प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक २०८३ पारित

काठमाडौं । प्रतिनिधिसभाबाट ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ सर्वसम्मत रूपमा पारित भएको छ । आइतबार बसेको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको ‘विधेयक पारित गरियोस्’ भन्ने प्रस्ताव सभाले अनुमोदन गरेको हो ।

विधेयकमाथि दफावार छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले सरकारले उठाउने वैदेशिक ऋण उत्पादनमूलक आयोजना र पूर्वाधार विकासमा प्रयोग गरिने बताए ।

उनका अनुसार वैदेशिक ऋणबाट सञ्चालित पूर्वाधार परियोजनाले आर्थिक गतिविधि विस्तार, यातायात दूरी घटाउने र लागत न्यूनीकरण गर्ने काम गर्छन् । तर, उनले विगतमा निर्माण गरिएका दुई अन्तर्राष्ट्रिय विमानस्थलको अवस्थाले ऋण व्यवस्थापनमा गम्भीर समीक्षा आवश्यक रहेको संकेत गर्दै सरकारले ऋण उपयोगमा कडाइ गर्ने बताए ।

सभामा विधेयकमाथि दर्ता भएका संशोधनमध्ये सांसद परशुराम तामाङ र रेखाकुमारी यादवका प्रस्ताव अस्वीकृत भएका थिए भने सांसद हरिप्रसाद भुसालले आफ्नो संशोधन फिर्ता लिएका थिए ।

प्रतिक्रिया