मनसुनसँगै रोगको त्रास, के छ सरकारको तयारी ?

अहिले मनसुन सुरु भइसकेको छ । यो मौसममा रोगको संक्रमण बढी हुने गर्छ । अहिलेको मौसमलाई रोग आमन्त्रण गर्ने, रोग भित्र्याउने मौसम पनि भनिन्छ । वर्षाको कारण हिलो, फोहोर हुने, खानेकुरा चाँडै सड्ने, गल्ने हुन्छ । सबैतिर ओसिलो हुने भएकाले ब्याक्टेरिया पनि फैलन सक्छ । त्यसैले सागसब्जीको माध्यमबाट समेत त्यस्तो ब्याक्टेरिया फैलने भय हुने विज्ञहरू बताउँछन् ।

मनसुनको आगमन खेती किसानीका लागि वरदान नै हो । तर यसले सुखद् सन्देश मात्रै होइन रोगब्याधी पनि बोकेर आउँछ । मनसुन सुरु भएसँगै प्रायः मौसमजन्य तथा महामारीजन्य रोगहरूको जोखिम हुने गरेको विगत छ । मनसुनको अवधिमा विशेषगरी हैजा, डेंगी, झाडापखाला, स्क्रब टाइफस, मलेरिया र इन्फ्लुएन्जाजस्ता रोगहरू देखापर्ने गर्छन् । मौसमजन्य रोगकै कारण बर्सेनि धेरै मान्छेले ज्यानसमेत गुमाउने गरेका छन् ।

विज्ञका अनुसार बढ्दो तापक्रम, आद्र्रता र निरन्तर वर्षाका कारण विभिन्न प्रकारका संक्रामक रोग फैलिने सम्भावना उच्च रहने गर्छ । यस्ता अवस्थामा सचेत हुनपर्ने देखिन्छ । थोरै पनि हेलचेक्राँइले गर्मीमा ठुलो क्षति पुर्याउन सक्छ । त्यसैले गर्मी मौसम सुरु भएसँगै खानपान र सरसफाइमा बढी ध्यान दिएमा क्षति हुनबाट बच्न सकिन्छ ।

अहिले मनसुन सुरु भइसकेको छ । यो मौसममा रोगको संक्रमण बढी हुने गर्छ । त्यसैले खानपानमा विशेष सर्तकता अपनाउनुपर्ने डाक्टरहरूको सुझाव छ । अहिलेको मौसमलाई रोग लाग्ने, रोग भित्रिने मौसमको रूपमा पनि चिनिन्छ । किनभने वर्षाको कारण हिलो, फोहोर हुने, खानेकुरा चाँडै सड्ने, गल्ने हुन्छ । सबैतिर ओसिलो हुने भएकाले ब्याक्टेरिया पनि फैलन सक्छ । त्यसैले सागसब्जीको माध्यमबाट समेत त्यस्तो व्याक्टेरिया फैलने भय हुने विज्ञहरू बताउँछन् । विशेषगरी विभिन्न खाना, पानी तथा कीटजन्य रोगहरू प्रमुख कारण हुने गर्दछन् । यस्ता रोगहरूको प्रकोप बढ्नुको पछाडि विभिन्न कारण हुने विज्ञ बताउँछन् ।

खास गरी वर्षाको समयमा पानीका स्रोत मानिस तथा जनावरहरूको मलमूत्रबाट दुषित हुने गर्दछन् । सतही पानी (मूलहरू), जमिनको पानी (इनार÷ पानी ट्यांकी) वर्षाको भेलको कारण मानिस तथा जनावरहरूको मलमूत्र मिसिएर दुषित बन्छ । मानिसले पिउने पानी स्वच्छ हुनपर्छ । जनावरहरूको मलमूत्र मिसिएको पानीको माध्यमबाट विभिन्न किसिमका ब्याक्टेरिया, प्रोटोजोवा, भाइरस तथा अन्य जिवाणु शरीरमा प्रवेश पाउँछन् र प्रतिकूल अवस्थामा फैलिने र रोगहरू फैलाउने गर्दछन् ।

