालले प्रतिनिधिसभामा धेरै नयाँ अनुहार भएकाले संसदीय विधि र प्रक्रियालाई थप बुझाउन तथा सांसदका काम अझ प्रभावकारी बनाउन उक्त कार्यक्रम आयोजना गरिएको बताए ।

प्रभावकारी भएको सांसदहरूको प्रतिक्रिया

अभिमुखीकरणमा सहभागी सांसदहरूले संसदीय प्रक्रियाका स–साना प्राविधिक ज्ञान हासिल गरेको बताएका छन् । रास्वपा सांसद प्रशान्त उप्रेतीले आफूहरूको मनमा लागेका कैयौँ प्रश्नको उत्तर पाएको बताउँदै सांसदहरूले सदनको समयको सदुपयोग कसरी गर्ने, सरकारको छायामा नपरी सार्वभौम संसद्मा सांसदले आफ्ना क्षेत्रको विषयमा कसरी आवाज उठाउनेलगायतका कुराहरू जान्न पाएको बताए ।

त्यस्तै, विगतका अभ्यासबाट सिक्दै नियमावलीमा विभिन्न नियमहरू राख्नुको कारण, त्यसको परिपालनालगायत विभिन्न विषयमा सिक्न पाएको उनको भनाइ छ । त्यस्तै, रास्वपाकै सांसद डा. ताराप्रसाद जोशीले संसदीय प्रणालीका प्रक्रियाहरूको बारेमा जान्ने अवसर पाएको बताए । त्यस्तै सांसदहरूको आचरणको विषयमा जान्न–बुझ्न पाएको उनले जानकारी दिए ।

प्रतिक्रिया