पर्यटकको रोजाइमा नौकुने माईपोखरी

इलाम । वरिपरि हरियाली वनजंगल र शान्त वातावरण । वनजंगलको बीचमा ९ वटा कुना भएको एक विशाल ‘माईपोखरी’ । जहाँ एक कुनाबाट अर्काे कुना देख्न सकिँदैन । इलामको सन्दकपुर गाउँपालिका–१ र ३ को संगमस्थलमा रहेको धार्मिक पर्यटकीय क्षेत्र माईपोखरीको वातावरणले मन लोभ्याउँछ ।

यो आफैँमा मनमोहक र प्राकृतिक सौन्दर्यताले भरिपूर्ण छ । बाक्लो कुहिरोले छाडेर आकाश खुल्नासाथ निक्कै आकर्षक देखिन्छ । यहाँको शान्त वातावरण र मनमोहक दृश्यले जो कोहीलाई मन्त्रमुग्ध बनाउँछ । पछिल्लो समय माईपोखरी धार्मिक क्षेत्रको रूपमा मात्र नभई जिल्लाको प्रमुख पर्यटकीय गन्तव्यको रूपमा परिचित छ । यहाँ पुग्ने जो कोहीले एकपटक अवलोकनसँगै अनिवार्य तस्बिर खिचाउने र भिडियो बनाउने गरेका छन् । पछिल्लो समय यहाँ तस्बिर लिने, भिडियो बनाउने र पूजापाठ गर्न आउनेको भिड लाग्ने गरेको छ ।

समुद्री सहतदेखि २ हजार १०० मिटर उचाइमा अवस्थित माईपोखरी पूर्वी पहाडकै आकर्षक धार्मिक पर्यटकीय क्षेत्र हो । माईपोखरीको १.८ हेक्टर जलाशय र १२ हेक्टर सिमसारलाई अत्यन्त संवेदनशील मानिएको छ । माईपोखरीमा पूजापाठ गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । बलिप्रथा निशेधित माईपोखरीलाई साक्षात् देवीको रुपमा पूजा गरिँदै आएको छ । यहाँ मनोकांक्षा पूरा होस् भनेर भाकल गर्ने तथा परेवा उडाउने प्रचलन छ ।

द्वापर युगको अन्त्यमा ५ पाण्डवहरू वनबासमा रहने क्रममा सुनसरीको बराहक्षेत्र, झापाको अर्जुनधारा हुँदै इलामको माईपोखरीसम्म आएर फर्किएको किंवदन्ती छ । माईपोखरीलाई हिन्दु, बौद्ध र किराँत धर्मको आस्थाको रूपमा लिइन्छ ।
माईपोखरीप्रतिको आकर्षण पछिल्लो समय स्वदेशी मात्र होइन, विदेशी पर्यटकमा समेत उत्तिकै छ । यसको प्रचारले पर्यटकीय सम्भावनाले भरिपूर्ण सन्दकपुर गाउँपालिकालाई नै थप लोकप्रिय बनाउँदै लगेको छ । माईपोखरी इलाम सदरमुकामबाट उत्तरमा बिब्ल्याँटे बजार हुँदै आधा कालोपत्रे र आधा कच्ची गरी १३ किलोमिटर सडक पार गरेर पुग्न सकिन्छ ।

यहाँ नेपालसहित भारतका विभिन्न क्षेत्र तथा अन्य विदेशी पर्यटकहरू आउने गरेको स्थानीय लिला भट्टराईले बताइन् । ‘माईपोखरी अवलोकन गर्न दैनिक सयौँको संख्यामा पर्यटकहरू आउने गरेका छन्,’ उनले भनिन्, ‘अहिले यातायातको सहजताले माईपोखरी अवलोकन गर्ने पर्यटकको संख्या बढ्दै गएको छ ।’ चारचक्के तथा दुईचक्के सवारी साधनबाट सहजै माईपोखरी पुग्न सकिने भएकाले युवायुवतीहरुको रोजाइमा माईपोखरी परेको हो ।