पानीको स्रोतमा जाँच गर्दा कोलिफोर्म ब्याक्टेरिया भेटिएमा उक्त पानी पिउनको लागि तथा खाना बनाउन उचित हुँदैन । वर्षातका बेला कैयौँ स्थानमा पानीमा कोलिफोर्म ब्याक्टेरिया भेटिने गर्छन् । पानीमा इकोली ब्याक्टेरिया देखिएमा उक्त पानी मानिसको दिसा मिसिएर दुषित छ भन्ने बुझिन्छ । त्यसैले आफूले पिउने पानी र त्यसको स्रोतको बारेमा जानेर बुझेर मात्रै प्रयोग गरिनुपर्छ ।

यस्तै पुरानो पाइपबाट आउने पानीमा पनि कतै प्वाल परेर वा जोडिएको ठाउँमा गडबढी भएमा, मानिस तथा जनावरहरूको मलमूत्रबाट दुषित पानी धारामा आउन सक्छ । दुषित पानीको कारणले झाडा, बान्ता, ज्वरो, जन्डिस आदि रोगहरूका किटाणु फैलिने गर्दछ । यदि त्यस्तो भएमा त्यो कहिलेकाहिँ नियन्त्रण बाहिर पनि जान सक्ने हुन्छ ।

अर्को कुरा गर्मी तथा अरू प्रतिकूल अवस्थाका कारणले भण्डारण गरिएका बासी खानेकुरामा विभिन्न किसिमका ब्याक्टेरियाको वृद्धि हुन्छ र तिनीहरूले निकालेको टक्सिनको कारण ‘फुड पोइजनिङ’ हुन सक्दछ । वर्षायाम सँगै झिंगाको संख्या बढ्ने गरेको पाइन्छ । यिनीहरू विभिन्न किसिमका फोहोर मलमूत्रमा बस्ने र मानिसको खानामा तथा पानीमा बस्दा रोगका किटाणु खानामा सारिदिन्छन् र खाना तथा पानी दुषित बनाइदिन्छन् । उक्त खाना पानीको सेवनले झाडा, बान्ता, ज्वरो, जन्डिसजन्य रोग लाग्ने गर्दछ ।

यस्तै दुषित खाना पानीको प्रयोगले टाइफाइड, सिगेला, सल्मोनेलोसिस, जिअर्डिया, अमोएबिअसिस, हेपाटाइसिस, भाइरल पखाला, टकसिनले गर्ने फुड पोइजनिङ आदि जस्ता रोग लाग्न सक्छ । वर्षायामसँगै विभिन्न किसिमका कीटजन्य रोगहरूको प्रकोप बढ्ने गर्दछ । त्यसैले लामखुट्टेबाट सर्ने रोगहरू, मलेरियाको प्रकोप बढ्न सक्छ । साथै भुसुनाबाट सर्ने कालाजारको संक्रमण बढ्न सक्छ । पानीको प्रभाव कम भएपछि विभिन्न किसिमले जमेर बस्ने पानीमा विशेष गरेर बर्खाको अन्तिममा जमेको पानीमा फूल पार्ने र फैलिने लामखुट्टेको संख्या बढ्न थाल्दछ । यसले डेंगु, चिकेनगुनियाजस्ता रोगका विषाणु सार्ने काम गर्दछ । यो लामखुट्टेले एकैपटक धेरै मानिसलाई टोक्ने हुनाले यस्ता रोगहरूको प्रकोप महामारीका रूपमा आउन सक्दछ ।

००००

वर्षातको समयमा लाग्नसक्ने रोगहरू

मलेरिया ः मलेरिया वर्षामा हुने आम तर गम्भीर संक्रामक बिमारी हो । जमेको पानीबाट फैलने लामखुट्टेले टोक्दा यस्तो रोग लाग्न सक्छ । यो रोग एनाफिलिज जातको लामखुट्टेको टोकाइबाट सर्छ । यसबाट बच्नका लागि घर आसपासमा पानी जम्न दिन हुँदैन ।

डेंगु ः डेंगु पनि लामखुट्टेको टोकाइबाट फैलने रोग हो । यसको संक्रमणबाट पूरै शरीर र जोर्नीमा अधिक पीडा हुन्छ । डेंगुबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट जोगिनु पर्छ । साथै घर बाहिर निस्कनुअघि पूरै शरीर ढाक्ने पहिरन लगाउनु पर्छ ।

