
सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकामा २० हल गोरु र राँगाले खेत जोतेर परम्परागत शैलीमा रोपाईँ दिवस मनाइएको छ । सोमबार असार १५ गते गाउँपालिकाको आयोजनामा स्थानीय आदिवासी समुदायका माझी, मगर, नेवार र तामाङ समुदायको सहभागितामा रोपाईँ दिवस मनाइएको हो ।
आधुनिक कृषि प्रणालीसँगै ट्र्याक्टरको प्रयोग बढ्दै गएका कारण यति धेरै हलगोरु एकै ठाउँमा प्रयोग गरेर गरिने रोपाइँ अहिले दुर्लभ बन्दै गएको छ । संस्कृति संरक्षण हेतु र परम्पराको निरन्तरताको लागि गाउँपालिकाकै सक्रियतामा आयोजना गरिएको रोपाइं कार्यक्रममा करिब ५ रोपनी खेतमा असारे भाकामा रोपारहरुले छुपुमा छुपु धान रोपेका थिए ।
रोपाइँसँगै सहभागीहरूले खेतमा हिलो खेल्ने, एकअर्कालाई हिलो दल्ने, असारे गीत गाउने तथा डोरी तान्ने (टग अफ वार) लगायतका मनोरञ्जनात्मक गतिविधिमा समेत सहभागी भएका थिए ।
नेपालमा प्रत्येक वर्ष असार १५ गते राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्वका रूपमा मनाइन्छ । वर्षायामसँगै सुरु हुने धान रोपाइँलाई कृषि उत्पादन, खाद्य सुरक्षा र नेपाली कृषि संस्कृतिसँग जोडिएको महत्त्वपूर्ण पर्वका रूपमा लिने गरिन्छ ।– तस्विर निश्चल राज गौतम, नेपाल फोटो लाइब्रेरी




















प्रतिक्रिया