पर्यटकको चहलपहलसँगै माईपोखरी आउने पर्यटकलाई लक्षित गरी होटलहरूसमेत विस्तार हुँदै गएका छन् । स्थानीयले होटेल तथा होमस्टे सञ्चालन गरेर मनग्य आम्दानी गर्दै आएको सन्दकपुर गाउँपालिका–३ का होटलव्यवसायी ‘माईपोखरी थकाली भान्साघर’ निमदोर्जे शेर्पाले बताए । ‘माईपोखरी अवलोकन गर्नका लागि युवायुवतीहरू समूहसमूहमा दिनहुँ आउने जाने गर्दछन्,’ शेर्पाले भने, ‘यसको अझ प्रचारप्रसार गरे प्रशस्त फाइदा सन्दकपुरबासीले लिन सकिन्छ ।’

माईपोखरीलाई सन् २००८ अक्टोबर २८ मा दक्षिण कोरियाको चाङबाङमा सम्पन्न रामसार महासन्धिको १०औँ बैठकले विश्व सम्पदा सूचीमा राखेको छ ।

प्रचारप्रसारका लागि बर्सेनि बहुधार्मिक महोत्सव

माईपोखरीको प्रचाप्रसारका लागि बर्सेनि ‘माईपोखरी बहुधार्मिक महोत्सव’ आयोजना हुँदै आएको छ । बर्सेनि हरिबोधनी एकादशीको अवसरमा पारेर सन्दकपुर गाउँपालिकाले २ दिने बहुधार्मिक महोत्सव आयोजना गर्दै आएको छ ।

माईपोखरीलाई धार्मिक पर्यटकीय केन्द्रको रूपमा विकास गर्ने एवं बहुधार्मिक तीर्थका रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्ने गरिएको गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले बताए । त्यहाँ २०८० सालदेखि गाउँपालिकाले बर्सेनि बहुधार्मिक महोत्सव आयोजना गर्दै आएको छ ।

‘सन्दकपुर गाउँपालिकाले माईपोखरीलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न चाहेको छ,’ अध्यक्ष गुरुङले भने, ‘विगत ३ वर्षदेखि यहाँ बहुधार्मिक महोत्सव आयोजना गर्दै आएका छौँ, यसको अझ प्रचारप्रसार गर्न सके सन्दकपुरकै विकास र समृद्धिमा टेवा पुग्ने विश्वास छ ।’

माईपोखरीलाई थप व्यवस्थित गर्दै पर्यटकको आकर्षणको केन्द्र बनाउने तयारी गरेर अघि बढ्न लागेको गाउँपालिकाले जनाएको छ । माईपोखरीको प्रवद्र्धनका लागि पालिकाको तर्फबाट सधैँ साथ रहने गाउँपालिका उपाध्यक्ष हरिबहादुर लुङ्गेलीले बताए ।

जैविक विविधताको दृष्टिले महत्वपूर्ण


माईपोखरी धार्मिक दृष्टिले मात्र होइन, जैविक विविधताको दृष्टिले समेत महत्वपूर्ण मानिन्छ । यस क्षेत्रमा ४ प्रजातिका लालीगुराँस, ३ प्रजातिका चाँप, १६ प्रजातिका सुनाखरी, ६२ प्रजातिका जडिबुटीसहित ३०० प्रजातिका फूल फुल्ने र नेपालमा मात्र पाइने गलैँचे झ्याउ, लेउ, उन्यूलगायका वनस्पति पाइन्छ ।

त्यस्तै यहाँ १२ प्रजातिका जलचर, ६ प्रजातिका उभयचर, ३ प्रजातिका माछा, १४ प्रजातिका स्तनधारी र २०० बढी प्रजातिका चराचुरुंगीहरू पाइन्छ ।

माईपोखरीमा धार्मिक आस्थाका, प्राकृतिक सुन्दरता र सम्पदाको अवलोकन गर्न र वातावारणीय पक्षको अध्ययन अनुसन्धान गर्नसमेत पर्यटकहरू पुग्ने गर्दछन् । माईपोखरी पुग्नेले माईपोखरीको दर्शनसँगै माईपोखरी परिसरका सत्यधुनी, पाठशाला, शिवालय, यज्ञकुण्ड, साधुकुटी, बौद्ध गुम्बा, तीनचुलो, युमाथानलगायको समेत अवलोकन गर्न पाउँछन् ।

प्रतिक्रिया