झाडापखाला ः वर्षायाममा सँगै गर्मी बढेका बेला देखिने अर्को समस्या हो, झाडापखाला । वर्षाको मौसममा झाडापखाला फैलने धेरै सम्भावना हुन्छ, जो जीवाणुको संक्रमणको कारण हुनसक्छ । खासगरी प्रदूषित पानी र खाद्य पदार्थको कारण यस्तो रोग फैलन्छ । त्यसैले वर्षातमा घर बाहिरको खानेकुरा, फुटपाथको खानेकुरा सेवन गर्नु हुँदैन । बासी, सडेगलेको खानेकुरा सेवन गर्नु हुँदैन । पानी राम्ररी उमालेर मात्र पिउन विज्ञहरू सुझाउँछन् ।

हैजा ः भिब्रियो कोलेरा नामक जीवाणुको कारण फैलने यो रोग दूषित भोजन वा पेय पदार्थको कारण हुन्छ । पेट दुख्नुका साथै वान्ता, झाडापखाला लाग्न सक्छ । यसले शरीरमा पानी र मिनरल्सको मात्रा कम हुन्छ । त्यसैले रोगी एकदमै कमजोर हुन्छन् । यसबाट बच्नका लागि पनि खानपानमा ध्यान दिनुपर्छ ।

वर्षायाममा स्वास्थ्यको ख्याल राख्न विशेषतः खानपानमा ध्यान दिनुपर्छ । यतिबेला सुपाच्य खानेकुरा मात्र सेवन गर्नुपर्छ । झोलयुक्त खानेकुरा बढी उपयोगी हुन्छ ।

फुटपाथमा बेच्न राखिएको तारेको, भुटेको खानेकुरा जस्तो पकौडा, समोसादेखि पानीपुरी, चटपटे खान हुँदैन । यस्तै सडेगलेको खानेकुरा, बासी खानेकुरा खान पनि हुँदैन । हाम्रो शरीरका लागि सबैभन्दा आवश्यक चिज हो, पानी । पानी राम्ररी उमालेर मात्र पिउनुपर्छ । यस्तै गरी काउली, बन्दा, सिमीलगायत हरियो सागसब्जी नुनपानीमा केही समय डुबाएर मात्र सेवन गर्नुपर्छ । तारेको, भुटेको वा मसलेदार खानेकुरा सेवन गर्नु हुँदैन । खानामा ब्याक्टेरियल इन्फेक्सनबाट बच्नका लागि नीम, मेथी, बेसार, आदि आफ्नो डाइटमा सामेल गर्नुपर्छ ।

नागरिकको स्वास्थ्यमा राज्यको चासो र जिम्मेवारी पनि आवश्यक हुन्छ । आउन सक्ने समस्याको प्रतिकार्यका लागि सरकारको के तयारी छ ? त्यो पनि नागरिकको चासोको विषय हो । मनसुनजन्य रोगबाट बच्न सरसफाइमा विशेष ध्यान दिनुपर्ने सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुन बताउँछन् । ‘गर्मीमा खानेपानीको माग बढ्ने गर्छ । तर, बजारमा पाइने खानेपानीको गुणस्तर के छ हेरिँदैन,’ पुनले भने, ‘हाम्रोमा हरेक वर्ष यो मौसममा स्वास्थ्यमा समस्या आउने गरेको छ । त्यसैले समस्या आइसकेपछि भन्दा आउनु अगाडि नै त्यसको तयारी गरिनु पर्छ ।’ मनसुनमा झाडापखाला र हैजाजस्ता पानीजन्य रोगहरू धेरै फैलिने भएकाले खानेपानीको अनुगमनलाई तीव्रता दिनुपर्ने उनेल बताए ।

०००

आउन सक्ने समस्या सामाधानको तयारी छ : समिरकुमार अधिकारी, सहप्रवक्ता, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय

समिरकुमार अधिकारी, सहप्रवक्ता, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय

मौसमजन्य रोगहरूको मध्यनजर गरेर सरकारले वार्षिक कार्य योजना बनाएर काम गर्छ । वार्षिक कार्ययोजना अनुसार सम्बन्धित क्षेत्रको योजना बन्ने गर्छ । त्यही योजनाअनुसार स्वास्थ्य क्षेत्रको कार्य योजना बनेको छ । त्यसैका आधारका तयारी पनि भएको छ । तयारी स्वरूप जनशक्तिको व्यवस्थापन, योजनाहरूकोे अध्यावधिक गर्ने, अस्पतालका योजनाहरूलाई समन्वय गर्ने र त्यहाँ रहेका कर्मचारीलाई तालिम दिने जस्ता काम भएका छन् ।

