
काठमाडौँ । नेपाल अझै पनि कृषिप्रधान देश हो । राष्ट्रिय अर्थतन्त्रको करिब २५ प्रतिशत योगदान कृषि क्षेत्रकै छ । अर्थतन्त्रको एकचौथाइ हिस्सा ओगटेको कृषि क्षेत्रको अवस्था र त्यसको रूपान्तरण योजना भने सधैँ लथालिंग छ । हरेक सरकारका बजेट र योजनामा कृषि क्षेत्र प्राथमिकतामा पर्छ, तर करिब १० वर्षअघि ३० प्रतिशत हिस्सा ओगट्ने कृषि क्षेत्र आज २४ प्रतिशतमा सीमित भएको छ । कृषिलाई प्रधान भनिए पनि त्यसको गुणस्तर र उत्पादन वृद्धिमा भने खासै प्रगति भएको पाइँदैन ।
असार १५ लाई राष्ट्रिय धान दिवसको रूपमै मनाइन्छ । तर, धान चामलको आयात भने हरेक वर्ष बढ्दै गएको सरकारी तथ्यांकले नै देखाउँछ । नेपालमा सरदर हरेक वर्ष १४ लाख हेक्टर क्षेत्रफलमा धान रोपिन्छ भने करिब ५५ लाख मेट्रिक टन आसपास धान उत्पादन हुने गरेको छ । तर, हामीकहाँ हुने उत्पादनको १० देखि १५ प्रतिशत धान चामल आयात हुने गरेको छ । यस हिसाबमा हेर्ने हो भने नेपालमा करिब १० लाख मेट्रिक टन धान अभाव हुने गरेको छ ।
उत्पादन हुने धानमा पनि मदिरा बनाउनेजस्ता काममा पनि ठुलो हिस्सा प्रयोग हुने गरेको अनुमान छ । त्यस्तै, आयात हुने धानमा पनि केही बिउका लागि र केही चामल बनाउन प्रयोग हुने गरेको छ । नेपालमा उत्पादन भएको धान पनि ठुलो हिस्सामा भारततर्फ निर्यात हुने गरेको छ । यसरी हेर्दा नेपालको खुद उत्पादन र आवश्यकताबारे यकिन आँकडा निकाल्न नसकिए पनि सरकारले किसानलाई वितरणमुखीभन्दा पनि व्यावहारिक रूपमा अनुदान र सहयोग दिन सके केही वर्षभित्रै धानमा आत्मनिर्भर हुने र धान–चामलको आयातका कारण हुने व्यापार घाटा पूर्ण रूपमा नाफामा परिणत हुने कृषिविज्ञ रामवरण यादव बताउँछन् ।
उत्पादन र आयातको अवस्था
आव २०७७/७८ मा १४ लाख ७३ हजार हेक्टरमा ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको थियो भने आव २०७८/७९ मा १४ लाख ७७ हजार हेक्टरमा धान खेती हुँदा ५१ लाख ३० हजार मेट्रिक टन उत्पादन भएको थियो । त्यस्तै, आव २०७९/८० मा १४ लाख ४७ हजार हेक्टरमा ५४ लाख ८६ हजार मेट्रिक टन उत्पादन हुँदा आव २०८०/८१ मा उत्पादन बढेर ५९ लाख ५५ हजार मेट्रिक टन पुगेको थियो । त्यस वर्ष १४ लाख ३८ हजार हेक्टर क्षेत्रफलमा धान रोपिएको थियो । आव २०८१/८२ मा १४ लाख २० हजार हेक्टरमा धान खेती सीमित हुँदा पनि उत्पादन भने बढेर ५९ लाख ५५ हजार मेट्रिक टन पुगेको थियो ।
त्यस्तै, हरेक वर्ष आयात हुने धान–चामलको अवस्था पनि बढ्दो छ । आव २०७७/७८ मा २७ अर्ब ६३ करोडको चामल र २० अर्ब ५५ करोडको धान आयात भएको थियो भने आव २०७८/७९ मा २९ अर्ब ५ करोडको चामल आयात भएको देखिन्छ । आव २०७९/८० मा १५ अर्ब ६३ करोडको चामल र २० अर्ब ७५ करोडको रुपैयाँको धान आयात गरेको नेपालले आव २०८०/८१ मा ९ अर्ब २९ करोडको चामल र १२ अर्ब ९४ करोड रुपैयाँको धान आयात गरेको थियो । सरकारी तथ्यांकअनुसार आव २०८१/८२ मा ३९ अर्ब ८८ करोड ३५ लाख ८७ हजार रुपैयाँ बराबरको धान चामल आयात भएको देखिन्छ ।
सहज छ आत्मनिर्भर बन्न
नेपालमा धान लगाउन योग्य जमिन १४ लाख ४५ हजार हेक्टर छ । जसमा साढे ४ लाख हेक्टर जमिनमा वर्षैभर सिँचाइ सुविधा छ । सबै क्षेत्रमा वर्षभरिका लागि तत्काल सिँचाइ सुविधा पु¥याउन नसकिए पनि साढे ४ लाख हेक्टरमा चैते धान लगाउन सकेमात्रै पनि नेपाल धानमा पूर्ण आत्मनिर्भर हुनुका साथै निर्यात गर्ने हैसियतमा पुग्ने कृषिविज्ञ रामवरण यादव बताउँछन् ।
राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम धनुषाका संयोजक डा. मथुरा यादवका अनुसार नेपालमा हाल १० लाख मेट्रिक टन धानको कमी छ । नेपालमा धान उत्पादनको अवस्था हेर्ने हो भने अहिले चैते धान ५ मेट्रिक टन प्रतिहेक्टर र बर्खे धान ४ मेट्रिक टन प्रतिहेक्टर उत्पादन हुन्छ । जसमा नेपालभर १ लाख २० हजार हेक्टर क्षेत्रफलमा मात्र चैते धान लगाइन्छ ।
यदि चैते धानलाई ३ लाख हेक्टर क्षेत्रफलमा लान सके मात्र पनि धानमा आत्मनिर्भर भइने मथुरा यादवको दाबी छ । यसका लागि सरकारले चैते धान लगाउनका लागि प्रोत्साहन गर्नुपर्ने र सिँचाइ सुविधा उपलब्ध गराउनुपर्ने उनीहरूको बुझाइ छ । हाल देशभर ५६ प्रतिशत कृषियोग्य जमिनमा सिँचाइ सुविधा पुगेको भए पनि करिब ३० प्रतिशत क्षेत्रफलमा मात्रै वर्षभर सिँचाइ सुविधा पुगेको छ ।
प्रतिक्रिया