कुन स्थानका लागि कस्ता सामग्रीको आवश्यक छ । कुन सामग्री कहाँ छन् भन्नेबारेमा बुझ्ने र ठिक ढंगले राख्ने काम भएको छ । आवश्यकता भएका र सकिएका सामग्री कहाँबाट कसरी ल्याउने भन्ने बारेमा पनि काम भएको छ । यी सबै काम अगाडि भनिएको कार्ययोजनाअनुसार नै भएका हुन् । अब आकस्मिक रूपमा केही पर्यो भने पनि थप सामग्रीका लागि के गर्नुपर्ने हो त्यसको लागि पनि योजना बनेका छन् ।

अब पछिल्लो समय मौसमअनुसार के के गर्नुपर्छ भन्ने बारेमा पनि काम भएको छ । अहिले गर्मी बढेको छ, तातो बढ्दै छ । यस्तो बेला के के आवश्यक छ भनेर त्यस अनुसारका काम भएका छन् । त्यसलाई ७५३ वटै पालिका र सबै जिल्लामा आवश्यक सामग्री पठाइएको छ । अर्को कुरा गर्मी बढ्दै जाँदा सर्प पनि बढ्ने र त्यसले क्षति पुर्याउने भएकाले त्यसबारेमा पनि काम भएको छ । सर्पको टोकाइबाट हुनसक्ने बिमारीको उपचारका लागि पनि मन्त्रालयले सम्भावित स्थानमा आवश्यक सामग्री पठाएको छ । यस्ता खालका समस्यालाई पनि ध्यानमा राखेर सबै तयारी गरिएको छ ।

अर्को भनेको लामखुट्टेको वृद्धि विकासलाई कसरी व्यवस्थापन गर्ने ? डेंगु लगायतको अन्य लामखुट्टे जन्य रोगको व्यवस्थापनमा पनि काम भइरहेको छ । त्यसका आधारमा अस्पताललाई निर्देशन दिने र आवाश्यक सहयोग गर्ने काम भएको छ । यसका साथै सरसफाइका बारेमा जनचेतना जगाउने र स्वस्थ्य पानी प्रयोग गर्न पनि चेतनामूलक काम भएको छ । खानेकुरामा पनि ध्यान पुर्याउन र बिग्रको कुहिएको खानेकुरा नखान सचेत गराइएको छ । यो मौसममा खानपानकै कारण धेरै मानिस बिरामी हुने समस्या हुन्छ । त्यसैले त्यसमा सबैले सचेत भएर खानापिन गर्नुपर्छ भन्ने सन्देश जनमानसमा पुर्याउने काम पनि भइरहेको छ ।

यो मौसम भनेको खानेपानीको स्रोत र खानपानका कारण पनि समस्या हुने भएकाले त्यसबारेमा नागरिक आफैँ सचेत हुनपर्छ । त्यसैले यी सावधानीका उपायमा पनि हामीले चेतनामूलक काम गरेका छौँँ । यसो भइरहँदा पनि कुनै समस्या आएमा त्यसका लागि पनि मन्त्रालयले तयारी गरेको छ । अहिले बाढी पहिरो आउने, मान्छे बसेको स्थानबाट विस्थापित हुने लगायतको समस्या हुनसक्छ । त्यसका लागि पनि समस्या हेरि आवश्यक काम गर्ने तयारी छ । त्यस्ता ठाउँमा देखिने सक्ने स्वास्थ्य समस्यामा मन्त्रालयले आकस्मिकदेखि अन्य उपचार र स्वास्थ्यको काम गर्न तयारी अवस्थामा छ । आउन सक्ने समस्याको पहिचान गरी, उपचारमा लाग्ने गरी तयारी छ ।

अहिलेसम्मको अवस्थामा हाम्रो सबै तयारी छ । तर कुनै आकस्मिक ठुलै विपत्ति भइहाल्यो भने विभिन्न उपायबाट सामाधान गरिन्छ । मानाँै तयारी गरेको अस्पताल पुरै डुबानमा पर्यो, भत्कियो वा पहिरोले लग्यो भने त्यसको विकल्पका बारेमा पनि हाम्रो तयारी छ । त्यसैले कुनै विपत्ति नआओस्, आइहाल्यो भने पनि सकेसम्म मानवीय क्षति हुन नदिने गरी तयारी छ ।

प्रतिक्रिया